नेपाली चलचित्रको प्रदर्शनलाई सहज तुल्याउन हलवालाको संस्था नेपाल चलचित्र संघले गरेको परिपत्र यतिबेला आफैं भंग गरेको छ ।
नेपाल चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्डसँग नेपाल चलचित्र संघले गत १० असोजमा ६ बुँदे सहमति गरेको थियो । सो सहमतिको एउटा बुँदामा केही समयसम्म नेपाली चलचित्रलाई हलमा प्रोत्साहन गर्ने उद्देश्यसहित नेपाली चलचित्र रिलिज गर्दा विदेशी चलचित्र नजुधाउने कुरा उल्लेख गरिएको थियो ।
तर, अहिलेको अवस्थामा त्यो सहमति कार्यन्वयन गर्न नसक्ने नेपाल चलचित्र संघले जनाएको छ । पछिल्लो समय नेपाली चलचित्रको रिलिजकै बेला एक साथ दुईवटासम्म विदेशी फिल्म नेपालमा ल्याएर रिलिज गर्न थालेपछि नेपाली चलचित्र निर्माता यतिबेला हल सञ्चालकबाट रुष्ट छन् । अब आफ्ना चलचित्र रिलिज गर्ने कि नगर्ने भनेर उनीहरू अलमलमा परेका छन् ।
चलचित्रको प्रदर्शनीमा झन बेथिति देखिएको छ । नेपाली चलचित्रलाई वितरकदेखि हलवालासम्मले अहिले महत्व नदिएको नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष उदय सुब्बाको कथन छ । उनका अनुसार दुई दर्जनभन्दा बढी नेपाली चलचित्र विगत दुई वर्षदेखि प्रदर्शनका लागि पालो कुरेर बसेका छन् ।
यता, नेपाली हल सञ्चालक र वितरकले विदेशी सिनेमालाई महत्व दिन थालेपछि अहिले नेपाली चलचित्र चलाउने अवस्था नआएको विकास बोर्डका सदस्य अर्जुन कुमारले गुनासो गरेका छन् ।
१५ पुसबाट रिलिज गरिने भनिएको नेपाली चलचित्र ‘चपली हाइट–३’ लाई अब यसका निर्माता अर्जुन कुमारले सो मितिमा पनि रिलिज नगर्ने बताएका छन् । आफ्नो सिनेमाको विरुद्ध ओटीटी प्लेटफर्मका लागि बनाइएको भारतीय फिल्मलाई सस्तोमा किनेर ल्याएर हलमा जुधाइदिएपछि फिल्मको रिलिज स्थगित गर्नुपरेको उनले बताएका छन् ।
चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका अर्जुन कुमारले नेपालका हल सञ्चालक नेपाली चलचित्रलाई प्रवद्र्धन र प्रोत्साहन गरौं भन्ने पक्षमा नरहेको बताएका छन् । काठमाडौंमा एक पत्रकार भेटघाट गर्दै आफूले हलवाला र वितरकबाट कत्ति पनि सहयोग र प्रोत्साहन यतिबेला नेपाएको बताएका छन् । सोही कारण दोस्रोपटक पनि आफूले चलचित्र ‘चपली हाइट–३’ रिलिज गर्न नसकेको उनले प्रस्ट्याएका छन् । अब उनले आफ्नो चलचित्रको रिलिज मिति ३० पुसलाई सारेका छन् ।
१५ पुसबाट अर्जुन कुमारले आफ्नो फिल्म सारे पनि भिमसेन लामाले यही मितिमा चलचित्र कठपुतली रिलिज गर्ने भएका छन् । यो मितिमा भारतीय फिल्म ८३ नेपालमा रिलिज हुँदै छ । सन १९८३ को अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले प्राप्त गरेको सफलतामा यो फिल्म केन्द्रित छ । फिल्म ८३ स्पोर्ट जनरामा निर्माण भएको र आफ्नो फिल्म कठपुतली हरर जनरामा निर्माण भएको पनि सो चलचित्रका निर्माण पक्षको कथन छ । चलचित्र ‘चपली हाइट–३’ अब १५ पुसमा नआउने भएपछि आफूहरूले हलमा केही बढी सो पाउने विश्वास कठपुतलीका निर्मातालाई छ ।
आइतबार काठमाडौंमा बसेको निर्माता, हलवाला र विकास बोर्डका बैठकले पनि चलचित्रको प्रदर्शनीलाई व्यवस्थित गर्ने निर्णय लिन सकेको छैन । उनीहरूको बैठकले एकै साता दुईवटा नेपाली चलचित्र रिलिज नगर्ने निर्णय मात्र गरेको छ । विदेशी चलचित्र र नेपाली चलचित्रको प्रदर्शन सन्तुलनतर्फको कुरा अघि बढ्ेर बिनानिष्कर्ष टुंगिएको छ ।
नेपाल चलचित्र संघका महासचिव एवं प्रवक्ता अशोक शर्माले लामो समयपछि हल खुलेकाले आफूहरूले हलमा स्वदेशी र विदेशी दुवै चलचित्र चल्ने स्वतन्त्रता दिएको आइतबारको भेटभाट कार्यक्रममा बताएका छन् । गत असोजमा निर्माता र चलचित्र विकास बोर्डसँग भएको सहमति त्यसको केही समयपछि भंग गरेको पनि उनले स्पष्ट पारेका छन् ।
गत तिहारयता नेपालमा विदेशी फिल्मले राम्रो बजार लिइरहेको छ । गत साता मात्र रिलिज भएको दुई विदेशी फिल्म स्पाइडर म्यान र पुष्पाले नेपालका मल्टिप्लेक्स सिनेमा हलमा निकै राम्रो व्यापार ग¥यो । अब हलिउड र बलिउडका राम्रा ब्यानरका फिल्म क्रमस रिलिज हुने भएकाले नेपाली चलचित्रका निर्माताले आफ्नो सिनेमा जुधाउन सकेका छैनन् ।
नेपाली फिल्मका निर्माताहरूले आफूहरूको फिल्मसँग विदेशी फिल्म केही महिना नजुधाइदिन आग्रह गरेका छन् । चलचित्र विकास बोर्डले पनि यस्तो आग्रह गरेको छ । तर, वितरक तथा हल सञ्चालकले मानेका छैनन् । राम्रो नेपाली चलचित्र भनेको बेला हलमा नआएका कारण आफूहरूले अहिलेको अवस्थामा विदेशी फिल्म देखाएर हल सञ्चालन गर्नुपरेको उनीहरूको भनाइ छ ।यो समाचार राजधानी दैनिकबाट लिएको हो।
लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...
शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई...
मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १,...