३ जेष्ठ २०७९, मंगलवार
May 17, 2022, Tuesday

पहिलो चलचित्र आर्टिस्टिक, दोस्रो–तेस्रो किन कमर्सियल ?

पहिलो चलचित्र आर्टिस्टिक, दोस्रो–तेस्रो किन कमर्सियल ?

नेपाली चलचित्र क्षेत्रमा निर्देशकका अक्सर पहिलो चलचित्र आर्टिस्टिक (कलात्मक) हुने गरेका छन् । त्यसपछि क्रमशः व्यापारिक हुँदै जाने गरेको पाइन्छ । उदाहरणका रूपमा ‘लुट–२’, ‘शत्रुगते’, ‘छ माया छपक्कै’, ‘रोमियो एन्ड मुना’ आदिलाई लिन सकिन्छ ।

निश्चल बस्नेतको ‘लुट–२’ भन्दा यसको पहिलो सिरिज आर्टिस्टिक थियो । प्रदीपक भट्टराईको ‘शत्रुगते’ भन्दा ‘जात्रा’ले धेरै राम्रो समीक्षा पाएको थियो । दीपेन्द्र लामा पनि ‘छ माया छपक्कै’मा आइपुग्दा कमर्सियल चलचित्रमा पुगे । ‘डाइङ क्यान्डल’ निर्देशन गरेका नरेशकुमार केसी दोस्रो चलचित्र ‘रोमियो एन्ड मुना’मा आइपुग्दा कमर्सियल सिनेमा मेकरमा यु–टर्न हुन खोजे । कोही पहिलोबाट दोस्रोमा आइपुग्दा त कोही तेस्रो, चौथो निर्देशनमा पुग्दा आर्टिस्टिकबाट कमर्सियल चलचित्रमा यु–टर्न भएको देखिन्छ ।

कलात्मक चलचित्र निर्देशन गरेर समीक्षक र कतिपय चलचित्रले दर्शकको समेत साथ पाएको अवस्थामा निर्देशकहरू विस्तारै किन कमर्सियल चलचित्रतर्फ आकर्षित हुन्छन् ? निर्देशक हेमराज बिसी बजार नै मुख्य कारण भएको बताउँछन् । यसमा बजारले निर्देशित गर्ने गरेको उनको भनाइ छ ।

“निर्देशकको पहिलो चलचित्र भनेर बजारमा देखिए पनि उसले त्यो बजारमा आउनुअगाडि धेरै काम गरिसकेको हुन्छ । धेरै वर्ष चलचित्रप्रतिको प्यासन, त्यसमा अध्ययन, लगाव र मिहिनेतपछि उसको पहिलो चलचित्र आउँछ,” निर्देशक हेमराज भन्छन्, “पहिलो चलचित्र बजारमा आइसकेपछि अरू धेरै मान्छेसँग टाइअप भएर काम गर्न सुरु गरिन्छ । वितरक, निर्देशकहरू भेट्न थालिन्छ । उनीहरूले जस्तो मार्केट छ, उतैतर्फ ड्राइभ गर्छन् । त्यसैले दोस्रो, तेस्रो हुँदै जाँदा चलचित्र कमर्सियल हुँदै जान्छ ।”

वितरक, प्रदर्शक, निर्माता तथा कलाकारहरूबाट कलात्मक मात्रै भन्दा पनि व्यावसायिक चलचित्र बनाउनुपर्‍यो भन्ने सुझाव आउने उनको अनुभव छ । “बजारमा के चलिरहेको छ, कमर्सियल चलचित्र कसरी बनाउने, त्यसका इलिमेन्ट्स के–के हुन् भनेर दिइने सुझावलाई मनन् गर्दै बजारबाट ड्राइभ हुँदा कमर्सियल पक्ष हाबी हुँदै जान्छ,” उनी भन्छन्, “त्यसको परिणाम पर्दामा देखिन्छ । बजारबाट ड्राइभ नहुने हो र इन्डिभिजुअल रूपमा काम गर्न सके आफूले चाहेजस्तो चलचित्र बनाउन सकिन्छ ।”

निर्देशक प्रदीप भट्टराई पनि मेकरले बजारको कुरा सुन्दा दोस्रो, तेस्रो चलचित्र पहिलोभन्दा कमर्सियल हुने गरेको बताउँछन् । वितरक, प्रदर्शक र निर्माताको आग्रह र सुझावलाई नजरअन्दाज गर्न नसक्दा आर्टिस्टिक चलचित्र बनाउने निर्देशकहरूले कमर्सियल चलचित्र बनाउने गरेको उनी स्वीकार्छन् ।

बजारसँगै निर्देशकहरू स्वयं पनि मिहिनेत कम गरौँ र हरेक चलचित्र पहिलो हो अथवा शून्यबाट सुरु हुन्छ भन्नेतर्फ गम्भीर नहुँदा पनि कमर्सियल हुँदै जाने र पहिलोभन्दा दोस्रो र दोस्रोभन्दा तेस्रो कम आर्टिस्टिक हुने उनको भनाइ छ ।

“वितरक, निर्माता तथा साथीभाइहरूले तेरो पहिलो चलचित्र नै राम्रो छ, तेरो ट्रेडमार्क नै त्यही हो, त्यस्तै चलचित्र बनाऊ, चलिहाल्छ भन्ने धेरैजनाबाट सुझाव आउँछ,” निर्देशक प्रदीप भन्छन्, “यति धेरै सुझाव आउँछ कि सबैले एउटै कुराभन्दा हो कि क्या हो, मैले नै गलत त सोचिरहेको छैन भन्ने हुन्छ । त्यसैले अरूको कुरा सुन्दा पनि केही कुराहरू बिग्रिरहेको छ ।”

हरेक चलचित्र नयाँ हो, शून्यबाट सुरु हुन्छ र उत्तिकै मिहिनेत गर्नुपर्छ भन्ने सोचभन्दा पनि सजिलो बाटो खोज्दै पुरानै ट्रेडमार्कमा भर पर्दा पहिलोभन्दा दोस्रो चलचित्र कम कलात्मक हुने उनको भनाइ छ ।

पहिलोभन्दा दोस्रो वा तेस्रो चलचित्र कम कलात्मक भए पनि त्यसले कलेक्सन भने धेरै गर्ने गरेका छन् ।

पैसा कमाउने नाममा न्यूनतम स्टान्डर्ड, मूल्य–मान्यताभन्दा तल झर्न नहुने निर्देशक तथा समीक्षक दीपेन्द्र लामा बताउँछन् । “चलचित्रले पैसा कमाउनु नराम्रो होइन, तर पैसा कमाउने नाममा न्यूनतम स्टान्डर्ड तथा मूल्य–मान्यताबाट लतारिएर पुरानै विषय, बासी फर्मुला र विदेशी सिनेमाको कपी गर्नुचाहिँ हुँदैन,” दीपेन्द्र भन्छन्, “जात्रा–१ ले भन्दा दुईले धेरै कमायो । जात्रा–१ मा स्टार विपीन कार्की मात्रै थिए । दुईमा धेरै दर्शकसामु पुग्न सकौँ भनेर दयाहाङ राईलाई पनि समेटियो । ‘घामपानी’ र ‘गोपी’भन्दा अझै धेरै दर्शक आऊन् भन्ने लोभले ‘छ माया छपक्कै’मा ‘छक्कापञ्जा’ टिमसँग सहकार्य भयो । तर, यी चलचित्रमा विषय, प्रस्तुति, अभिनय तथा प्राविधिक पाटो कस्तो छ, त्यो समीक्षाको विषय हो ।”

चलचित्रलाई नाफामुखी बनाउनु राम्रो भए पनि दिमागमा पैसा मात्रै राखेर काम गर्नु गलत हुने उनको बुझाइ छ । “दर्शकले ‘जात्रा’ मन पराए भनेर पैसा कमाउनकै लागि हुबहु त्यस्तै पाँच भाग, ‘नाईं नभन्नू ल’ले राम्रो व्यापार गर्‍यो भनेर ६ भाग, ‘कबड्डी’ चल्यो भनेर कसैले चारवटा भाग बनाउँछ भने त्यो गलत हो । त्यसमा पनि न्यूनतम मूल्य–मान्यताभित्र रहेर फरक कथामा कसैले राम्रो चलचित्र बनाउँछ भने त्यसमा आपत्ति जनाउनु पर्दैन,” उनी भन्छन्, “तर यसको ब्रान्ड छ, यो बनायो भनेर पैसा कमाइन्छ भनेर पैसा दिमागमा राखेर बनायो भनेचाहिँ त्यसले कलालाई मार्छ । पहिलो प्राथमिकता कला नै हुनुपर्छ ।”

नेपालमा बजारमा चलेको भन्दा फरक चलचित्र बनाउँछु भन्ने सोचले अगाडि बढ्ने निर्देशकको स्थायित्त्वको सम्भावना कम रहेको दीपेन्द्र बताउँछन् । नेपाली मेकर एकैपटक पूरै परिवर्तन हुनेभन्दा पनि विस्तारै आफूसँगै दर्शकको टेस्ट परिवर्तन गर्दै अगाडि बढ्नुपर्नेमा उनको जोड छ । एउटै टेस्टमा दर्शकलाई अभ्यस्त बनाए त्यो अन्ततः मेकर स्वयंका लागि घातक हुने उनको भनाइ छ ।

Related News

रुसको आक्रमणबारे धारणा बनाउन क्वाडका नेताहरुद्वारा छलफल
रुसको आक्रमणबारे धारणा बनाउन क्वाडका नेताहरुद्वारा छलफल
  • १६ कार्तिक २०७८, मंगलवार

अमेरिका,अष्ट्रेलिया, जापान र भारतका नेताहरू भर्चुअल छलफल गर्दैछन् । क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डाईलगमा आवद्ध यी ४ मुलुकका नेताहरूबीच कुरा...

मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा यस्तो छ
मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा यस्तो छ
  • १६ कार्तिक २०७८, मंगलवार

सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी०सँगको सम्झौताको व्याख्यात्मक टिप्पणी पास गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको...

सँधै चर्चामा साम्राज्ञी
सँधै चर्चामा साम्राज्ञी
  • १६ कार्तिक २०७८, मंगलवार

नेपाली कथानक चलचित्र ‘ड्रिम्स ‘बाट आफ्नो फिल्मी यात्रा शुरु गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चा तथा विवादमा पर्ने...

TOP