२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

छापामार रोका बनिन पहिलो प्रतिनिधी सभा सदस्य

छापामार रोका बनिन पहिलो प्रतिनिधी सभा सदस्य

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको सशस्त्र युद्धको पहिलो छापामारदेखि औपचारिक राजनीति थालेकी नेकपा माओवादी केन्द्रकी नेतृ कमला रोकाको यात्रा प्रतिनिधिसभा सदस्यसम्म पुगेको छ ।

२०७२ सालमा जारी नेपालको नयाँ संविधानमा उल्लेख भएअनुसार बनेको देशको कान्छो तथा ७७औं जिल्ला रुकुम (पूर्व)बाट रोका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतले पछि पार्दै रोका विजयी बनेकी हुन् । रोकाले १० हजार ४ सय ३४ मत ल्याउँदा घर्तीको पक्षमा ४ हजार ४ सय ६ मत आएको छ । खसेको १८ हजार १ सय १४ मतमध्ये १६ हजार ९ सय २४ मत मात्रै सदर भएको थियो । उक्त जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका ५ जना पुरुषसँगै प्रतिस्पर्धा गरेकी एक्ली रोका विजयी भइन् ।

२०३२ सालमा साविकको प्वाङ तथा हालको सिस्ने गाउँपालिका–२, मा जन्मेकी रोका माओवादीले सशस्त्र घोषणा गरेकै दिन आक्रमण भएको रुकुम आठविसकोट प्रहरी चौकी आक्रमणकी एउटी सदस्य उनी हुन् । ‘पूर्णकालीन भएको केही समयमै प्रहरी चौकी आक्रमणमा जानुपर्ने भयो,’उनले भनिन्, ‘गएर पनि चौकी आक्रमण सफलतापूर्वक सम्पन्न भयो ।’ त्यसपछि उनी २०५३ माओवादीको रुकुम जिल्लाको पहिलो महिला सदस्य भइन् । २०५४ को असार महिनामा उनी केही समय दाङको जेलमा पनि बसेकी थिइन् । २०५५ मा महिला संगठनको जिल्ला अध्यक्ष, २०५७–२०५९ सम्म माओवादीको प्यूठान जिल्ला इञ्चार्ज २०५९ देखि २०६० सम्म रोल्पा र रुकुमका केही भाग मिसायर बनाइएको विशेष जिल्लाको पार्टी इन्चार्ज भइन् ।

२०६० मा माओवादीले बनाएको ९५ जनाको केन्द्रीय समितिमा पनि उनी सदस्य थिइन् । २०६२ को चुनवाङ बैठकपछि माओवादीको सेनाको ५ औं डिभिजनको दीर्घस्मृति विग्रेड कमिसार बनेर उनी गण्डक अभियानमा लागेकी थिइन् । शान्ति स्थापनापछि मूल राजनीतिमा फर्केकी उनली २०६३ मा अन्तरिम विधायक र २०६४ को संविधानसभा निर्वाचनबाट समानुपातिक सूचीमार्फत सभासद् भएकी उनी युवा तथा खेलकुद मन्त्री समेत भइसकेकी छिन् । उनी हाल माओवादी केन्द्रको सचिवालय सदस्य तथा महिला विभाग इन्चार्ज छिन् । प्रत्यक्षतर्फ उनी पहिलो पटक निर्वाचन लडेर विजयी बनेकी हुन् ।

युद्धभन्दा चुनाव जोखिम रहेको उनले प्रतिक्रिया दिएकी छिन् । मत परिणाम घोषणालगत्तै उनले भनिन् ‘युद्ध रुप पक्ष जटिल देखिए पनि सार पक्षमा सजिलो थियो । चुनाव रुप पक्षमा सजिलो देखिए पनि सार पक्ष भने जटिल भयो ।’युद्धमा एउटै लक्ष्य प्राप्तिका लागि एउटै काममा ध्यान दिए पुग्ने भए पनि चुनावमा त्यो सुत्रले काम नगर्ने बताइन् । ‘चुनावमा चार कान, चार आँखा नगरी स्थिति सम्हाल्न सकिने हुँदैन भने युद्धमा पाएको जिम्मेवारी पूरा गर्नेतर्फ मात्रै ध्यान दिए पुग्छ’ उनले थपिन् । उनले आफ्नो विजयी घोषणा भएपछि जिताउने मतदातालाई धन्यवाद दिँदै उनले विकास गर्ने प्रतिबद्धता गरेकी छिन् । ‘जनताले ठूलो जिम्मेवारी सुम्पिनु भयो,’ उनले भनिन्, ‘म चुनाव प्रचारको क्रममा गरेका प्रतिबद्धता पूरा गर्नतर्फ लाग्नेछु, मेरो प्रयास जिल्लाको समग्र विकास र समृद्धिको लागि हुनेछ ।’

विशेषगरी जनताका माग दुई थरिका भएको उनले बताइन् । चुनावी अभियानको क्रममा ठाउँठाउँ घुम्दा तत्कालीन र दीर्घकालीन समस्या जनताबाट आएको उनले बताइन् । उनका अनुसार तत्कालीन खालका खानेपानी, विद्यालय भवन, बाटोघाटो, विद्युत्‌लगायत माग धेरै छन् भने दीर्घकालीन मागका रुपमा सडक निर्माण, बाह्रै महिना यातायात सञ्चालन, सञ्चार सेवा, विद्युतलगायतको माग गरेको उनले बताइन् । ‘मैले बाम गठबन्धनको तर्फबाट घोषणा पत्र पनि तयार पारेको छु, घोषणा पत्रमा उल्लेख गरिएका योजना क्रमश: कार्यान्वयनमा लैजाने र जिल्लाको विकास र समृद्धिलाई तीव्रता दिन म कुनै कसर बाँकी राख्ने छैन,’ उनले भनिन्, ‘जनताको चाहना विकास निर्माण छ, अन्य विषयमा नअल्झेर विकासतिरै अघि बढ्ने गरी लाग्ने प्रतिबद्धता म दोहोर्‍याउँछु ।’

साभार इकान्तिपुर

https://bit.ly/2BJnRuY

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • २२ मंसिर २०७४, शुक्रबार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • २२ मंसिर २०७४, शुक्रबार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • २२ मंसिर २०७४, शुक्रबार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

TOP