बाराको विश्रामपुर गाउँपालिका वडा नं. २ कान्तिपुर बरैनियाका चनरदेव पण्डित (कुम्हाल) ७२ वर्षका भए । बुढ्यौली उमेरमा पनि उनको जोश लोभलाग्दो छ । तिहारमा दिपावली गर्न प्रयोग हुने माटामा दियो बनाउ व्यस्त उनी यसपाली अघिल्लो वर्ष भन्दा राम्रो ब्यापार भएकोमा खुसी पनि थिए ।
‘कोरोनाले २ बर्ष व्यवसाय राम्रो भएन यसपाली अलि राम्रो होला जस्तो छ ।’ उनले भने । तेस्रो मुलुकबाट भित्रिएको विद्युतीय झालरबत्ती र छिमेकी मुलक भारतबाट मेशिनमा बनाइएका दियोका कारण माटोको दियो बनाउने नेपाली व्यवसायी दवावमा भएको कुम्हालको भनाई छ ।
युवा पुस्ताले माटोको दियो बनाउने कामलाई झन्झटिलो माने पनि पुराना पुस्ताका व्यवसायीले भने अझै दयो बनाउने कामलाई निरन्तरता दिएका छन् । तर, बजारमा बढेको महंगीले आम्दानी थोरै भएको उनीहरुको भनाई छ । ‘विगतमा सामानको मुल्य सस्तो हुँदा बरु राम्रै फाइदा हुन्थ्यो अहिले रेट बढेको छ तर, पनि नाफा छैन ।’ उनले भने । घर परिवारको खर्च व्यहोरेर झण्डै एकलाख जति आम्दनी हुने उनले बताए । ७२ वर्षीया चनरदेव पडित (कुम्हाल) विगत ४२ वर्षदेखि यो पेशामा छन् । ‘यो सिजनल व्यवसाय हो । अन्य समयमा खासै बिक्री नहुने र राख्ने ठाउँको पनि अभाव हुँदा अरु समयमा खेतीपातीमै बित्छ ।’ उनले भने ।
सिकेको सीपको निरन्तरता
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का राजेन्द्र पडित पनि यो पेशामा पछिल्लो समयमा अवरोध पुगेको बताउँछन् । व्यापारमा कुनै अवरोध नभए बार्षिक ३ लाख जति आम्दानी गर्न सकिने उनको भनाई छ । पछिल्लो समयमा माटोकै आयातित सामान र विद्युतीय झालरबत्ती तथा युवा पुस्ताको आकषण कम हुँदा पेशा नै संकटमा गएको उनको भनाई छ ।
वीरगन्जकै रानीघाटमा माटोका सामग्रीको पसल संचालन गरेर बसेका रानीगंज रहरियाका सुनिल प्रजापतिले माटोबाट विभिन्न सामान बनाएर बिक्री गर्दा घरायसी खर्च चलाउन गार्हो नहुने बताउछन् । बाराको इटियाहीका शम्भु पडित ( कुम्हाल ) घर बनाउने राजमिस्त्री हुन् । तर पर्वको यो सिजनमा उनी पुस्तैनी पेशा माटोको सामग्री बनाउने कामलाई निरन्तरता दिने गरेको बताउँछन् । पर्साको पोखरिया नगरपालिका वडा नं.७ रानीगंजकै दिनेश पण्डित प्रजापतिले विगत १५ वर्षदेखि माटोकै भाँडाकँुडा बनाउदै बिक्री गर्दै आएका छन् ।
व्यवसायी उत्साहित
एकातिर कोरोना संक्रमण, अर्कोतीर झालरबत्तीको हस्तक्षेपले विलखबन्दमा परेका व्यवसायी यो बर्ष उत्साहित छन् । सर्वसाधारणले माटोका सामान किन्न थालेपछि उनीहरु उत्साहित छन् । मध्य तराईमा निकै धुमधामले मनाउने दिपावली र छठपर्वमा माटोका कलश, ढकन, चौमुख दियो, हात्ती, खपरी, सानो दियो प्रायः नभई हुँदैन । गएको दुईबर्ष कोरोनाले खुलेर पर्व मनाउन नपाएका सर्वसाधारण यो बर्ष सबै सामग्रीको जोहो गर्न थालेपछि माटोका सामान बनाई बेच्ने व्यवसायी पनि अलि हौसिएका हुन् ।
सोमबार उनीहरुले समुदायकै तर्फबाट वीरगन्जको घण्टाघर छेउमा एक कार्यक्रमको आयोजना गरी वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीसँग छठसम्म विपी उद्यानको सडक छेउबाट आफूलाई नहटाउन आग्रह पनि गरे । ‘मिल्छ भने हामीलाई नियमित यतै माटोका सामग्रीको पसल गर्न निश्चित ठाउँ मिलाइदिनुस् ।’ नगरप्रमुखसँग उनीहरुले भने । नगरप्रमुख सरावगीले पनि तत्काल त्यहाँबाट नहटाउने आवश्वासन दिए । बरु व्यवस्थित रुपमा व्यापार गर्न व्यवस्था मिलाइदिने आश्वासनले माटोका सामग्रीको उत्पादन र बिक्री गर्न दुई बर्ष नपाएका व्यवसायी निकै खुशी भएको उनीहरुले तर्क गरे ।
शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट कम्पनी बन्न सफल भएको...
नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग(वाईसीयल)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...
चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अङ्कले बढेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अङ्कले बढेर...