जनप्रतिनिधि निर्वाचित भएसँगै एकवर्षदेखि फुटेको ढल बन्ने भो


काठमाडौँ, १९ जेठ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध–जोरपाटी मूल सडकमा वर्षदिनदेखि फुटेको ढल नफेर्दा नाक थुनेर हिँड्नुपर्ने बाध्यता अब हट्ने भएको छ । 

निर्वाचित जनप्रतिनिधि आएको साता दिन पनि पुग्न नपाउँदै फुटेको ढल मर्मत गर्नेे काम अघि बढेको हो । 

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको मूल सडकमा एक वर्षदेखि ढल फुटेर फोहर पानीको दह जमे पनि यसतर्फ कसैको ध्यान गएको थिएन । ढल मर्मतका लागि बौद्धनाथ क्षेत्र विकास समितिले छुट्याएको रु १० लाख पनि अलपत्र बनेको थियो । बजेट नपुगेको भन्दै काठमाडौँ महानगरपालिका वडा नं ६ ले थप बजेट माग गरेपछि समितिले दुई महिनाअघि रु आठ लाख थप गर्दा पनि काम हुन नसकेको कार्यकारी निर्देशक फुबुयाङ्जी लामाले बताउनुभयो । 

स्थानीयले सम्पदा क्षेत्रमा दुर्गन्ध फैलिएको गुनासो गरेपछि यस क्षेत्रबाट निर्वाचित सांसद रामेश्वर फुयाँल र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले तीन महिनाअघि यस क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको थियो । यसबाट पनि कुनै उपलब्धि भएन । दैनिक हजारौँ पर्यटक आउने यस क्षेत्रमा फुटेको ढल बनाउन कुनै निकायको ध्यान जान सकेका थिएन । 

तर स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका महानगरपालिका वडा नं ६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले वडामा पदबहालीसँगै पहिलो निर्णय नै फुटेको यो ढल बनाउने गर्नुभयो । जसअनुसार आज ढल झारिएको छ । 

“आज रातभर बसेर भए पनि ढल हाल्न लगाउँछु, भोलिदेखि सम्पदा क्षेत्रको सडकमा हिँड्दा नाक थुन्नु पर्दैन, चार टनका सवारी धान्ने सडकको क्षमता भए पनि १० टनभन्दा बढीका पानी ट्याङ्कर हिँड्नाले सडक र त्यसमुनि ओछ्याइएको ढलमा क्षति पुग्ने गरेको छ” –उहाँले भन्नुभयो । 

गाउँ टोलका समस्या समाधान गर्ने जनप्रतिनिधिको अभावमा लामो समयदेखि हुन नसकेका काम निर्वाचित प्रतिनिधि आएसँगै हुने स्थानीयको आशा छ । बौद्ध पीपलबोटकी पार्वती तामाङ स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै विकास निर्माणका कामले गति लिने विश्वास रहेको बताउनुहुन्छ । रासस (तस्बिर उपलब्ध छ)