अब कफिखेतीको पनि बीमा गर्न पाइने भएको छ । बीमा समितिले ‘कफिखेती बीमालेख’ लागू गरेपछि सम्बद्ध व्यवसायी तथा किसानलाई उक्त खेतीको बीमा गर्ने बाटो खुलेको हो ।
समितिले ‘बाली तथा पशुपक्षी बीमा निर्देशन–२०६९’ अनुसार उक्त बीमालेख लागू गरेको हो । समितिले उक्त बीमालेख सोमवार नै जारी गरिसकेको छ ।
समितिले कृषि तथा पशुबीमाअन्तर्गत विभिन्न पोलिसी ल्याउँदै आएको छ । यस क्रममा कफिखेतीको पनि बीमा गर्न मिल्ने गरी नयाँ पोलिसी ल्याइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । कफिखेतीमा हुने अधिकांश जोखिमको रक्षावरण हुने गरी बीमालेख तयार गरिएको उनले बताए ।
अब निर्जीवन बीमा कम्पनीहरूले यसै पोलिसीको आधारमा रहेर कफिखेतीको बीमा गर्न सक्ने समितिको भनाइ छ ।
यस बीमालेखले कफिखेतीमा आगलागी, हुरीबतास, आँधीबेहरी, तुफान, बाढी, डुबान, असिना, हिउँवा तुसारो, खडेरी चट्याङ, पहिरो, भूकम्प, प्राकृतिक प्रकोप, कीरा तथा रोगबाट हुने नोक्सानीको रक्षावरण गर्ने बताइएको छ । साथै, यस बीमालेखमा सम्बद्ध व्यवसायी तथा किसानको पनि अतिरिक्त रूपमा रू. २ लाख बराबरको दुर्घटना बीमा हुने व्यवस्था पनि गरिएको छ ।
तर, कफिखेतीमा अप्रत्यक्ष रूपमा हुने क्षति, अधिकारप्राप्त निकायबाट भएको क्षतिको बीमाले रक्षावरण गर्ने छैन । विकिरणयुक्त पदार्थ, आणविक, रासायनिक तथा जैविक हतियार, युद्ध वा युद्धसरहको अवस्थाबाट हुने नोक्सानीमा पनि बीमाको दायित्व नहुने बताइएको छ ।
एकै क्षेत्रफलमा लगाइएको कफीको आंशिक रूपमा बीमा गर्न भने पाइने छैन । त्यसरी लगाइएको सबै कफीको बीमा गर्नुपर्ने बताइएको छ ।
यसमा कफीको बोट संख्या, प्रतिबोटको मूल्य र उत्पादनको आधारमा समग्र खेतीको बीमांक रकम गणना गरिने छ । त्यसरी गणना गरिने बीमांकको ५ प्रतिशतका दरले बीमाशुल्क निर्धारण हुने बताइएको छ । यद्यपि, यसमा सरकारबाट दिइने अनुदान रकम कटौती गरेर बीमाशुल्क तिर्न सकिने छ । हाल सरकारले कृषिबीमामा ८० प्रतिशत अनुदान दिँदै आएको छ । त्यसअनुसार सम्बद्ध व्यवसायीले २० प्रतिशत बीमाशुल्क तिरे पुग्ने बताइएको छ । यद्यपि व्यक्तिगत दुर्घटना बीमाका लागि थप रू. ५०० रुपैयाँ प्रिमियम तिर्नुपर्ने बताइएको छ ।
कफिखेतीको कायम बीमांक रकम भने सम्बद्ध जिल्लाको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड तथा तोकिएको निकायबाट प्रमाणित गराउनुपर्ने बताइएको छ । यस्तै, यस्तो बीमा गर्न व्यवसायी तथा किसानले तोकिएको प्राविधिक मापदण्डमा रहेर कफिखेती गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
यदि, खेतीमा बीमायोग्य क्षति भएमा सम्बद्ध व्यवसायीले ३ दिनभित्र कुनै पनि माध्यमबाट सम्बद्ध कम्पनीमा सूचना दिनुपर्ने छ । त्यसपछि बल्ल दाबीप्रक्रिया अगाडि बढ्ने बताइएको छ ।
बीमितबाट पूर्णरूपमा दाबी कागज परेपछि कम्पनीले ७ दिनभित्र नै क्षति मूल्यांकनकर्ता खटाउनुपर्छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर दाबी भुक्तानी गर्नुपर्ने बताइएको छ । मूल्यांकनकर्ताले मूल्यांकनको प्रतिवेदन बुझाएको ३५ दिनभित्र कम्पनीले दाबी भुक्तानी दिइसक्नुपर्ने बताइएको छ ।source
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...