२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

अनारका आश्चर्यजनक फाइदा

अनारका आश्चर्यजनक फाइदा

अनारलाई सदियौंदेखि औषधिका रुपमा लिने गरिएको छ । नेपाली समाजमा हेर्ने हो भने, बिरामी भेट्न जाँदा लाने कोसेलीमा अनार पहिलो स्थानमै आउँछ । वैज्ञानिक ज्ञानको अभावमै भए पनि नेपालीहरुमाझ चलिआएको यो चलन धेरै हदसम्म सकारात्मक छ । हालै भइरहेका विभिन्न वैज्ञानिक अनुसन्धानले अनारलाई ब्याक्टेरिया विनासक, भाइरस बिनासक र फंगी (ढुसी र त्यस्तै प्रजातिहरू) बिनासकका रुपमा साबित गरिसकेको छ । साधारणतया अनारको सबै भाग (फल, जरा, बोक्रा, फूल) औषधिका रुपमा प्रयोग गर्न सकिन्छ। यसमा पाइने अनेक तत्वले विभिन्न प्रकारका रोग निवारणमा मद्दत गर्न सक्छ ।

क्यान्सरः अनारमा प्रचूर मात्रामा विभिन्न थरिका एन्टिअक्सिडेन्ट हुने भएकाले यसले प्रोस्टेट, स्तन क्यान्सर लगायत विभिन्न प्रकारको क्यान्सर हुनबाट बचाउन सक्छ । त्यस्तै, क्यान्सर बन्ने तरिकामा बाधा ल्याउनुका साथै बनिसकेको ट्युमरको बिनास गर्न पनि मद्दत गर्छ ।

मुटु रोग: अनारलाई मुटुको सहयोगीका रुपमा लिन सकिन्छ । यसमा मुटुलाई असर गर्ने कोलेस्टेरोल हुँदैन । साथै शरीरमा रहेको नराम्रो कोलेस्टेरोलाई मुटुमा हानी गर्न नसक्ने बनाउन पनि यसले भूमिका खेल्छ । त्यस्तै, अनारले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रगत सञ्चालन सहज गराउने भएकाले मुटु रोगको जोखिम घटाउँछ ।

हड्डीको रोगः अनारमा पाइने ‘फ्लाभेनोल’ भन्ने तत्वले हड्डी खिइने समस्या घटाउनुका साथै बाथ रोगबाट बचाउन सक्ने वैज्ञानिकहरुको दाबी छ । यद्दपि यसमा पर्याप्त मात्रामा अध्ययन भने भएको छैन ।

चिनी रोगः अनार भन्ने बित्तिकै चिनी रोगीले खानु हुँदैन भन्ने बुझाइ छ । तर, अनारमा चिनीका साथै फाइबर (रेशा) र एन्टिअक्सिडेन्ट पनि प्रसस्त मात्रामा हुने भएकाले रगतमा चिनीको मात्रा सुस्त मात्रामा बढाउने विश्वास गरिन्छ । अनारले चिनीरोगसँगै देखापर्ने अन्य समस्याको निराकरणमा पनि मद्दत गर्ने भएकाले चिनीरोग हुँदा अनार खानु राम्रो मानिन्छ । चिनीरोगीले एकपटक डाक्टर अथवा डाइटिसियनको सल्लाहमा कति मात्रामा अनार खाने भन्ने निर्धारण गर्नु वुद्धिमानी हुन्छ । त्यसैगरी, अनार खाँदा जुसको सट्टा दाना खानु उपयुक्त हुन्छ । यदि जुस खानु पर्ने बिरामी भए घरमै सफासँग बनाएको जुस खानु राम्रो हो । बजारिया जुसमा चिनीको मात्रा अधिक हुन्छ ।

अल्जाइमरः अनारले मस्तिष्कलाई आवश्यक पोषक तत्व प्रदान गर्ने भएकाले अल्जाइमर रोग लाग्नबाट बचाउनुका साथै दिमाग तेजिलो बनाउन मद्दत गर्छ ।
सुन्दर छालाः अनारमा पाइने भिटामिन सी सँगसँगै अन्य एन्टिअक्सिडेन्टले छाला सुन्दर राख्न मद्दत गर्छ।

यसका अलावा अनारको बोक्रामा पाइने तत्वहरुले दाँतको समस्या हटाउन मद्दत गर्छ । साथै, विभिन्न रोगीमा ब्याक्टेरिया र फंगीको विकाश हुन नदिएर थप समस्या बढ्न दिँदैन । यसका लागि अनारको बोक्रालाई सुकाएर धुलो पारेर खान सकिन्छ ।

१०० ग्राम अनारमा पाइने पोषक तत्वहरु
प्रोटिन– १.६ ग्राम
चिल्लो– ०.१ ग्राम
शक्ति– ६५ किलोक्यालोरी
क्याल्सियम– १० मिलिग्राम
फस्फोरस– ७० मिलिग्राम
आइरन– १.७९ मिलिग्राम
भिटामिन सी– १६ मिलिग्राम
यीबाहेक अनारमा फाइबर र भिटामिन बि पनि प्रसस्त मात्रामा पाइन्छ ।

ध्यान दिनुपर्ने कुरा
अनारमा पाइने तत्वहरुले विभिन्न औषधिसँग प्रतिक्रिया गर्ने भएकाले कुनै पनि प्रकारको औषधि प्रयोग गर्दा डाक्टरको सल्लाह लिऊँ ।
साधराणतया कोलेस्टेरोल घटाउने औषधिहरु, रक्तचापको औषधि र मिर्गौला सम्बन्धी रोगमा प्रयोग हुने केही औषधि सेवन गर्नुपर्दा डाक्टरको सल्लाह दिनुपर्छ । त्यसैगरी, रगत पातलो गर्ने औषधि (वार्फारिन) प्रयोग गरेको खण्डमा पनि अनारको प्रयोग चिकित्सकको सल्लाहमा गर्नुपर्छ ।

Related News

जसले ९१ पटक रक्तदान गरे
जसले ९१ पटक रक्तदान गरे
  • १५ मंसिर २०७४, शुक्रबार

विराटनगरका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९१औँ पटक रक्त्तदान गरेका छन्। विराटनगर ट्राफिकचोकमा संगीता मेडिकल हल नामको औषधि पसल सञ्चालन गर्दै...

१०७ वर्षीया कली र ८७ वर्षीया भद्रमायाको लोभलाग्दो सहकार्य
१०७ वर्षीया कली र ८७ वर्षीया भद्रमायाको लोभलाग्दो सहकार्य
  • १५ मंसिर २०७४, शुक्रबार

दलानमा बोराको धागो निकाल्दै गरेकी उनको अनुहार चाउरी परको छ । मुखमा दाँत छैन । जोडले बोल्दा मात्र सुन्ने ।...

गुणज्ञ नेपालद्वारा सरकारी विद्यालयका वञ्चित विद्यार्थीहरूमा आईसीटी सामग्री सहयोग
गुणज्ञ नेपालद्वारा सरकारी विद्यालयका वञ्चित विद्यार्थीहरूमा आईसीटी सामग्री सहयोग
  • १५ मंसिर २०७४, शुक्रबार

गुणज्ञ नेपाल काठमाडौँ ( पिङ्गलास्थान )ले मन्थली नगरपालिका–०८, रामेछापमा रहेको सरकारी विद्यालय जगदम्बा आधारभूतमा सोमबार स्टेशनरी सामानहरू तथा विद्यार्थीको सिकाईमा...

TOP