२०४६ सालको राजनीतिक परिवर्तनपछि हरेक पटकका निर्वाचनमा हुम्लाको चुनावी परिणाम नयाँ र नसोचेको प्राप्त हुँदै आएको छ। प्रत्येक निर्वाचनमा फरक फरक परिणाम आएका कारण र राजनीतिक दलले जनप्रभावी नेतालाई चिन्न नसक्दा त्यस्तो परिणाम आउने गरेको देखिएको छ। यस पटकको निर्वाचनमा पनि हुम्लाको निर्वाचनमा यस्तै भयो। स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छक्कबहादुर लामा नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रको वाम गठबन्धनलाई छक्याउँदै प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट निर्वाचित भए। उनले वाम गठबन्धनका छिमी दोर्जे लामा र कांग्रेसका मंगलबहादुर शाहीलाई पाखा लगाउँदै विजयको झण्डा फहराएका हुन्। लामाले आठ हजार ४९१ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी शाहीले आठ हजार ४४४ मत प्राप्त गरेका छन्। वाम गठबन्धनका उम्मेदवार छिमी दोर्जे लामाले भने दुई हजार ७०० मत प्राप्त गरेका छन्। विजयी लामा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन्। वाम गठबन्धनले उनलाई टिकट नदिई छिमी दोर्जेलाई आधिकारिक उम्मेदवार बनायो। अन्तिम समयसम्म पनि आधिकारिक उम्मेदवारलाई सघाउन गठबन्धनले अधिकतम प्रयास गर्यो तर लामाले मान्दै मानेनन्। हल्ला पनि चल्यो, वाम गठबन्धनका आधिकारिक उम्मेदवारले छक्कबहादुरलाई नै समर्थन गरे। न त उनले आफ्नो उम्मेदवारी फिर्ता लिए, न वाम गठबन्धन नै टसको मस भयो। अन्त्यमा आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ४७ मत बढी ल्याएर लामाले इतिहास कायम गरे। नवनिर्वाचित सांसद् लामा तिनै व्यक्ति हुन्, जसले २०४८ सालको निर्वाचनमा काका चक्रबहादुर शाही र २०७४ को निर्वाचनमा भतिजा मंगलबहादुरलाई पराजित गरे। हुम्लाका पत्रकार तथा विज्ञ डा. दीपेन्द्र रोकायाका अनुसार २०४८ सालको संसदीय निर्वाचनमा कांग्रेसका चक्रबहादुरलाई सात मतले पारजित गरेका लामाले यस पटक उनका भतिजा मंगलबहादुरलाई ४७ मतान्तरले पराजित गरेका हुन्। हुम्लाको इतिहासमा २०५१ मा कांग्रेसका चक्रबहादुर र २०५६ मा एमालेका गोरखबहादुर बोगटी प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएका थिए। यस्तै, २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन नेकपा माओवादीका कर्णजीत बुढाथोकी विजयी हुँदा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका जीवनबहादुर शाही सभासद् बने। तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट निर्वाचित हुने नौ सांसदमध्ये छक्कबहादुर एक थिए। रोल्पाका कृष्णबहादुर महरा र बर्मन बुढा जस्तै चर्चित सांसद्का रूपमा लामालाई लिइन्थो। संविधानअनुसार प्रदेश नं.- ६ को हिमाली जिल्ला हुम्ला सडक सञ्जालको पहुँचबाट अझै पनि टाढा छ। हुम्लीको सडक सपना पूरा गर्ने एक सूत्रीय योजनामा छक्कबहादुर चुनावी मैदानमा खडा भएका हुन्। हुम्लाका स्थापित नेता लामा तिब्बती, चिनियाँ, नेपाली, हिन्दी र अंग्रेजी भाषाका जानकार छन्। कानुनमा स्नातक छक्कबहादुर त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र संकायमा स्तातकोत्तरका विद्यार्थीसमेत हुन्। तत्कालीन राजाको सरकारमा सहायकमन्त्री बनेका लामा शान्ति प्रक्रियाको सुरुवातपछि माओवादीमा प्रवेश गरे। नवर्निाचित सांसद लामाले पार्टीले टिकट नदिए पनि जनताले आफूलाई विजयी गराएका छन् भन्दै आफूसम्बद्ध पार्टीबाट बाहिर नजाने प्रतिक्रिया दिए। लामाले हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने, सिमीकोट विमानस्थलको स्तरोन्नति गर्ने तथा नेपाल-चीन-हिल्सा नाकालाई अन्तर्राष्ट्रियस्तरको नाकाका रूपमा विस्तार गर्ने आफ्नो कार्ययोजना अगाडि सारेको र जनताले आफ्नो कार्ययोजनालाई अनुमोदन गरेको जिकिर गरे। उनले माथिल्लो हुम्लालाई पशुपालन र व्यापार, मध्यहुम्लालाई फलफूल र जडीबुटी खेती र तल्लो हुम्लालाई कृषि तथा व्यापारिक क्षेत्रमा विकास गर्ने लक्ष्यका साथ मत मागेका थिए। हुम्लाका जानकार डा. रोकायाले भने, ‘पार्टीले लामालाई टिकट नदिएर अन्याय गरे पनि हुम्ली जनताले न्याय गरेका छन्। सत्यको जीत हुन्छ भन्ने कुरा प्रष्ट भएको छ।’ हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार जिल्लामा कूल २७ हजार ४३५ मतदाता रहेकामा २२ हजार मतदान भएको थियो। प्रतिनिधिसभामा एक स्वतन्त्रसहित सात राजनीतिक दलको सहभागिता थियो भने प्रदेशमा तीन दलले भाग लिएका थिए। बाँस्कोटाका अनुसार यही मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई आजै सम्पूर्ण मत परिणामसमेत सार्वजनिक हुनेछ। कष्टकर जीवनयापन गर्दै आएका हुम्लीलाई सहज सेवा दिने लक्ष्यका साथ निर्माण भएको चीनको तिब्बत जोड्ने हिल्साको पुल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ पुस ५ गते उद्घाटन गरेका थिए। उक्त पुल निर्माणका लागिसमेत नवनिर्वाचित सांसद् लामाले पहल गरेका थिए। नवनिर्वाचित छक्कबहादुरसँग कर्णाली करिडोर हिल्सा–सिमीकोट सडक निर्माण, विद्युत् आपूर्तिमा सहजता, हेक्पा र दोजाम खोलाबाट तीन मेगावाटसम्म विद्युत् उत्पादन, मानसरोवर तथा कैलाश पर्वतमा दश प्रवेशद्वार निर्माण, दक्षिणी क्षेत्रमा कृषि उत्पादन वृद्धि र जिल्ला अस्पतालमा भिडियो एक्स–रे सेवा स्थानीय बासिन्दाको माग छ। स्थानीय जनताको माग सम्बोधन गर्न सबैसँग मिलेर काम गर्ने छक्कबहादुरको भनाइ छ।
Thahakhabar
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...