अमेरिका र चीनबीच भएको वार्तापछि दुई देशका पत्रकारहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवाको खबर आज चर्चामा रह्यो। राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपङबीचको भर्चुअल वार्तापछि दुई देशले यस्तो निर्णय गरेको थियो। यता भारतको नयाँ दिल्लीसँगै पाकिस्तानको लाहोरमा वायु प्रदुषण नाजुक अवस्थामा पुगेको खबर पनि चर्चामा रह्यो। कोभिड चक्कीलाई अनुमति दिन फाइजर सहमत भएपछि न्युन र मध्य आय भएका मुलुकमा उत्पादन र वितरण गर्न सहज हुने अनुमान गरिएको छ। त्यस्तै अर्मानिया र अजरबैजानबीच युद्ध अन्त्यको घोषणा भए पनि रुसले अजरबैजानलाई सम्झौताबाट पछि हट्न दबाब दिएको थियो। लगत्तै त्यहाँ पुनः लडाइँ सुरु भएको बताइएको छ। प्रस्तुत छ, बुधबार चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू:
इजिप्टमा ४५ सय वर्ष पुरानो मन्दिर फेला
कायरो: पुरातत्वविद्हरुले इजिप्टमा करिब ४ हजार ५ सय वर्ष पुरानो मन्दिर फेला पारेका छन्। दशकौं लामो उत्खननछि पुरातत्वविद्हरुले राजधानी कायरोको दक्षिणी भेग आबु गोराव क्षेत्रमा प्राचीन मन्दिर फेला पारेका हुन्।
सो क्षेत्रमा रहेका ६ वटा सूर्य मन्दिरमध्ये आफूहरुले हालै ४५ सय वर्ष पुराना चारवटा सूर्य मन्दिर फेला पारेको पुरातत्वविद्हरुले बताएका छन्। हालै फेला परेका मन्दिरहरु इजिप्टका पहिलो शासकले करिब ४ हजार ५ सय वर्षअघि निर्माण गरेको हुनसक्ने विश्वास उनीहरुको छ।
पुरातत्वविद्हरुले सो उत्खनन् एक दशकको सबैभन्दा महत्वपूर्ण भएको उल्लेख गरेका छन्। सो मन्दिर पत्ता लगाउन पुरातत्वविद्हरुले विगत ५० वर्षदेखि सो क्षेत्रमा उत्खनन् गर्न थालेको बताइएको छ।
चीन र अमेरिकाले पत्रकारमाथि लगाएको प्रतिबन्ध हटायो
बेइजिङ: चीन र अमेरिकाले एकअर्काका पत्रकारमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। दुवै मुलुकले एकअर्काका पत्रकारमाथि लगाएको यात्रा र भिसा प्रतिबन्ध हटाएको हो।
चिनियाँ राष्ट्रपति सी जिङपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच मंगलबार भएको तीन घण्टा लामो भर्चुअल वार्तापछि दुवै मुलुकले पत्रकारमाथि लगाएको प्रतिबन्ध हटाएका हुन्।
सो निर्णयपछि दुवै मुलुकका पत्रकारहरुले स्वतन्त्ररुपमा एकअर्काको मुलुक भ्रमण गर्न पाउने भएका छन्। चीन र अमेरिकाले पत्रकारको भिसा समयावधि तीन महिनादेखि १ वर्षसम्म थप गर्न पाउने छन्।
करिब एक वर्ष लामो कठिन वार्तापछि चीन र अमेरिकाले सो निर्णय लिन सफल भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। यसअघि चीन र अमेरिकाले एक अर्को मुलुकका पत्रकारहरुलाई आ–आफ्नो मुलुक प्रवेशमा रोक लगाएका थिए।
वायु प्रदुषणले लाहोर र दिल्लीको अवस्था नाजुक
लाहोर: बढ्दो वायु प्रदुषणका कारण पाकिस्तानी शहर लाहोर र भारतको राजधानी नयाँ दिल्लीको अवस्था नाजुक बनेको छ। गएको हप्तादेखि लाहोर र नयाँ दिल्लीमा बढेको वायु प्रदुषण बुधबारसम्म नाजुक बनेको हो।
स्वीस प्रविधि आइक्युएयर कम्पनीका अनुसार बुधबार लाहोरको वायु गुणस्तर मापन ३५० पुगेको छ भने नयाँ दिल्लीको ३९० पुगेको छ। विश्व स्वास्थ्य संगठनले वायु गुणस्तरले सो तह पार गर्नुलाई निकै खतरनाक मान्दै आएको छ।
खराब वायु प्रदुषणले बालबालिकामा आँखा र स्वासप्रश्वास समस्या देखिएको भन्दै लाहोरका बासिन्दाले वायु प्रदुषण रोक्न त्यहाँको सरकारसमक्ष आग्रह गरेका छन्। यद्यपि, सरकारले हालसम्म कुनै कदम नचालेको आलोचना स्थानीयले गरेका छन्।
यता दिल्ली सरकारले भने वायु प्रदुषणले गम्भीर अवस्था पार गरेपछि सबै शैक्षिक संस्था अनिश्चितकालका बन्द गरेको छ भने राज्यबाट दिल्ली प्रवेश गर्ने सवारी साधनमा रोक लगाएको छ। कर्मचारीहरुलाई घरबाटै काम गर्न, विभिन्न इन्धनबाट चल्ने अनावश्यक सवारी साधन नचलाउन, निर्माण कार्य रोक्न र दिल्ली वरिपरिका पावर प्लान्ट तत्कालका लागि बन्द गर्न सरकारले निर्देशन दिएको छ।
करिब २ करोड ५० लाख जनसंख्या भएको भारतको नयाँ दिल्ली र करिब १ करोड १० लाख जनसंख्या भएको पाकिस्तानको लाहोर संसारका सबैभन्दा बढी वायु प्रदुषित शहर हुन्।
कोभिड चक्कीलाई अनुमति दिन फाइजर सहमत
न्युयोर्क: कोभिड १९ विरुद्धको चक्कीलाई अनुमति दिन विशाल औषधि कम्पनी फाइजर सहमत भएको छ। कोभिडविरुद्ध प्रभावकारी मानिएको चक्की न्युन र मध्य आय भएका मुलुकमा उत्पादन र वितरण गर्नमा फाइजर सहमत भएको हो।
ऋमेरिकी कम्पनी र संयुक्त राष्ट्रसंघीय स्वास्थ्य समूह मेडिकल प्याटेन्ट पुल (एमपीपी)ले कोभिडविरुद्धको खाने चक्कीलाई अनुमति दिने सम्झौतामा हस्ताक्षर गरेका छन्। खाने चक्कीले अनुमति पाएसँगै एसिया र अफ्रिकालगायत विभिन्न ९५ मुलुकमा वितरण गरिने बताइएको छ। कोभिडविरुद्धको खोप निर्माता कम्पनी फाइजरले चाडै नै चक्कीको उत्पादन र वितरण सुरु गर्ने बताएको छ।
यसअघि फाइजर कम्पनीले कोभिडविरुद्धको लडाईँमा खाने चक्की परीक्षण गरेको थियो। सो परीक्षणमा खाने चक्की निकै प्रभावकारी रहेको निष्कर्ष निकालेको थियो।
निकारागुआका राष्ट्रपति र अधिकारीहरुलाई अमेरिका प्रवेशमा रोक
वासिङटन: संयुक्त राज्य अमेरिकाले निकारागुआका राष्ट्रपति, उपराष्ट्रपती र उनीहरुका श्रीमतीसहित अन्य सरकारी अधिकारीहरुलाई अमेरिका प्रवेशमा रोक लगाएको छ। राष्ट्रपति डेनियल ओर्टेगा, उनकी पत्नी रोजारियो मुरिल्लोसहित सरकारका अन्य अधिकारीलाई अमेरिका प्रवेशमा रोक लगाएको हो।
अन्तर्राष्ट्रिय रुपमा खारेज गरिएको अवैध चुनावपछि उनीहरुलाई अमेरिका प्रवेशमा रोक लगाइएको बताइएको छ। नाभेम्बर ७ को चुनावअघि निकारागुआका अधिकारीहरुले करिब ४० भन्दा बढी विपक्षी दलका प्रतिनिधिलाई हिरासतमा लिएका थिए। विपक्षी नेताहरुलाई हिरासतमा राखेर राष्ट्रपति ओर्टेगाले आफू र आफू निकट व्यक्तिले चुनाव जितेको घोषणा गरेका थिए।
उनीहरुले अलोकतान्त्रिक पद्धतिबाट हासिल गरेको जित अवैध, औचित्यहीन भएको र त्यहाँका नागरिकहरुको अधिकारमाथि हनन गरेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्। त्यस्तै बेलायत र क्यानडाले पनि उनीहरुमाथि प्रतिबन्धको घोषणा गरेका छन्।
क्यानडामा शताब्दीकै विनाशकारी आँधी
ओट्वाः पश्चिमी क्यानडाको व्यस्त पोर्ट भ्यानकुभरमा विनाशकारी आँधी आएको छ। मंगरबार राति सो आँधी आएको अधिकारीहरुले बताएका छन्।
आँधीका कारण एक जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको रोयल क्यानडियन प्रहरीले बताएको छ। आँधीपछि आएको बाढी र पहिरोका कारण सो क्षेत्रको यातायात र विद्युत् सेवा अवरुद्ध भएको अधिकारीहरुले बताएका छन्।
करिब २ करोड ५० लाख जनसंख्या भएको सो क्षेत्रमा आँधीपछि हजारौं मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ। सो आँधी शताब्दीकै विनाशकारी रहेको प्रान्तीय सरकारका यातायात मन्त्री रोब फिल्मिङले बताएका छन्। सो आँधी अझै केही दिनसम्म रहने त्यहाँको मौसम विभागले अनुमान गरेको छ।
सीमामा भएको झडपमा ७ अजरबैजान सैनिक मारिएको दाबी
बाकुः पूर्व सोभियत युनियनको सदस्य मुलुक अजरबैजानले आफ्ना सात सैनिक मारिएको दाबी गरेको छ। अजरबैजानको रक्षा मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै अर्मानिया र अजरबैजानको सीमामा भएको दोहोरो झडपमा सात सैनिक मारिएको दाबी गरेको हो।
रक्षा मन्त्रालयद्धारा जारी विज्ञप्तीअुसार सीमा क्षेत्रमा मंगलबार भएको दोहोरो भिडन्तमा ७ अजरबैजान सैनिक मारिइका छन् भने अन्य १० घाइते भएका छन्।
अर्मानिया र अजरबैजानले मंगलबार बिहान आफ्नो सीमा क्षेत्रमा जारी तनाव बन्द गर्ने सम्बन्धमा सहमति जनाएका थिए। तर रुसले लगत्तै सो सम्झौताबाट अजरबैजानलाई पछि हट्न दबाब दिएपछि दुवै पक्षबीच मंगलबार साँझ लडाईँ सुरु भएको थियो।
इक्वेडरको दंगापछि सेना प्रमुखहरुद्वारा राजीनामा
क्वैटोः इक्वेडरको कारागारमा भएको दंगापछि त्यहाँका सेना प्रमुखहरुले संयुक्तरुपमा राजीनामा दिएका छन्। पछिल्लो समय इक्वेडरको कारागारमा लागुऔषध तस्करबीच भएको भएको भयानक दंगापछि सेना प्रमुखहरुले राजीनामा दिएका हुन्।
केही दिनअघि गायाकिल कारागारमा भएको दंगामा ६८ कैदीको मृत्यु भएपछि सेना प्रमुखहरुले हालै राजीनामा दिएको इक्वेडरका राष्ट्रपति गुइलेर्मो लास्सोले बताएका छन्। उनका अनुसार संयुक्त सैन्य बलका कमान्डर जर्ज क्याब्रेरा र एसएनएआई प्रिजन्स एजेन्सी प्रमुख बोलीभार गार्जोनले संयुक्त राजिनामा दिएका हुन्।
राष्ट्रपतिले दुवैको राजीनामा स्वीकृत गरेको बताएका छन्। गएको सेप्टेम्बरमा गायाकिल कारागारमा ड्रग्स कार्टेल समूहबीच भएको दंगा भड्किदा १९० कैदिको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए। सोही कारागारमा केही दिनअघि पुनः हिंसा भड्किदा ६८ कैदीको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए।
इक्वेडरको कारागारमा भएको हिंसामध्ये सो हिंसा इतिहासकै खराब रक्तपातको चिनिएको भन्दै राष्ट्रपतिले संकटकालको घोषणा गरेका थिए। हिंसापछि देशभरिका सेना र प्रहरी घटनास्थलमा पठाइएको थियो। इक्वेडरको कारागारभित्र विभिन्न अपराधिक समूहबीच दंगा हुँदै आएको छ।
इथियोपियामा आपत्कालीन घोषणापछि हजारौं पक्राउ
आदिस आवावाः इथियोपियामा दुई हप्ताअघि आपत्कालीन अवस्था घोषणा गरेपछि करिब १ हजार मानिस पक्राउ परेको संयुक्त राष्ट्रसंघले बताएको छ। नोभेम्बर २ मा आपत्कालीन अवस्था घोषणा गरेपछि १ हजारभन्दा बढी मानिस पक्राउ परेको संघले बताएको हो।
इथियोपिया सरकारका प्रधानमन्त्री आविय अहमद र विद्रोही समूह टायग्रे पिपुल्स लिवरेसन फ्रन्ट (टिपिएलएल)बीच करिब १ वर्षपछि द्वन्द्व सुरु भएको थियो। सो द्वन्द्वले चरम रुप लिएपछि सरकारले नोभेम्बर २ मा करिब ६ महिनाको लागि आपत्कालीन अवस्था घोषणा गरेको थियो।
‘त्यसयता कम्तीमा १ हजार व्यक्ति पक्राउपछि हिरासतमा राखिएको छ,’ संघको मानव अधिकार आयोगले विज्ञप्तीमार्फत् भनेको छ, ‘तीमध्ये अधिकांश आदीवासी समूह टायग्रेका मानिस छन्।’
त्यस्तै इथियोपियामा संकट बढिरहेको भन्दै अमेरिकी राज्य विभागले आफ्ना नागरिकलाई तत्काल इथियोपिया छोड्न आग्रह गरेको छ। यद्यपि, अमेरिकाले अफगानिस्तानबाट जस्तै इथियोपियाबाट आफ्ना नागरिक उद्धारको लागि तत्काल कुनै तयारी भने नगरेको बताइएको छ। Source
वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएकोबताएका छन् । शुक्रवार...
चिनियाँ विदेश मन्त्रालयले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकी अधिकारीले बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न कारबाही गर्न आह्वान गरेको भाषण सार्वजनिक...
सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिला श्रमिकलाई स्वदेश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । श्रम,...