जिल्लाको तामाकोशी गाउँपालिका–२ झुलेकी कमला कार्की र उनका श्रीमान् कमल कार्कीले वैदेशिक रोजगारीबाट फर्केर गाउँमै व्यावसायिक बाख्रा पालन थालेको करिब आठ वर्ष बितेको छ । दुई छोरा, एक छोरीसहित पाँच जनाको परिवार रहेकोे कार्कीको मुख्य पेसा नै कृषि हो ।
विदेशमा सोचेजस्तो कमाइ नभएपछि गाउँ फर्केका कमलले अहिले गाउँमै कृषि पेसा गरेरै वर्षमा पाँच लाखसम्म आम्दानी हुनेगरेको बताए । उनको खोरमा अहिले बयरजात र जमुनापारी जातका २९ वटा बाख्रा र १८ वटा बोकाखसी छन् । गत दशैँमा एक लाख पचास हजारका तीनवटा खसी बिक्री गरेको उनले बताए ।
सुरुमा आफ्नै लगानीबाट व्यावसायिक कृषिमा लागेका उनलाई अहिले गाउँपालिकाको पनि साथ मिलेको छ । गाउँपालिकाले खोर सुधार कार्यक्रमअन्तर्गत ६० हजार अनुदान दिएको उनले बताए । त्यस्तै अघिल्लो वर्ष गाउँपालिकाले बाख्रापालनको लागि २० हजार रूपैयाँ अनुदान दिएको थियो । प्रदेश सरकारले समेत बीउको बोका खरिद गर्न ७५ प्रतिशत अनुदान दिएको उनले बताए । गाउँपालिकाले तामाकोशी गाउँपालिकाभित्रका दर्जनौँ कृषि फर्मलाई अनुदान दिएर व्यावसायिक बन्न हौसला प्रदान गरेको कमलाले बताइन् । बाख्रा पालन र तरकारी खेतीबाट मनग्ये आम्दानी हुनेगरेको उनी सुनाउँछिन् ।
कमला भन्छिन्, ‘श्रीमान् विदेश हुँदा परिवार चलाउन धौधौ थियो । कृषिमा लागेपछि बालबच्चा पढाउन र घरखर्च गर्न मज्जाले पुग्ने गरेको छ ।’ कार्की दाम्पतीले करेसा बारीभरि तरकारी खेती गरेका छन् । हाल उनीहरू कमल एन्ड कमला बाख्रा तथा कुखुरा पालन कृषि फार्म दर्ता गरेर व्यवसाय गर्दै आएका छन् । तामाकोशी गाउँपालिकाले गाउँमै व्यवसाय गरेर आत्मनिर्भर बन्न चहाने स्थानीयलाई गाउँपालिकाबाट अनुदान दिने गरेको तामाकोशी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।
गाउँपालिकाले बाख्रापालन कृषक, गाइभैँसी पालक कृषक र तरकारी खेती गर्ने किसानलाई अनुदान सहयोग दिने गरेको उनको भनाइ छ । केन्द्रीय सरकारमार्फत आएको युवा स्वरोजगारको एक करोड अनुदान सहकारीमार्फत व्यवसायीलाई वितरण गरिने गरेको उनले जानकारी दिए । त्यस्तै किसानले उत्पादन गरेको दुग्ध पदार्थ राख्न तथा तरकारी फलफूल राख्न सातवटा वडामा चिस्यान केन्द्र निर्माण गरेको उनले बताए ।
समयसमयमा किसानको आवश्यकता हेरेर गाउँपालिकाले मलबीउ तथा अन्य सामग्री अनुदान समेत सहयोग गर्नेगरेको छ ।यो समाचार आर्थिक दैनिक बाट निकालेको हो।
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
कञ्चनपुरमा बङ्गुरपालकको संख्या बढेसँगै बजारको अभाव हुन थालेको छ । बजार अभाव भएपछि बङ्गुरपालक सस्तोमै बङ्गुर बेच्न बाध्य भएका छन्...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...