वाम सरकारमा जाँदै फोरम

१४ जेष्ठ २०७५, सोमबार

संघीय समाजवादी फोरम नेपाल केन्द्रीय सरकारमा समावेश हुने भएको छ । सरकारलाई समर्थन दिएको करिब सय दिनपछि फोरमले सरकारमा जाने निर्णय गरेको हो । फोरमले सरकारमा जानका लागि सोमबार बालुवटारमा नेपाल कम्युनिस्ट पार्टीसँग दुई बुँदे सहमतिमा हस्ताक्षर गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई बुँदे सहमति गरेका हुन् ।

सहमति अनुसार अब केही दिनमै फोरम सरकारमा समावेश हुने छ । सत्तापक्ष र फोरम नेपालबीच भएको सहमति अनुसार सरकार संविधान संशोधन गर्न तयार भएको छ ।

संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने सहमतिपत्रमा उल्लेख छ ।

सरकारद्वारा गर्न सकिने कामहरू सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने र फोरम नेपाल सरकारमा सामेल हुने उल्लेख गरिएको छ ।

सर्त संविधान संशोधन

फोरम नेपालका महासचिव रामसहाय यादव संविधान संशोधन संशोधन हुने विषयमा सहमति भएपछि फोरम सरकारमा जाने निर्णयमा पुगेको बताउँछन ।

उनले संविधान संशोधन गर्ने विषयमा हस्ताक्षर भइसकेकाले आपसी छलफल गरी छिट्टै सरकारमा जाने बताए । ‘संविधान संशोधनका विषयमा हस्ताक्षर भइसक्यो’, फोरम महासचिव यादव भन्छन्, ‘अब आपसी छलफलपछि फोरम सरकारमा सामेल हुन्छ ।’

राजपा के गर्छ ?

फोरम सरकारमा जाने भएपछि राष्ट्रिय जनता पार्टी नेपालबारे प्रश्न उठेको छ । उसले पनि सरकारलाई समर्थन गरिसेको छ । राजपा नेपाल भने अब सरकार के गर्छ त ? त्यो पार्टीले अहिलेसम्म संसदीय दलका नेता समेत चुन्न नसक्दा समस्यामा परेको छ।

यता संविधान संशोधनका विषयमा फोरम र सरकारबीच हस्ताक्षर भइसकेको छ । त्यसअघि सरकारमा जाने विषयमा फोरम नेपालले निर्णय गरेलगत्तै राजपाले पनि निर्णय गरेको थियो ।

फोरमलाई प्राथमिकता

सरकारले पनि राजपालाई भन्दा फोरम बढी महत्व दिएको देखिन्छ । सरकारमा जाने विषयमा पनि अब राजपा तातिन्छ की ब्याक हुन्छ ? केन्द्रीय सरकारमा २५ जनाभन्दा बढीको मन्त्रिपरिषद् बनाउन नपाइने संबैधानिक व्यवस्था छ । अहिले २२ सदस्यीय मन्त्रिपरिषद छ ।

समर्थन गरेको करिब सय दिनपछि संघीय समाजवादी फोरम सरकारमा जान लाग्दा संसदीय दलको नेता समेत छान्न नसकेको राजपा अलमलमा परेको छ ।

यसअघि नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्री सुष्मा स्वराज र प्रधानमन्त्री नरेन्द्र मोदीले पनि फोरमलाई पहिलो प्राथमिकता दिएका थिए । दुवै भारतीय नेताले फोरम अध्यक्ष उपेन्द्र यादवसँग एकल वार्ता गरे भने राजपाका नेताहरुलाई सामूहिक भेट दिएका थिए ।

फोरमबाट ३ जना मन्त्री भएपछि त्यो कोटा पनि सकिन्छ । त्यसपछि राजपालाई थप धर्मसंकट छ । सरकारमा जान्छु भन्दा पनि कसरी समावेश गर्ने भन्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत समस्या पर्ने अवस्था छ ।

सरकारमा जान तयार: झा

राजपाका प्रवक्ता केशव झा संविधान संशोधनमा सरकारले प्रतिबद्धता जनाए सरकारमा जान कुनै आपत्ति नहुने बताउँछन् । ‘संशोधनमा प्रतिबद्धता भएमा हामीलाई सरकारमा जान कुनै आपत्ति छैन,’ उनले भने।

नेपाल कम्युनिस्ट पार्टीसँग पछिल्लो समयमा सरकारमा जाने विषयमा कुराकानी नभएको उनले बताए । ‘हामीसँग कुनै कुराकानी भएको छैन,’उनले अगाडि भने ।

पहिले माग पुरा होस

उता राजपाका नेता लक्ष्मणलाल कर्ण माग पूरा नभएपछि मात्रै सरकारमा जाने बताउँछन । ‘हाम्रो बटमलाइन संविधान संशोधन हो’, उनले भने, ‘संविधान संशोधन नभएसम्म राजपा सरकारमा जाँदैन ।’

प्रतिनिधि सभामा फोरम नेपालले प्रत्यक्षमा १० र समानुपातिकमा ६ गरी १६ सिट जितेको छ । राजपाले प्रत्यक्षमा ११ सिट र समानुपातिकमा ६ गरी १७ सिट जितेको छ ।