२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

अचानक करिष्मा बनिन छापामार

अचानक करिष्मा बनिन छापामार

हाई हिल वा ब्रान्डेड जुत्तामा अभ्यस्त चर्चित नायिका करिष्मा मानन्धरका खुट्टामा यसपालि गोलस्टार जुत्ता घुसि्रए । फिटिङ्स ट्राउजर, लामो गञ्जी, मफ्लर र जुत्ता ! सम्भवतः उनी गाउँमा कुनै छापामारजस्तो देखिइन् ।

डा. बाबुराम भट्टराईको साथ लागेर पहाडको पातलो बस्तीदेखि भित्री मधेसका घना झुपडीहरु एक चक्कर मारेर काठमाडौं फर्किएकी करिष्मा मानन्धर अलि फेरिइछिन् । अनुहारको रंग थोरै उडेछ । भन्दै थिइन्, ‘घाममा घण्टौं हिँड्नुपर्यो ।’

ज्यानको चौडाइ पनि बढेको हो कि ?

हाम्रो अनुमानलाई उनले सदर गरिन्, ‘सायद तौल बढेको हुनुपर्छ । खानेकुरामा कन्ट्रोल गरिएन, बरु दुई गाँस बढी नै खाइयो ।’

शुटिङ सामाग्रीभन्दा बेग्लै पहिरन

माओवादी द्वन्द्वताका छापामारले लगाउने ‘मेड इन नेपाल’ जुत्तामा करिष्मालाई उकालो, ओरालो छिचोल्न निकै सजिलो भइदियो । खासमा स्वदेशी उत्पादनको आकर्षणले भन्दा पनि पैदल यात्रामा सहज भएकाले उनले यसपालि गोरखामा डा. बाबुराम भट्टराईलाई सघाउन जाँदा गोल्डस्टार जुत्ता लगाइन् ।

र, यसमा थोर-बहुत हिसिला म्याम (हिसिला यमी)को सुझावले पनि काम गरेको हुन सक्छ ।

‘त्यो निकै सजिलो हुँदोरहेछ’ अक्सर हाइ हिल जुत्ता पहिरिने करिष्माले अनलाइनखबरसँग चुनावी यात्राको अनुभव बाँडिन्, ‘खुट्टा दुख्ने वा हिँड्न अप्ठ्यारो हुने समस्या भएन ।’

अभिनेत्रीकै आवरणमा हुँदो हो त, करिष्माले गोरखा लगायतका गाउँमा जाँदा थानका थान पहिरन बोक्ने थिइन् । शुटिङका लागि चाहिने थरीथरीका जुत्ता, थरीथरीका पहिरन । तर, यसपालि उनले केही थान ट्राउजर सुट वा क्याजुअल ड्रेस बोकेकी थिइन् । त्यही लुगा लगाएर उनले पहाडका उकाली, ओराली वा तराईको धुलाम्मे बाटो छिचोलिन् ।

यसरी हिँड्दा उनलाई ‘रफ एन्ड टफ’ भएकै निको लाग्यो । हिरोइन जस्तो चिरिच्याट्ट सजिएर साध्य पनि त थिएन ।

हिँड्दा हिँड्दै पसिनाले निथ्रुक्क हुने । त्यसमाथि धूलोको लेप । यसअघि यसरी धुलोफुस्रो भएर त हिँडिएको थियो ?

‘म पहाडकै गाउँमा जन्मिएकी, हुर्किएकी । त्यहीँ पढेकी पनि’ करिष्माले आफूलाई सहज बनाउने प्रयास गर्दै भनिन्, ‘धुलोमाटोसँग म अपरिचित छैन ।’ यद्यपि त्यो बाल्यकालको अनुभव र वर्तमानको अवस्था एकनास थिएन ।

गाउँमा नुहाउने काइदा

पहाड होस् वा तराई, ग्रामीण जीवन भनेजस्तो सजिलो छैन । गोरखामा यस्तो असजिलो यी अभिनेत्रीले पनि भोगिन् । जस्तो कि, दिनभरि हिँड्यो । घाम र धूलोमा । साँझ अनुहार र केस धुलाम्मे भइसक्छ । लुगाफाटो पनि सग्लो रहँदैन । यस्तोबेला बाथटपमा डुबुल्की मारेर स्नान गर्ने मेसो गाउँघरमा कहाँ मिल्छ ? सर्वाङ्ग मन तातोपानीमा सावर लिन कहाँ पाउने ?

‘भनेको ठाउँमा ट्वाइलेट गर्न त पाइँदैन’ करिष्माले सुनाइन्, ‘नुहाउने कुरा त छाडिदिनुहोस् ।’

भनेपछि उनी धुस्रोफुस्रो भएरै बसिन् त उनी ?

गाउँघरमा बसोबास भएका बेला पानीमा रुमाल डुबाउने । निचोर्ने । र, ओसिलो रुमालले जिउ पुछपाछ गर्ने । एकसरो जिउ पुछेपछि अन्डरगार्मेन्ट फेर्ने । सफा लुगा लगाउने । करिष्माले यसै गरिन् । उनले आफूलाई टिपटप राख्ने यत्न गरिरहिन्, सकेसम्म ।

‘मैलो भइसकेको लुगा फुकाल्दै झोलामा कोचें’ करिष्माले सुनाइन्, ‘अनि गुन्टा बनाएर यहाँ (काठमाडौं ) ल्याउने ।’

रुपरंगको ख्यालै भएन

अभिनेत्री करिष्माले जहिलेदेखि आफूलाई बुझिन्, त्यही बेलादेखि सौन्दर्यलाई पनि । सबैले ‘राम्री’ भन्ने गरेकाले उनलाई सधैं राम्री हुनुपर्ने बाध्यता पनि रह्यो । त्यसैले अक्सर उनी सार्वजनिक हुनुअघि टिपटप हुन्छिन् । अनुहार लिपपोत गर्छिन् । र, के मिल्यो, के मिलेन एकपटक ऐनामा हेर्छिन् ।

तर, यसपालि नेतृका रुपमा चुनाबी दौडमा लाग्दा उनले ऐनामा आफैंलाई नियाल्न पाइनन् । आँखामा भोट माग्दै हिँडे पनि आफू कस्ती भएँ भन्ने कुराको उनलाई हेक्कै भएन । कहिले कहीँ त आफैंलाई बिर्सिइन् ।

‘ऐना नहेरेपछि आफूलाई मेन्टेन गर्ने कुराको पनि हेक्का नहुँदोरहेछ’ केही दिनको ग्रामीण जीवनमा उनले यस्तै अनुभव गरिन् । मेकअप किट त बोकेकी थिइन् । तर, मेकअप मिलाइरहने समय भइदिएन । कहिले पसीनाले मेकअप बगाइदिन्छ । कहिले धुलोको लेपन लाग्छ । यस्तै अनुहार लिएर उनी धेरैको घर-आँगनमा झुल्किइन् । आफू जस्तै दिदीबहिनीहरुले खस्रा अनुहार जोडेर उनीसँग सेल्फी खिचे ।

खानपिनको बेग्लै स्वाद

मोटाएको यतिबेला करिष्मालाई हेक्का भएन, फिजिकल मेन्टेन गर्ने । न मर्निङवाक, न जिम, न व्यायाम । खानपानमा पनि कटौती गरिनन् । जे आउँछ, मजाले पचाउँछ शैलीमा भरपेट खाइदिइन् ।

‘त्यही भएर अलि मोटाएँ कि ?’ उनले आफैंमाथि शंका गरिन् ।

खास्सा कुरा चाहिँ के भने, करिष्मालाई ग्रामीण भोजन नै प्रिय लाग्ने ! उनलाई प्याकेटमा पाइने जंकफूड वा रेष्टुरेन्टको फास्टफूड रुच्दैन । गाउँकै खान्कीमा उनको जिब्रो लोभिन्छ । ‘गाउँको खानामा म इन्जोए गर्न सक्छु’ करिष्माले भनिन्, ‘बरु शहरको खाना रुच्दैन ।’

पहाडका बस्तीमा, दूध, मोही ढिँडो र लोकल कुखुराको मासुसँगै न्यानो आतिथ्य मिल्थ्यो । तराईका बस्तीहरुमा सर्वत, दही र फलफूल मिश्रणसँगै शीतल हार्दिकता पाइन्थ्यो । उनी जहाँ गइन्, त्यहाँको खान्की चाखिन् । स्वाद लिएर ।

हिसिला म्यामसँग रुम शेयर

गाउँघरमा भनेजस्तो, खोजेजस्तो न्यानो र नरम ओछ्यान नपाइन सक्छ । कसरी सुत्नुभो ?

जवाफमा करिष्माले कसरी होइन, कोसँग सुतें भन्नेसमेत खुलाइन् ।

अक्सर गाउँघरमा करिष्माले हिसिला यमीसँग बेड शेयर गरिछन् । कहिले एउटै कोठा त कहिले ओछ्यान पनि एउटै । एकपटक लस्करै धेरैजना सुत्नुपरेछ । यावत् अनुभव उनका लागि नयाँ थिए ।

रुम पार्टनर भएपछि हिसिला यमीसँगै उनले लय मिलाउनुपर्ने । आँखा चुनाव चिन्हकै बारेमा राति छलफल गर्दागर्दा करिष्माका थकित आँखा लोलाउने । र, झ्याप्प निन्द्रा लागिहाल्ने ।

करिष्माका अनुसार कहिलेकाहीँ डा. भट्टराई दम्पती भने राति अबेरसम्म छलफलमा व्यस्त हुन्थे । बिहान चाँडै उठेर लेखपढ गर्ने । ‘डा. भट्टराई त राति १२ बजेसम्म पनि भेटघाटमै हुने’ करिष्माले सुनाइन्, ‘उहाँ धेरै कम घण्टा सुत्नुहुन्छ ।’

कतै जानुअघि करिष्माले खास बन्दोबस्ती गर्दिरहिछन्, खासगरी सुत्नका लागि । ‘म बेडकभर, पिलोकभर साथमै लिएर हिँड्छु’ करिष्माले सुनाइन्, ‘यसपालि पनि त्यसै गरें ।’

जहाँ आफू सुत्ने हो, त्यहाँ एकसरो आफ्नै बेडकभर लगाउने । अनि सुत्ने । उनले गाउँघर डुल्ने क्रममा के अनुभव गरिन् भने हरेकको घरमा फूलबुट्टे ब्ल्याङ्केट हुने । ओड्नका लागि । सायद विदेश गएका छोराहरुले ल्याएको हुनुपर्छ ।

शहरभन्दा गाउँकै माया बढी

प्युठानको एउटा घरमा करिष्मा बास बस्न पुगेकी थिइन् । त्यो घरमा टेलिभिजन रहेछ । गाउँभरका मान्छे भेला भए, टीभी हेर्न । टीभी फिल्मी च्यानल हेरिरहेका थिए । करिष्मा फूलबुट्टे ब्ल्याङ्केट ओढेर सुतिन् ।

बिहान उठेर बाथरुम जाने बेलामा पो देखिन्, घरका मान्छेहरु गोठमा सुतिरहेका । यति न्यानो हार्दिकता पाएर उनको मन पग्लियो । ‘ओ, माइ गड’ करिष्माले भनिन्, ‘मेरा लागि उहाँहरु गोठमा सुत्नुभयो ! पाहुनाप्रति कति श्रद्धा, कति सम्मान !’

कस्मेटिक्स शहरमा सजिएको ज्यानलाई फुत्त अग्र्यानिक डाँडापाखामा डोहोर्‍याएपछि स्याहार कहाँ पुग्छ र ? घडीको सुई हेरेर खानाको सन्तुलन मिलाउन पाइँदैन । नापेर पानी घुट्काउन पाइँदैन । घामको सोझो राप छल्न वाताअनुकुलित कक्ष पाइँदैन । ज्यानलाई फिट एन्ड फाइन राख्न ट्रेडमिलमा दौडन पाइँदैन । न मेनुमा ‘ब्यालेन्स डाइट’ खोजेर हुन्छ, न ‘हाइजेनिक’ बसोबास नै ।

जस्तो भेट्यो, त्यस्तै खानुपर्ने । जहाँ पायो, त्यही सुत्नुपर्ने । ग्रामीण जनजीवनमा आफ्नो मर्जी चल्दै चल्दैन ।

रैथाने जीवनशैली छिचोलेर आएकी यी नायिकाको मन पनि फेरियो कि ? यसको जबाफ अघि उनको मुखाकृत आंशिक बद्लियो । उनी गम्भीर बन्न खोजिन् । यसो भन्दै, ‘अँ, हामीले यहाँ बसेर जसरी देश बदल्ने कुरा गर्छौ, गाउँमा पुगेपछि त्यो नाटकजस्तो लाग्छ ।’

किन ?

किनभने हामीले भाषणमा भन्ने र गाउँमा देखिने वास्तविकता फरक छ । हामी ठूला-ठूला कुरा गर्छौं । तर, गाउँका बासिन्दाहरुले आधारभूत सेवा पाएका छैनन् । गोरखाकै कति गाउँमा प्लस टु छैन । प्लस टु गर्नका लागि उहाँहरु काठमाडौं, नारायणघाट वा अन्तै जानुपर्ने बाध्यता छ ।’

यी वांक्यशहरु बोलिरहँदा उनी अभिनेत्री कम र नेतृ बढी देखिइन् । भन्न पनि भाषणकै शैलीमा भनिन्, ‘उहाँहरुले पिउने पानी पाउनुभएको छैन, पढ्ने स्कुल छैन, मोटरबाटो छैन, बिजुलीको उज्यालो छैन । पहिलो त, गाउँ-गाउँमा बाटो र बिजुली पुग्नुपर्छ । त्यती पुगेपछि विकास आफै पुग्छ ।’

हामीले करिष्माको धारप्रवाह बोलीलाई ब्रेक गर्‍यौं, यस्तो प्रश्न सोधेर, ‘ती गाउँघरमा पुग्दा तपाईको हिरोइज्म पनि झल्कियो होला । हिन्दी फिल्म नायकका अनिल कपुरले जस्तो जादुमय ढंगमा देश बदल्ने लहड पो जाग्यो कि ?’

खै किन हो, यो प्रश्नले करिष्माको रक्तचाप बढेको जस्तो लाग्यो । उनी केही आक्रमक भइन्, ‘फिल्ममा जे देखाइन्छ, त्यो वास्तविक जीवनमा हुँदैन । फिल्ममा हुँदै नहुने कुरा देखाइन्छ भन्ने होइन । तर, हामीले फिल्ममा जस्तो परिवर्तन खोजेर हुँदैन । हुन सक्छ, चार, पाँच, छ वर्षको अवधिमा त्यस्तो परिवर्तन ।’

जहाँ करिष्मा चिनिँदैन

आफ्नै घर आँगनमा हिरोइन आएको देखेर गाउँघरका मान्छेहरुले कस्ता प्रतिक्रिया देखाए त ?’

‘म भित्री मधेस, जो भारतको सीमामा जोडिएको छ, त्यहाँ पुग्दा उनीहरुले मलाई चिनेनन्’ करिष्माले थपिन्, ‘मलाई मात्र होइन, न रेखा थापा, न अरु कोहीलाई चिन्छन् ।’

किन उनीहरुले सिनेमा हेर्दैनन् ?

‘हेर्छन्’ करिष्मा भन्छिन्, ‘तर, भोजपुरी मात्र । त्यहाँ करिष्मा मानन्धर, रेखा थापा, राजेश हमाल वा अन्यलाई चिन्दैनन् । बरु, रानी अथवा मोनालिसालाई बढी चिन्छन् ।’

आँखामा नाचेको भोलिको नेपाल !

यससँगै करिष्माले के पनि जोडिन् भने, भित्री मधेस, जो राजमार्गले छोएको छैन, त्यहाँ नेपाली राजनीति पुगेको छैन । जसरी राजनीति पुगेको छैन, उसैगरी बिकास पुगेको छैन । जसरी बिकास पुगेको छैन, उसैगरी मनोरञ्जन पनि पुगेको छैन । जसरी मनोरञ्जन पुगेको छैन, नेपाली कलाकर्मी चिनिएका छैनन् ।

गास, बास, कपासजस्तै मनोरञ्जन पनि मानिसका आधारभूत आवश्यक्ता हुन् । करिष्मालाई यस्तै लाग्छ । उनी भन्छिन्, ‘सबैतिर सिनेमा हल हुनुपर्छ, सबैले सिनेमा हेर्न पाउनुपर्छ । मनोरञ्जन लिन पाउनुपर्छ ।’

तर, यो प्रसंग भनिरहँदा उनको मन एउटा दृश्यले भने अमिलो भयो । दृश्य यस्तो थियो, जहाँ उनीहरु गाडीमा हुँइकिरहेका हुन्थे, त्यहाँ धुलाम्मे बाटो हुन्थ्यो । गाडीको टायरले धुलो उडाउँथ्यो । त्यही धूलोमा छेकिएका हुन्थे केही टीठलाग्दा अनुहार । एकैनासका पहिरनमा, पुस्तक च्यापेर ठिंग उभिएर, गाडीलाई अचम्म मान्दै हेरिरहेका बालबालिकाहरु !

‘हामी जसमाथि भोलिको भविष्य देखिरहेका छौं नि’ करिष्मा अलि भावुक भइन्, ‘उनीहरुको अहिले यस्तो बेहाल छ । अनि कसरी निर्माण हुन्छ भोलिको नेपाल ?’

अहिले करिष्मा नेताकै रुपमा पर्दापण भएकी छिन् । नयाँ शक्ति पार्टीबाट समानुपातिक उम्मेदवार रहेकी उनी भोलि राज्यको नीति निर्माण तहमा पुगिन् भने ?

सांसद भइयो भने के गर्ने विचार छ ?

उनले कुनै नेताकै ठाँटमा जवाफ दिइन्, ‘मैले के गर्ने भन्दा पनि पहिलो कुरा त सरकारको स्थायित्व चाहियो । अर्थात स्थायी सरकार । अनि मात्र नीति नियमलाई लागु गर्न र कार्यन्वयन गर्न सकिने हो । समावेशिताको कुरालाई पनि गम्भीर रुपले लिनुपर्छ । भ्रष्ट संयन्त्रलाई रोक्नुपर्छ ।’

‘अब राजनीतिमा लाग्नुभा’छ, फिल्ममा आउनुहुन्न ?’ कुराकानीको मैझारोमा हामीले सोध्यौं ।

‘म अहिले पनि फिल्ममा छु, फिल्म बनाइरहेकी छु, फिल्म खेल्ने अफर पनि आइरहेकै छ, पछिल्लो समय राजनीतिक विषयकै फिल्मको स्क्रिप्ट पढिरहेकी छु’ करिष्माले भनिन्, ‘तर, यो दुई महिना चाहिँ म फिल्मबारे केही सोच्न चाहन्नँ ।’

साभार अनलाइनखबर

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • ८ मंसिर २०७४, शुक्रबार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • ८ मंसिर २०७४, शुक्रबार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • ८ मंसिर २०७४, शुक्रबार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

TOP