अन्तर्राष्ट्रिय बजारमा लगातार रुपमा बढिरहेको पेट्रोलियम पदार्थको मूल्यले गर्दा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य लगातार रुपमा उकालो लागिरहेको छ ।
अहिले एलपी ग्यास, डिजेल र मट्टीतेलको मूल्य अहिलेसम्मकै उच्च पुगेको छ भने र पेट्रोलको मूल्य पनि नयाँ रेकर्ड कायम गर्ने नजिक पुगेको छ ।
नेपाल आयल निगमले कात्तिक २४ गते बुधबार राति १२ बजेबाट लागु हुनेगरि लागु गरेको नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा (निगम डिपो क्षेत्रको १५ किमी परिसरभित्र) पेट्रोलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५७५ रुपैयाँ पुर्याएको छ ।
यस्तै हवाई इन्धनमा आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरि आन्तरिक हवाई इन्धनको मूल्य ११० रुपैयाँ प्रतिलिटर बाह्यतर्फको प्रतिकिलोलिटर ८९५ डलर पुर्याएको छ ।
नेपाल आयल निगमका प्रवक्ता पुष्कर कार्की डिजेट, मट्टीतेल र एलपी ग्यासको मूल्य अहिलेसम्मकै उच्च पुगेको बताउँछन् ।
यसअघि अन्तराष्ट्रिय बजारमा लगातार रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा डिजेल मट्टीतेल र पेट्रोलको मूल्य उच्च बिन्दुमा पुगेको थियो ।
२०७० फागुन ३० गते पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो । त्यतिबेला डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०९ रुपैयाँसम्म पुगेको आयल निगमका प्रवक्ता कार्की बताउँछन् ।
यस्तै एलपी ग्यास उक्त मितिमा १४७० रुपैयाँसम्म पुगेको थियो । यस्तै हवाई इन्धन आन्तरिकतर्फको १४३ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय तर्फको प्रतिकिलोलिटर ८९५ डलर पुगेको थियो ।
नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टीतेल तथा एलपी ग्यासको मूल्य अहिलेसम्मकै उच्च पुगेको हो ।
२०१९ मा चीनको बुहान सहर हुँदै विश्वभर फैलिएको कोरोना महामारीले गर्दा विश्वभर लकडाउन भयो । जसले गर्दा इन्धनको माग घटेको कारण अन्तर्राष्ट्रिय बजारमा सँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको थियो । २०७६ चैत १९ गतेदेखि लागु भएको मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ९६ रुपैयाँसम्म झरेको थियो ।
यस्तै डिजेल र मट्टीतेल प्रतिलिटर ८५ रुपैयाँ तथा एलपी ग्यास १३७५ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फको ८० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको प्रतिकिलोलिटर ७१५ डलरसम्म झरेको थियो । ग्यासको मूल्य भने २०७६ असोज ३० गते १३५० रुपैयाँसम्म झरेको थियो ।
सोही समयमा आयल निगमले अन्तर्राष्ट्रिय बजारमा घटेको तुलनामा आयल निगमले मूल्य नघटाउँदा निगम अर्बौँ नाफामा गएर पुरानो सञ्चित घाटा समेत तिरेको थियो ।
निगम नाफामा गएको मौका छोपी तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले पेट्रोल र डिजेलमा पूर्वाधार विकास कर भनेर यसअघि लगाउँदै आएको प्रतिलिटर ५ रुपैयाँमा अर्को ५ रुपैयाँ थपेर प्रतिलिटर १० रुपैयाँ पुर्याएका थिए । तत्कालीन समयमा सरकारले पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार विकास शुल्कले उपभोक्तालाई कुनै असर नपर्ने र यसले पेट्रोलियम पदार्थको मुल्यवृद्धि नहुने दाबी गरेका थिए ।
तर, अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयल निगमको घाटा बढ्दै जाँदा निगमले घाटा कम गर्न मूल्य बढाउने र त्यसको भार उपभोक्तामा नै थपिएको छ । कोभिडको पहिलो लहरपछि २०७७ असार १६ गतेबाट मूल्य बढ्न सुरु गरेको थियो । २०७७ असार १६ गते पेट्रोलमा एकैपटक ५ रुपैयाँले बढेर १०१ र डिजेल तथा मट्टीतेल २ रुपैयाँले बढेर ८७ रुपैयाँ पुगेको थियो । त्यसयता निगमले २०७८ असार ३० मा विद्यार्थी संगठनको आन्दोलनले गर्दा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटे पनि २०७७ असारपछि पेट्रोलियम पदार्थको मूल्य लगातार बढेको छ ।
भारतीय आयल कर्पोरेसनबाट प्राप्त पछिल्लो मूल्यसूचीअनुसार बुधबारको मूल्य समायोजन पछि पनि आयल निगमलाई पट्रोलमा प्रतिलिटर १७ रुपैयाँ ५८ पैसा, डिजेलमा प्रतिलिटर १३ रुपैयाँ १४ पैसा, एलपी ग्यासमा प्रतिसिलिन्डर ६५७ रुपैयाँ ८४ पैसा घाटा रहेको आयल निगमका प्रवक्ता कार्की बताउँछन् ।
हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ २४ पैसा फाइदा रहेको उनले बताए । यस्तै बाह्यमा प्रतिलिटर १७ रुपैयाँ ४ पैसा र मट्टीतेलमा निगमलाई प्रतिलिटर १५ रुपैयाँ फाइदा हुँदा निमगको १५ दिनको घाटा २ अर्ब ६२ करोड भन्दा बढी रहेको उनले बताए ।
अहिले सबैभन्दा समस्या भने एलपी ग्यासमा रहेको उनले बताए । एलपी ग्यासको १५ दिनको घाटा नै १ अर्ब ११ करोड १७ लाख रहेको उनले जानकारी दिए ।
निगमले मूल्य बढाउँदा पनि भारतीय सीमा क्षेत्रभन्दा सस्तो
आयल निगमले पछिल्लोपटक मूल्य समायोजन गर्दा पनि भारतको सीमा क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य नेपालमा भन्दा धेरै नै बढी रहेको देखिन्छ । हालै मात्रै भारतको केन्द्र सरकार र भाजपाको नेतृत्व रहेको प्रदेश सरकारले उच्च मुल्यवृद्धि रोक्न भन्दै पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर १० प्रतिशतसम्मले घटाए पनि अझै नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य उच्च रहेको छ ।
वीरगंजमा पेट्रोल प्रतिलिटर १३४ रुपैयाँ ५० पैसा छ भने पारिपट्टी रक्सौलामा नेपाली १७२ रुपैयाँ प्रतिलिटर पर्ने आयल निगमका प्रवक्ता कार्की बताउँछन् । डिजेल रक्सौलमा प्रतिलिटर १४८ रुपैयाँ १५ पैसा नेपाली रुपैयाँ पर्छ भने वीरगञ्जमा ११७ रुपैयाँ ५० पैसा रहेको उनले बताए ।
पेट्रोलियम पदार्थमा कति छ कर ?
हाल पेट्रोलियम पदार्थमा मूल्य अभिवृद्धि करका साथै पूर्वाधार विकास कर, प्रदुषण शुल्क, सडक दस्तुर भन्सार शुल्क जस्ता विभिन्न शिर्षकमा सरकारले कर उठाउँदै आएको छ ।
सरकारले पेट्रोलमा सबैभन्दा धेरै प्रतिलिटर ५७ रुपैयाँ ७३ पैसा, डिजेलमा ४० रुपैयाँ ४१ पैसा, मट्टीतेलमा १८ रुपैयाँ २७ पैसा, हवाई इन्धनमा आन्तरिकतर्फ १६ रुपैयाँ १० पैसा र बाह्यतर्फ ७ रुपैयाँ ८ पैसा कर सरकारले लिने गरेको छ ।
यस्तै एलपी ग्यासमा भने प्रतिसिलिन्डर २७८ रुपैयाँ ८६ पैसा सरकाले कर उठाउने गरेको छ ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...