१४ मंसिर २०७८, मंगलवार
November 30, 2021, Tuesday

सेयरमा लगानीपछिको भविष्य

सेयरमा लगानीपछिको भविष्य

कुनै साझा व्यापारमा लगाइएका सम्पत्तिको भाग वा हिस्सामा साझेदारी गर्नु नै सेयर हो। अहिले यो सेयर चल्तीको शब्दमा पर्छ। चिया गफदेखि सामाजिक सञ्जालमा पनि सेयरको चर्चा परिचर्चा अनवरत छ। पछिल्लो समय सामाजिक सञ्जाल ‘क्लब हाउस’ खोलेर हेर्ने हो भने यहाँ सेयरका विषयमा कुरा गर्न र जानकारी दिन बनाइएका समूहको भीड नै भेटिन्छ। अन्य समूहभन्दा सेयरको समूहमा सुन्ने र बुझ्ने अत्यधिक छन्। अहिले घरमा नै बसेर पनि सिक्न र बुझ्न सकिने सजिलो माध्यम सामाजिक सञ्जाल बनेकाले नागरिक कुन विषयको खोजीमा छन् ? भन्ने बुझ्न असहज छैन। सामाजिक सञ्जालमा एकैतर्फ दौडिएको समूह र खोजिएको कुरामा सेयरको विषय अग्रपंक्तिमा आउँछ। यो कुराले नेपालमा पनि सेयरको बजारले उच्च गति लिएको कुरालाई पुष्टि गर्छ। यिनै कुराले सेयर लगानी गर्नेको बढेको बुझिन्छ।

१९९५ सालसम्म नेपालमा औपचारिक रूपमा सेयर कारोबार सुरु भएको थिएन। व्यापारमा मिलेर लगानी गरे पनि त्यसको लेखाजोखा कहीँ कतै आधिकारिक रूपमा राखिएन। जब १९९५ सालमा नेपाल बैंक लिमिटेड र विराटनगर जुट मिल्सले सेयर जारी गरे तब नेपालको इतिहासमा सेयर कारोबार पहिलो बन्यो। सेयरभित्रका सबै सूचक सो समयमा नभए पनि कारोबार आधिकारिक बन्यो। यहाँबाट उम्रिएको सेयरको बिरुवा अहिले रूख भएको छ। हाँगा फैलिएका छन्। सेयरको मीठो फल खानेको संख्या कम छैन। स्वाद लिएकालाई यसको लत छ, सिक्नेलाई अझै सिक्ने चाहना।

सेयर कारोबारलाई बुझ्नुभन्दा पहिले यसको इतिहास जान्नु जरुरी हुन्छ। नेपालमा सेयर कारोबारको सुरुआतको समयमा संस्थाले सेयर जारी गर्दा अहिलेजस्तो बिक्री तथा निष्कासन प्रबन्धक कम्पनी र स्टक एक्सचेन्ज थिएनन्। दुवै कम्पनीले सेयर निष्कासन तथा बिक्री व्यवस्थापन आफैंले गरेका थिए। पुँजीबजार साँघुरो नै थियो। त्यस्तो बजारमा कुनै पनि संस्थाको प्रवेश भएन। सेयरका विषयमा जानकारी र प्रचारप्रसार नभएर वा माध्यम नभए पनि हुनसक्छ, पँुजीबजार चलायमान बन्न सकेको छैन। यो क्रम २६ वर्षसम्म रह्यो। जब २०२१ सालमा कम्पनी ऐन आयो, तब पहिलोपटक सरकारी ऋणपत्र पनि जारी भएको मानिन्छ। तर, त्यसै समयमा व्यवस्थित संयन्त्र र निकाय बन्न नसक्दा धितोपत्र कारोबार राम्ररी हुन सकेन।

जब देशको अर्थतन्त्र मजबुत बन्छ, यससँग जोडिएका हरेक क्षेत्र मौलाउँछन्। ‘पैसाले पैसा नै तान्छ’ भन्ने उखान छ। जति लगानी गरियो आम्दानी पनि लगानीअनुसारकै हुँदै जान्छ। लगानी बढे आम्दानी घट्दैन, यो आर्थिक क्षेत्रमा चल्तीको विश्वप्रसिद्ध नियम पनि हो। लगानी रकम भए लगानीका क्षेत्र नयाँ निस्कन्छन्। मानिसको सोच पनि नयाँ–नयाँ आउँछ। यसलाई व्यवस्थित गर्ने नियम र ऐन पनि नयाँ बन्दै जान्छन्। सेयरका सुरुआत भएको २६ वर्षपछि सरकारी ऋणपत्र जारी हुनु पनि यसकै उपज हो। नयाँ काममा समस्या पनि आउँछन्। काम गर्ने तरिका परिवर्तन र समस्याको चुरो समयमै बुझेर अघि बढ्दा त्यसका नयाँ रूप देखिन्छन्। त्यसको सकारात्मक प्रभाव समाजमा पर्दै जान्छ। अहिले सेयर कारोबारमा पनि सोही कुरा भइरहेको छ। पहिले सेयर भन्ने पनि नबुझ्ने धेरै नेपाली अहिले कारोबार गरेर राम्रो आम्दानी गरिरहेका छन्। हरेक कुरामा संगठित बनेका छन्।

मानिस समाजमा बस्ने र सामूहिक काम गर्ने भएकाले नै सेयरको महत्त्व बढेको हो। पहिले अनुहार हेरेर र आम्दानी, कारोबारलाई तौलिएर लगानी गर्न दिने चलन अहिले छैन। विश्वको कुनै पनि कुनामा रहे पनि नेपालीले लगानीको क्षेत्र हेर्न र बुझ्न पाउँछन्। आफूले छानेर लगानी गर्न पाउँछन्। सेयर खुलेको समयमा सेयर हाल्न बैंक नै धाउनुपर्ने अवस्था घट्दै छ। अनलाइनको जमानाले सेयरको महत्त्व र कारोबारलाई शिखर चुमाएको छ। यो सबै संगठित हुनुकै परिणाम हो। समूहमा गरे जे पनि सफल बन्छ भन्ने कुराको सफल उदाहरण हो।

सेयर क्षेत्रको समूहकै कुरा गर्दा २०३३ सालमा धितोपत्र खरिदबिक्री केन्द्र सेक्युरिटिज एक्सचेन्ज सेन्टरको स्थापना भएपछि नेपाली पुँजीबजार संगठित हुन सकेको हो। सरकारी ऋणपत्र तथा सार्वजनिक संस्थाको सेयर खरिदबिक्रीको अख्तियार प्राप्त सो केन्द्रको स्थापनापछि नेपालमा दोस्रो बजारको विकास भएको मान्न सकिन्छ। सुरुआतमै सबै कुरा सफल नहुने नियम यहाँ पनि लागू नै भयो। दोस्रो बजारको उल्लेख्य विकास हुने अपेक्षा गरे पनि केन्द्रले सोचेअनुरूप कार्य गर्न आवश्यक कानुनी तथा संस्थागत पूर्वाधार उपलब्ध थिएन। खुट्टा टेकेर उभिनुबाहेक कानुनको सहारामा दौडन केन्द्रलाई समस्या भयो। केन्द्रको भूमिका प्रभावकारी बनाउन २०४० सालमा धितोपत्र कारोबार ऐन आएपछि भने समस्याका धेरै गाँठो फुके। २०४३ सालमा ऐनको पहिलो संशोधन भए पनि पुँजीबजारमा अपेक्षित सुधारका संकेत देखिएनन्। केन्द्रले हार नमानेकै कारण आज सेयर क्षेत्रको पहिलो कारोबार मात्रै नभई दोस्रो बजार पनि उत्तिकै मौलाएको छ।

राजनीतिको प्रभाव हरेक क्षेत्रमा परेकै हुन्छ। जब राजनीति अस्थिर बन्छ, हरेक क्षेत्र अस्थिर नै हुन्छन्। २०४६ साल अघिसम्म सेयर क्षेत्रमा नागरिकले हात हाल्न पाउने सहज अवस्था थिएन। सेयर कम्पनीको कानुनी बाध्यताले लगानीकर्ता निश्चित खोज्नुपर्ने अवस्था छँदै थियो। यस विषयमा पर्याप्त ऐन, नियम र कानुन पनि बन्न सकेको थिएन। २०४६ पछि नेपालले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीतिले पुँजीबजारलाई गतिशील बनाउन ठूलो सहयोग पु¥यायो। पुरानो लयमा दौडने राजनीति परिवर्तन भयो। देशलाई अब्बल बनाउन विभिन्न आर्थिक गतिविधिको खोजी भयो। बाधा हुने ऐन, नियम र कानुन परिमार्जन भए आवश्यक ऐन बने। २०५० मा ‘धितोपत्र कारोबार ऐन २०४०’ को दोस्रो संशोधन भयो। यसले धितोपत्र खरिदबिक्री केन्द्रलाई हालको ‘नेपाल स्टक एक्सचेन्ज (नेप्से)’ मा रूपान्तरण ग¥यो। यो समयलाई सेयर क्षेत्रको फड्कोका रूपमा पनि लिन सकिन्छ।

ऐन संशोधनपछि नेप्से परिसूचक गणना गर्ने गरी २०५० पुस २९ देखि नियमित कारोबार सुरु भयो। धितोपत्र कारोबारको नियमन गर्ने स्वायत्त निकायका रूपमा नेपाल धितोपत्र बोर्ड पनि स्थापना भयो। यसले सेयर कारोबारको मुहार फे¥यो । सेयरको क्षेत्र र भविष्य उज्ज्वल बनायो । समयअनुसारको परिवर्तन, आवश्यक ऐन, नियम र कानुनको साथले नेपालमा सेयर कारोबारको अवस्थालाई अन्तर्राष्ट्रिय स्तरसम्मको बनाएको भन्न सकिन्छ। २०६३ सालमा सरकारले धितोपत्रसम्बन्धी ऐन २०६३ ल्याएपछि पुँजीबजार केही व्यवस्थित बन्यो। धितोपत्र बजार सञ्चालन नियमावली २०६४ आएपछि नेपालको पुँजीबजार तथा धितोपत्र कारोबारलाई निर्देशित गर्न र बाटो देखाउन सहज भएको मानिन्छ। ६६ कम्पनी सूचीकृत गरेर नेप्सेमा कारोबार सुरु भए पनि अहिले सयौं कम्पनी यहाँ सूचीकृत भइसकेका छन्। यो नेपालको अर्थतन्त्र सुधारको पाटोमा एउटा महत्त्वपूर्ण काम पनि हो।

अहिले नेप्सेमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, बिमा कम्पनी, होटल उत्पादनमूलक उद्योग, जलविद्युत् कम्पनी, व्यापार समूह, प्रिफर्ड स्टक, म्युचुअल फन्ड, दूरसञ्चार र चलचित्र विकास कम्पनीहरू पनि आबद्ध भएका छन्। २०६३ भदौबाट भने कम्प्युटरीकृत स्वचालित प्रणालीबाट धितोपत्र कारोबार भइरहेको छ। यसले कारोबार गर्नेलाई धेरै सहजता दिएको छ। पुँजीबजारको उच्चतम विकास भएका विश्वका धेरै देशमा धितोपत्रको कारोबार गर्ने अनौपचारिक बजार संयन्त्रको रूपमा तेस्रो बजार र चौथो बजार समेत अभ्यासमा छन्। नेपाल पनि यसतर्फको गतिमा अघि बढिरहेको छ। गतिलाई अझै तीव्र बनाउने चुनौती भने हामी माझ रहेकै छन्। पछिल्लो समयमा नेपाली पुँजीबजार आधुनिकतातर्फ गइरहेको छ। सहरमा मात्रै नभई सेयरका विषयमा अध्ययन गरेका गाउँगाउँमा लगानीकर्ता छन्। पहिलेको जस्तो सहर केन्द्रित बजार सोचेर अब हुँदैन।

समयको आवश्यकतासँगै निजीक्षेत्र भित्रिनुलाई गर्वका रूपमा लिन सक्नुपर्छ। हरेक क्षेत्रको बजार प्रतिस्पर्धी बन्नु पर्छ। प्रतिस्पर्धाले नयाँ कुराको विकास गर्छ र नयाँ कुराको खोजी पनि हुन्छ।
विश्वको प्रयोगलाई नियाल्दै नेपालमा पनि यसभित्रका सुधार गर्न अझै आवश्यक छ नै। सुधार क्रमशः हुने हो। कामले काम सिकाउँछ भनेझैं नयाँनयाँ योजना पँुजीबजारमा भित्रिनुपर्छ। अनलाइन ट्रेडिङको अझै विकास र धेरै गैरआवासीय नेपालीलाई बजारमा भित्र्याउन पहल गर्ने योजना बनाइनु अहिलेको आवश्यकता पनि हो। नेपालमा धितोपत्र कारोबारका लागि स्टक एक्सचेन्ज नेप्से छ। समयको आवश्यकतासँगै निजीक्षेत्र भित्रिनुलाई गर्वका रूपमा लिन सक्नुपर्छ। हरेक क्षेत्रको बजार प्रतिस्पर्धी बन्नु पर्छ। प्रतिस्पर्धाले नयाँ कुराको विकास गर्छ र नयाँ कुराको खोजी पनि हुन्छ। यस्तो क्षेत्रमा नयाँ सोच र मानसिकता बोकेका नेतृत्व आवश्यक हुन्छ। खुला बजार अर्थतन्त्रमा पुँजीबजारको कारोबारलाई प्रतिस्पर्धी बनाउन तथा आधुनिकीकरण गर्न निजी क्षेत्र चलायमान बन्नुपर्छ।

सेयर बजारप्रति आममानिसको चासो बढ्दै गएको छ। पछिल्लो समय सेयर बजारले कीर्तिमान पनि कायम गरिरहेको छ। अब यो क्रम घट्नु हुँदैन। सेयर लगानी गर्दा सर्वसाधारण पनि सचेत बन्नुपर्छ। कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरी लगानीकर्तालाई बिक्री गरिने भएकाले यस्तो कुरा भुल्नु हुँदैन। सेयरमा लगानी गरेबापत सेयरधनीहरूले प्रत्येक वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांश प्राप्त गर्ने गर्दछन्। कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ। आफूले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश सेयर हो। यति कुरा बुझेर मात्र सेयरमा हात हाल्नुपर्छ। सेयरले कसैलाई घाटा गर्दैन।

Related News

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजारभन्दा कम
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजारभन्दा कम
  • २९ कार्तिक २०७८, सोमबार

देशभर १५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ९१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५४ तथा एन्टिजेन...

पुनःएकीकरण योजना सरकारको प्राथमिकतामाः मन्त्री श्रेष्ठ
पुनःएकीकरण योजना सरकारको प्राथमिकतामाः मन्त्री श्रेष्ठ
  • २९ कार्तिक २०७८, सोमबार

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल–कतार संयुक्त कार्यसमिति वैठकको तयारीबारे सरोकारवालाहरूसँग छलफल गरे । शुक्रबार काठमाडौंमा भएको छलफलमा...

जनगणनाको तथ्यांक प्रशोधन पुसदेखि : जनसंख्या तीन करोड नजिक पुग्ने अनुमान
जनगणनाको तथ्यांक प्रशोधन पुसदेखि : जनसंख्या तीन करोड नजिक पुग्ने अनुमान
  • २९ कार्तिक २०७८, सोमबार

राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य सकिएसँगै अब तथ्यांक प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको तथ्यांक विभागले बताएको छ ।...

TOP