१६ मंसिर २०७८, बिहीबार
December 2, 2021, Thursday

धुर्मुस सुन्तलीलाई अझै २ करोडको अपुग

धुर्मुस सुन्तलीलाई अझै २ करोडको अपुग

रौतहट चन्द्रपुर–८ का ४७ घर बाढीपीडित परिवारलाई हास्य कलाकार दम्पत्ति सीताराम कट्टेल ‘धुर्मुस‘ र कुञ्जना घिमिरे ‘सुन्तली’ले एकीकृत बस्ती बनाउँदैछन् ।

गत साउन अन्तिम साता आएको बाढीले विध्वंश मच्चाएको रौतहट सन्तपुरका विपन्न एवम् दलित परिवारका लागि उनीहरूले धुर्मुस–सुन्तली फाउन्डेशनबाट नमुना एकीकृत बस्ती बनाउन थालेका हुन् । असोज २८ गतेबाट निर्माण प्रारम्भ गरिएको सन्तपुर नमुना बस्तीको ८० प्रतिशत निर्माण कार्य पूरा भएको धुुर्मुसले जानकारी दिए ।

माघ २४ गते हस्तान्तरण

माघ २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य लिएकाले बस्ती सोचेभन्दा चाँडो निर्माण भइरहेको धुुर्मुसको दाबी छ । ५ करोड ९५ लाख अनुमानित लागतको बस्ती बनाउन २ सय ६१ कामदार खटिएका छन् । “बिहान ६ः१५ बजेदेखि नै काम सुरू हुन्छ । राति अबेरसम्म कार्यक्षेत्रमै हुन्छौँ,” उनले भने ।

तीन–चार दिनयता चिसो बढेकाले काम गर्न असहज भए पनि बस्ती हस्तान्तरणको मिति नजिकिएकाले चिसोका बाबजुत काम भइरहेको उनले बताए ।

यस्तो बन्दैछ बस्ती

४७ वटा घर, एउटा बालउद्यान, एउटा भ्यू टावर, मन्दिर, सामुदायिक भवन, अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचना भएकाले बस्ती नमुनामात्र नभएर अर्थपूर्ण रहेको उनको जिकिर छ । त्यसबाट २८२ जनसंख्या लाभान्वित हुनेछन् ।

वर्र्षौंदेखि पीडामा रहेका, पुस्तैनी दुःखमा जकडिएका समुदायको विकासका निम्ति बस्ती कोशेढुंगा सावित भएको र यसले विकासको लहर ल्याउन मद्दत पुर्याएको उनको दाबी छ ।

पछिल्लो समय तराईमा चिसो बढेको र गत वर्षामा बाढी पसेका बस्तीका पीडितहरू मर्कामा परे पनि कसैको ध्यान नगएको उनको दुःखेसो थियो ।
“पछिल्लो समय बाढीको चपेटामा परेकाहरू ओझेलमा परेका छन् । बाढी पसेका बस्तीका बालबालिकाहरू चिसोले कठ्यांग्रिएका छन् । तिनको आङमा एकसरो लुगा पनि छैन, सबैको ध्यान त्यता जानुपर्छ,” उनले बाह्रखरीसँग भने ।

अझ २ करोड अपुग

५ करोड ९५ लाख लागत अनुमानित गरिए पनि त्यो भन्दा कममै बस्ती बनाउने प्रयास गरिएको धुर्मुसको भनाइ छ । “गिटी, बालुवा, सिमेन्टी खरिदमा म आफैँ खटिएको छु । त्यस्तै परे आफैँ बोक्छु, लागत घटाउने प्रयत्न गरेको छु,” उनले भने ।

तथापि बस्ती बनाउन रकम अपुग भएको उनको गुनासो छ । पछिल्लो समय मुलुक निर्वाचनमा होमियो । बाढी लगत्तै सुरू भएको निर्वाचनको माहोल अझै चिसिएको छैन । त्यसैले बस्तीतिर मानिसको ध्यान कम जाने र रकमको जोहो कम हुने हो कि भन्ने चिन्ता पनि थियो उनलाई । तर, सहयोगीहरूले बस्तीमै पुगेर रकम हस्तान्तरण गरिरहेकाले हस्तान्तरणको मितिसम्म रकम जुगाड हुनेमा उनी ढुक्क छन् ।

“अझै २ करोड अपुग छ तथापि रकम संकलन हुनेमा म विश्वस्त छु,” उनले थपे ।

हालसम्म ४७ वटै घर निर्माण सम्पन्न भइसकेको छ भने छानामा जस्तापाता हाल्न बाँकी छ । त्यस्तै, मन्दिर र भित्रि बाटो निर्माणको काम भइरहेकाले ४४ दिनभन्दा अगावै बस्ती निर्माण पूरा हुनेमा ढुक्क छन् उनी ।

असोज २८ गतेयता धुर्मुस निरन्तर बाढी पीडितको सेवामा खटिएका छन् । धुर्मुस सुन्तली फाउन्डेशनको यो चौथो परियोजना हो । यसअघि ०७२ सालमा काभ्रे डाँडा गाउँका भूकम्पपीडित २० घर परिवारलाई एकीकृत बस्ती बनाएको थियो । त्यस्तै ०७३ सालमा सिन्धुपाल्चोक गिरानचौरका ६५ घर भूकम्पपीडित परिवारलाई एकीकृत नमुना बस्ती, ०७३ सालमै महोत्तरी, बर्दिबासका ५४ घर मुसहर समुदायका लागि एकीकृत नमुना बस्ती पनि फाउन्डेसनले बनाइसकेको छ ।

त्यस्तै फाउन्डेसनले ५ अर्ब अनुमानित लागत रहेको ‘विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नमुना नेपाल’ परियोजना पनि ललितपुरको लेलेमा सुरू गरिसकेको छ ।

Related News

बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
  • १२ पुष २०७४, बुधबार

चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।आज राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान...

सर्वोच्च अदालतमा मुद्दाको पेसी गोला प्रथाद्वारा
सर्वोच्च अदालतमा मुद्दाको पेसी गोला प्रथाद्वारा
  • १२ पुष २०७४, बुधबार

नेपालको न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतमा...

विकासका लागि विशेष कानूनको आवश्यकता  : अर्थमन्त्री शर्मा
विकासका लागि विशेष कानूनको आवश्यकता : अर्थमन्त्री शर्मा
  • १२ पुष २०७४, बुधबार

। अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विकासका अवरोध चिर्न विकास कानुन निर्माणको काम शुरु भएको जानकारी गराएका छन् । आर्थिक पत्रकार...

TOP