१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

आफैंलाई भोट हाल्न पाउँदैनन् यी १४ उम्मेदवार

आफैंलाई भोट हाल्न पाउँदैनन् यी १४ उम्मेदवार

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका चर्चित १४ नेता आफैंलाई भोट हाल्नबाट वञ्चित हुने भएका छन्।

मतदाता नामावली रहेको स्थानबाटै मताधिकार प्रयोग गर्नुपर्ने कानुनका कारण उनीहरुले आफैंलाई भोट हाल्न नपाउने भएका हुन्।

मतदाता नामावली रहेको स्थानबाट फरक स्थानबाट उम्मेदवारी दिएकाले कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमका शीर्ष नेताले आफैंलाई भोट हाल्न पाउँदैनन्।

प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ३८ को उपदफा १ मा भनिएको छ- ‘कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावली नाम दर्ता भएका मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सोही वडाको निजलाई तोकिएको मतदान केन्द्र मतदान गर्नुपर्नेछ।’

कांग्रेसका ४ नेता

आफैंलाई मतदान गर्न नपाउने कांग्रेसका चार नेता छन्।

अर्थमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्की, प्रधानमन्त्रीपत्नी आरजु देउवा र नेता शंकर भण्डारीले आफैंलाई भोट हाल्न पाउँदैनन्। २३ वर्षपछि राजनीतिमा फर्किएका कांग्रेस नेता दमननाथ ढुंगानाले पनि आफैंलाई मत हाल्न पाउँदैनन्।

भोजपुरमा मतदाता नामावली रहेका अर्थमन्त्री कार्की सुनसरी ४ बाट चुनावी मैदानमा छन्। त्यसैले उनले आफूलाई भोट हाल्न पाउँदैनन्।

यस्तै, डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असीग्राममा मतदाता नामावली दर्ता गराएकी आरजु राणा कैलाली ५ बाट चुनावी मैदानमा छिन्। उनी पनि आफूलाई मत हाल्न पाउँदिनन्।

यस्तै, कांग्रेसकै अर्का नेता शंकर भण्डारी यो निर्वाचनमा तनहुँ २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्। भण्डारीको मतदाता नामावली भानु नगरपालिका तनहुँ १ मा छ।

उता दमननाथ ढुंगानाको मतदाता नामावली काठमाडौं क्षेत्र नम्बर २ मा रहे पनि उनी भक्तपुर २ बाट चुनावी मैदानमा छन्।

एमालेका ३ नेता

आफैंलाई भोट हाल्न नपाउने एमाले नेताहरुमा अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र भानुभक्त ढकाल छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिकामा मतदाता नामावली दर्ता गराएका ओली झापा ५ बाट प्रतिस्पर्धामा छन्। मतदाता नामावली रौतहटको गौर नगरपालिकामा रहेको एमालेका अर्का नेता नेपालले काठमाडौं २ लाई आफ्नो चुनावी क्षेत्र बनाएका छन्।

तेह्रथुममा मतदाता नामावली रहेको भानुभक्त ढकाल भने मोरङ क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा छन्।

माओवादीका ४ नेता

आफैंलाई भोट हाल्न नपाउने माओवादी केन्द्रका नेता ४ जना छन्। विनाविभागीय मन्त्री रहेका कृष्णबहादुर महराको मतदाता नामावली रोल्पामा छ। उनी दाङ २ बाट चुनावी मैदानमा छन्।

मतदाता नामावली मनाङको नासोङ् गाउँपालिकाबाट बनाएका देव गुरुङ लमजुङबाट प्रतिस्पर्धामा छन्। काठमाडौं ६ मा मतदाता नामावली दर्ता गराएका हितमान शाक्य काठमाडौँ १० बाट चुनावी मैदानमा छन्। रुकुमको पश्चिम क्षेत्रमा मतदाता नामावली भएका नेता अनिल शर्मा काठमाडौं १ बाट उम्मेदवार भएकाले आफैंलाई भोट हाल्न पाउनेछैनन्।

मधेसकेन्द्रित दलका ३ नेता

आफैं उम्मेदवार बनेर आफैंलाई मत हाल्न नपाउनेको सूचीमा मधेसवादी दलका तीन नेताहरु छन्।

राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आफैंलाई मत हाल्न वञ्चित हुनेछन्।

मतदाता नामावली सर्लाहीको बलरा नरपालिकामा रहेका महन्थ ठाकुरको उम्मेदवारी महोत्तरी ३ बाट छ। यस्तै, सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मतदाता रहेका राजेन्द्र महतो धनुषा–३ बाट प्रतिस्पर्धामा छन्। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि आफैंलाई मतदान गर्न पाउने छैनन्।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १५ मंसिर २०७४, शुक्रबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १५ मंसिर २०७४, शुक्रबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १५ मंसिर २०७४, शुक्रबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP