२० मंसिर २०७८, सोमबार
December 6, 2021, Monday

प्रदेश २,३,४ का प्रदेश सभा सदस्यहरुले लिए सपथ

प्रदेश २,३,४ का प्रदेश सभा सदस्यहरुले लिए सपथ

२ नम्बर प्रदेशका प्रदेश सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार बिहान जनकपुर उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित सपथग्रहण समारोहमा सर्वप्रथम प्रदेश प्रमुख रत्नेश्वरलाला कायस्थले सांसद मध्येका जेष्ठ सदस्य लगनलाल चौधरीलाई सपथ खुवाएका थिए । त्यसपछि चौधरीले अन्य प्रदेश सांसदलाई सपथग्रहण गराएका हुन् ।

प्रदेश २ मा १०७ जना सांसदले सपथ लिएका छन् सपथग्रहणका क्रममा भाषाको विषयमा केहीबेर विवादसमेत भएको थियो । नेपाली भाषामा तयार गरिएको सपथ सांसदहरुले आ–आफ्नो मातृभाषामा सपथ लिएका थिए । पछि नेपाली भाषामा लेखिएको सपथमा हस्ताक्षर गर्न सांसदहरुले अस्वीकार गरेका थिए ।   त्यसपछि नेपाली भाषाको सपथलाई सबैले आ-आफ्नौ मातृभाषामा लेखेर हस्ताक्षर गरे ।

३ नम्बर प्रदेशका सांसदहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्। आइतबार बिहान साढे ११ बजे हेटौंडा १० स्थित प्रदेश सांसद सचिवालय सभाहलमा १०९ जना सांसदले पद तथा गोपनीयतको सपथ लिएका हुन्।

उनीहरूलाई प्रदेश प्रमुख अनुराधा कोइरालाको उपस्थितिमा जेष्ठ सदस्य डोरमणि पौडेलले सपथ खुवाएका हुन्। देश र ईश्वरको नाममा सपथ लिँदै सांसदहरूले देश विकासमा जुट्ने प्रतिबद्धता ब्यक्त गरेका छन्।

यस अघि प्रदेश प्रमुख कोइरालाले जेष्ठ सांसद डोरमणि पौडेललाई सपथ खुवाएका थिए। सपथ ग्रहणका लागि आएका सांसदहरुलाई पन्चे बाजा, धिमे बाजा सहित फूलमाला र खादाले स्वात गरेका थिए।

प्रदेश ४ का प्रदेशसभा सदस्यहरुले आइतबार सपथ लिएका छन् । तर, रामबहादुर गुरुङ सपथ लिनबाट छुटेका छन् भने दीपक मनाङे अनुपस्थित रहे ।

प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण समारोह पोखरा नगर प्रशिक्षण केन्द्रमा राखिएको थियो । प्रदेश ४ मा प्रत्यक्षतर्फ ३६ र समानुपातिकका २४ गरी ६० जना प्रदेशसभा छन् ।

प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ गराए । श्रेष्ठले प्रदेशसभाका बाँकी ५७ जना सांसदलाई सपथ खुवाएका हुन् ।

तनहुँ क्षेत्र नम्बर २ को ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य रामबहादुर गुरुङ सपथ लिनबाट छुटे । रामबहादुर विदेशबाट फर्केर काठमाडौंबाट पोखरा आउने जहाज डिले भएका कारण सपथ कार्यक्रम सकिएपछि मात्रै प्रदेशसभास्थल पुगेका थिए ।

राजीव गुरुङ उर्फ ‘दीपक मनाङेे’ मनाङको प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र रुपमा विजयी भएका थिए । तर, ज्यान मुद्धामा दोषी ठहर गर्ने पुनरावेलनको फैसलालाई सर्वोच्चले सदर गरेपछि मनाङे सपथ कार्यक्रममा अनुपस्थित रहे ।

प्रदेशसभास्थल तोकिएको नगर प्रशिक्षण केन्द्र मर्मत तथा रङरोगन गरेर चिटिक्क पारिएको थियो ।

संघीयता कार्यान्वयनसँगै पहिलो पटक गठन हुन लागेको प्रदेश सभास्थल पुग्दा सांसदहरु दंग थिए ।

सपथसँगै प्रदेशसभा सदस्यहरुले बल्ल संघीयताको कार्यान्वयन भएको आभाष मिलेको प्रतिक्रिया दिएका छन् । ‘संसद कसरी चल्छ भनेर टीभीमा देखेका थियौं । आज आफैंले प्रदेश सभामा छिर्न पाउँदा अनौठो महसूस भयो’ सरिता गुरुङले भनिन्, ‘सपथ लिएसँगै बल्ल संघीयता लागू भएको फिल भएको छ ।’

सपथ लिन पुगेका प्रदेशसभा सदस्यहरु उत्साही देखिन्थे । छिट्टै प्रदेशसभा गठन गरी विकासको ढोका खोल्न आतुर रहेको सांसद दीपक कोइरालाले प्रतिक्रिया दिए ।

सपथ लिन पुगेका सांसदका पोशाकसमेत थरिथरीका थिए । केही दौरा सरुवालमा सजिएका थिए भने केही आफ्नो जातीय भेषभूषामा सजिएर पुगेका थिए । सांसद इन्द्रधारा विष्ट जातीय पोशाकमा सपथ ग्रहण स्थलमा पुगेकी थिइन् ।

प्रदेशसभा सदस्यहरुले सपथसँगै खुसी साटासाट गरे । केहीले पहिलो पटक भेट भएर परिचयसँगै सेल्फी खिचे भने पहिले नै चिनापरिचय भएका सांसदले सामूहिक तस्वीरसमेत खिचाए ।

प्रदेशको अन्तिम निर्वाचन परिणाम घोषणा भएको २० दिनभित्र पहिलो बैठक बसिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि ज्येष्ठ सदस्य र सांसदले सपथ खाएसँगै बाटो खुलेको छ । प्रदेश सरकारका अस्थायी संरचनाहरु धमाधम तयार भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तारानाथ अधिकारीले जानकारी दिए ।

यसैबीच प्रदेशसभा सदस्यहरुको सम्मानमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले दिवाभोजको आयोजना गरेका छन् ।

Related News

लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
  • ७ माघ २०७४, आईतवार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि स्वास्थ्य...

औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
  • ७ माघ २०७४, आईतवार

हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनावद्ध रुपमा प्रयास थालेको छ...

केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
  • ७ माघ २०७४, आईतवार

प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं केन्द्रीय महाधिवेशन तयारीका सम्बन्धमा सोमबार दिउँसो ४ : ३० बजे...

TOP