१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

११ वर्ष बित्यो, कान्द्राको पुल बनेन

११ वर्ष बित्यो, कान्द्राको पुल बनेन

कैलालीको कान्द्रा नदीमा निर्माणाधीन पुल ११ वर्षमा पनि बन्न सकेन । जिल्लाको भजनी नगरपालिका–३ थेकीपुरस्थित कान्द्रा नदीमा पुल निर्माणको जिम्मा पाएको कम्पनीले पुल अधुरै छोडेर सम्पर्कबिहीन भएपछि ११ वर्षदेखि बन्न नसकेको हो ।

हालसम्म चौथो पटक म्याद थप हुँदासमेत एक सय मिटर लामो पुल बनाउन नसकेका साल्पा÷शेर्पा–लामा–विरुवा जेभी नामक निर्माण कम्पनीका प्रतिनिधी सम्पर्कबिहीन भएपछि पुल निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ ।

हुलाकी सडक अन्तर्गत पर्ने सो पुल ११ वर्षसम्म पनि बन्न सकेन । चौथो पटक थप भएको म्याद चैत मसान्तमा सकिएको थियो । ठेकेदार सम्पर्कमा नआएपछि पुल बेवारिसे बनेको छ । अझै एक स्पामसहित अन्य काम बाँकी रहेको बेला निर्माण कम्पनीका ठेकेदार सम्पर्कमा नआएको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । पटक–पटक म्याद थप र ताकेता गर्दा पनि निर्माण कम्पनीले पुल बनाउने काम नगरेपछि हुलाकीले तीनवटै निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने र ठेक्का तोड्ने तयारी गरेको छ ।

बाँकी रहेको काम पूरा गर्नका लागि ठेकेदारहरुले चासो नदेखाएपछि कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको हुलाकी सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर पदम मडैलेले बताए । ‘उनीहरुले काम गरि दिएको भए त जरिवाना लिएर काम गराउन सकिन्थ्यो । तर, सम्पर्कमै आइरहेका छैनन् । पुल निर्माण स्थलमा न केही निर्माण सामग्री छ न त कम्पनीका मान्छे’, उनले । ‘जरिवाना लिएर पनि काम गराउन सक्ने अवस्था नदेखिएकाले कालोसूचीमा राख्ने तयारी गर्दैछौं ।’ उनले ती निर्माण कम्पनीसंग अब ठेक्का तोड्नुको विकल्प नरहेको बताए ।

बाँकी काम सम्पन्न गर्नका लागि नयाँ ठेक्का गरेमा पुल निर्माण गर्न थप ढिलाइ हुने भएको छ । यसवर्ष भने अब पुल नबन्ने निश्चित भइसकेको छ । आयोजना कार्यालयका अनुसार पुलको ७५ प्रतिशत काम पूरा भइसकेको छ । एक स्पाम, दायाँबायाँ बाटो र एकतिर ग्याबिन लगाउनमात्रै बाँकी छ । तर, निर्माण स्थलमा निर्माण कम्पनीको उपस्थिति छैन । ‘काम गरि दिए त कुल लागतको प्रति दिन ०.०५ प्रतिशतका दरले हुन आउने २० हजार रुपैयाँ जरिवाना लिएर काम गराउन सकिन्थ्यो’, सूचना अधिकारी मडैले भने । ‘अब काम धेरै छैन । तर, कम्पनीले काम गर्ने चासो नै देखाएका छैनन् ।’ अब बढीमा दुई महिना लाग्ने काम बाँकी रहेको उनको भनाइ छ ।

२०६८ जेठ २१ गते उक्त पुलको ठेक्का भएको थियो । चार करोड ४३ लाख रुपैयाँ साल्पा÷शेर्पा–लामा–विरुवाले संयुक्त रुपमा ठेक्का पाएको थियो । तीन कम्पनीमध्ये लामा पहिल्यैदेखि कालोसूचीमा रहेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । यसैगरी, आर्थिक संकटका कारण विरुवाको टाट पल्टेको जनाइएको छ । काठमाण्डौंका सुवित श्रेष्ठको सो कम्पनी सामान खरिद गरेर काम गर्न नसक्ने अवस्थामा पुगेको जनाइएको छ ।

२०६८ जेठमा ठेक्का भएको पुलको पहिलो निर्माण अवधि ३० महिना रहेको थियो । तर, डिजाइन परिवर्तन गर्नु पर्ने कारणले साढे चार वर्षसम्म काम भएन । २०७२ पुसमा डिजाइन परिवर्तन भएपछि काम सुरु गरिएको थियो । साढे दुई वर्षको पहिलो म्याद २०७५ असारमा सकिएको थियो । चौथो पटक थप भएको म्याद यहि चैत मसान्तमा सकिएको छ ।

कान्द्रामा पुल निर्माण नहुँदा भजनी नगरपालिकावासीलाईमात्रै नभइ हुलाकी राजमार्ग आयोजनाको कार्यालयलाई पनि समस्या भएको मडैले बताए । अब बर्खाको समय आउँदैछ । पुल निर्माण नभएका कारणले सो क्षेत्रका स्थानीय जोखिम मोलेर डुंगामार्फत नदी तर्दै आएका छन् ।Source

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • ३१ जेष्ठ २०७९, मंगलवार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • ३१ जेष्ठ २०७९, मंगलवार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • ३१ जेष्ठ २०७९, मंगलवार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

TOP