१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

एक सातादेखि उठेन उपत्यकाको फोहोर

एक सातादेखि उठेन उपत्यकाको फोहोर

बर्खाको कारण बाटो बिग्रिँदा लामो समय सिसडोल पुग्न नसकेको फोहोर फेरि एकपटक घर, सडकमा थुप्रिएका छन् । पहिले बाटोको कारण उठ्न नसकेको फोहोर अहिले चाडपर्वका कारण उठ्न नसकेको काठमाडौं महानगरपालिकाले बताएको छ । ‘सिसडोलमा फोहोर लैजान कुनै पनि समस्या छैन । तर, चाडपर्वका कारण कर्मचारीहरू बिदामा बसेका छन् । त्यसैले फोहोर उठ्न नसकेको हो । अन्य खास समस्या केही छैनन्,’ महानगरअन्तर्गत वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने । चाडबाडको कारण देखाउँदै महानगरले हप्तादिनदेखि फोहोर नउठाएको हो । महानगरले फोहोर नउठाउँदा मुख्य चोकहरू दुर्गन्धित बनेका छन् ।

महानगरका वातावरण विभाग प्रमुख श्रेष्ठ भने सडकमा थुप्रिएका फोहोर भोलिदेखि सबै उठ्ने बताउँछन् । केही सयमअगाडि पनि सडकका फोहोर पटकपटक गरेर हप्तौँसम्म उठ्न सकेको थिएन ।

महानगरका अनुसार काठमाडौंमा दैनिक एक हजारदेखि १२ सय टनसम्म फोहोर उत्पादन हुने गरेको छ । वर्गीकरण नगरी एकै ठाउँमा फोहोर हाल्दा यो परिमाण अझै बढ्न सक्छ । उपत्यकाको काठमाडौं, ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । यी सबै फोहोर निजी र महानगरका गरी दैनिक दुई सय बढी टिपर–ट्रकबाट नुवाकोटको ककनी गाउँपालिका–२ को सिसडोल लैजाने गरिएको छ । दैनिक २५ ट्रकको दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजारभन्दा बढी टन फोहोर फालिरहेका छन् ।

बन्चरेडाँडाको ९५ प्रतिशत सकियो काम

बन्चरेडाँडाको ९५ प्रतिशत काम सकिए पनि त्योभन्दा अगाडि बढ्न सकेको छैन । पछिल्लो समय बन्चरेडाँडा निर्माणका कामले खासै गति लिन नसकेको वातावरण विभाग प्रमुख श्रेष्ठ स्वीकार गर्छन् । तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर उठाउन वेला–वेला समस्या आउने गरेको छ । महानगरका अनुसार ल्यान्डफिल साइट चाँडै निर्माण भएमा फोहोर नउठ्ने समस्या हुँदैन । ‘बन्चरेडाँडा ल्यान्डफिल साइटको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । फोहोर र लिच्चड दुवै अट्ने पोखरी बनाउँदा समय लागेको हो । अब छिट्टै सञ्चालनमा आउँछ,’ वातावरण विभागका प्रमुख श्रेष्ठले भने ।

उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले २०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो । त्यसका लागि एक हजार सात सय ९० रोपनी जग्गा अधिग्रहण गरेर करिब ६१ करोड मुआब्जा पनि बाँडियो । तर, १६ वर्ष बित्दा पनि ल्यान्डफिल साइट सम्पन्न हुन सकेको छैन । बन्चरेडाँडामा सामान्य अवस्थामा फोहोर बिसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्यान्डफिल गर्दा कम्तीमा ५० वर्षसम्म उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने सरकारको भनाइ छ ।

जापान सहयोग नियोग (जाइका)को दुई अर्ब १० करोड सहयोगमा ल्यान्डफिल साइट बनाउने निर्णय भएको थियो । जाइकाले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन पनि बनाएको थियो । वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्ने वेलामा स्थानीय विकास मन्त्रालय र वन मन्त्रालयबीच विवाद भयो । तीन वर्षमा सक्ने भनिएको आयोजनाको इआइए गर्न नै चार वर्ष लाग्यो । त्यसपछि दातृ निकाय जाइकाले हात झिक्यो, उसले सहयोग गरेको दुई अर्ब १० करोड पनि फ्रिज भएर गयो । खासमा त्यतिवेलैदेखि आयोजना अलपत्र परेको हो ।

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थल भन्दै सरकारले २०५२ मै बन्चरेडाँडाको पहिचान गरेको थियो । त्यहीअनुसार सडक निर्माणका लागि २०५७ देखि नै ट्रयाक खोल्ने काम पनि थालेको थियो । तर, सडक निर्माण कार्य अझै सकिएको छैन  ।

२०६२ अघि काठमाडौंको फोहोर गोकर्णस्थित ल्यान्डफिल साइटमा डम्पिङ गरिँदै आइएको थियो । त्यसका लागि करिब दुई सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो । यो साइट भरिएपछि काठमाडौंमा फोहोर उठ्न छाड्यो । त्यसपछि सरकारले बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको हो । यसका लागि तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहोरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत परिचालन केन्द्रले जाइकासँग समन्वय गरेको थियो । बन्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गर्न तीन वर्ष लाग्ने भएपछि त्यतिन्जेल उपत्यकाको फोहोर सिसडोलमा व्यवस्थापन गर्न थालियो । त्यसका लागि सिसडोलमा चार सय २० रोपनी जग्गा अधिग्रहण गरियो । २२ जेठ ०६२ देखि फोहोर त्यहीँ फाल्न सुरु गरिएको थियो ।Nayapatrika

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २४ कार्तिक २०७८, बुधबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • २४ कार्तिक २०७८, बुधबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • २४ कार्तिक २०७८, बुधबार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

TOP