१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी वितरण

काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी वितरण

काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति हुने गरेको छ । उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले त्यसको एक तिहाईभन्दा कम अर्थात् करिब १३ करोड लिटर मात्र उत्पादन एवं वितरण गर्छ ।    
    
पुस, माघ र फागुनमा दैनिक १३ करोड लिटर पानी दिन सकिए पनि चैत र वैशाखमा भने दैनिक ११ करोड लिटर पानी मात्र वितरण हुने गरेको लिमिटेडले जनाएको छ । वर्षायाममा भने करिब १६ करोड लिटर पानी वितरण हुने गरेको छ । सुक्खा मौसम लागेसँगै काठमाडौँ उपत्यकामा खानेपानीको अभाव हुन्छ । पुसपछि उपत्यकाका स्रोतको पानी कम हुँदै जान थालेपछि खानेपानीको समस्या हुने गरेको छ । धारामा पानी नआएपछि उपत्यकावासी वैकल्पिक व्यवस्था गर्न बाध्य हुन्छन् । लिमिटेडले उपत्यकामा दुई लाख ३७ हजार धारा जडान गरेको प्रवक्ता प्रकाशकुमार राईले बताउनुभयो । चोरीका धारा पनि बेला बेलामा भेटिने गरेको उहाँको भनाइ छ ।    
    
काठमाडौँ उपत्यकामा सुन्दरीजल, महादेवखोला, नक्खु मुहान, शेषनारायण, हिटीटोल, सातमूल, कुटुरी, देवकी वासुकी, बल्खुखोला, मूलडोल, चारघरे, विष्णुमती, पाँचमाने, छहरे, अल्ले, महादेवखोलालगायत स्थानबाट पानी सङ्कलन गरेर प्रशोधन गरी वितरण हुने गरेको छ । यी स्रोतमध्ये सबैभन्दा बढी बाग्मती नदीको पानी सुन्दरीजलमा सङ्कलन गरी वितरण हुन्छ । प्राकृतिक स्रोतबाट सङ्कलन गरेको पानीले नपुग्ने भएपछि केही स्थानमा भूमिगत पानी निकालेर पनि वितरण हुने गरेको छ । हाल उपत्यकामा करिब ८० स्थानमा लिमिटेडले भूमिगत पानी निकालेर प्रशोधन गरी वितरण गर्छ । यसै वर्ष करिब एक करोड लिटर पानी भूमिगत स्रोतबाट थप गर्ने तयारीमा लिमिटेड लागेको प्रवक्ता राईले बताउनुभयो ।    
    
उपत्यकामा बर्सेनि करिब १० प्रतिशत पानीको माग थपिने गरेको एक अध्ययनले देखाएको छ । बढ्दो जनसङ्ख्या, घर/भवनलगायत भौतिक संरचनाको निर्माणमा वृद्धि र प्राकृतिक स्रोत सुक्न थालेपछि पिउने पानीको अभाव हुन थालेको बताइएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले लिमिटेडलाई ३० वर्षका लागि उपत्यकामा पानी वितरणको व्यवस्था गर्ने गरी सम्झौता गरेको छ । यसका लागि लिमिटेडले बोर्डलाई महसुलको दुई प्रतिशत शुल्क बुझाउनुपर्छ । बोर्डको सम्पत्तिको भने छुट्टै शुल्क बुझाउने व्यवस्था सम्झौतामा गरिएको छ । विसं २०६४ फागुन १ गतेदेखि बोर्डले लिमिटेडलाई उपत्यकामा पानी व्यवस्थापनको जिम्मेवारी दिएको हो ।    
    
काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधान गर्न खानेपानी संस्थानबाट छुट्याएर अलग व्यवस्था गरेपनि खास परिवर्तन भएको छैन । खानेपानीको समस्या समाधान हुनसकेको छैन । राजधानीको खानेपानी समस्याका लागि मेलम्चीकै पर्खाइमा अझै मानिस तड्पिएका छन् । रासस    

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • ४ पुष २०७८, आईतवार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • ४ पुष २०७८, आईतवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • ४ पुष २०७८, आईतवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP