ललितपुरमा मछिन्द्रनाथको जात्रा शुरु

१० बैशाख २०७५, सोमबार

रातो मच्छिन्द्रनाथको रथ यात्रा चलिरहँदा सिङ्गो नगर क्षेत्र जात्रामय बनेको छ ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मच्छिन्द्रनाथको जात्राको अवधिभर विभिन्न स्थानमा रथलाई तानेर पु¥याइन्छ । मच्छिन्द्रनाथको विभिन्न कर्म भइरहँदादेखि नै विभिन्न जातीय समूह जात्राको तयारीमा लाग्छन् । रथयात्रामा पनि उनीहरुका फरक–फरक भूमिका रहेको छ ।

मच्छिन्द्रनाथको तीन लोकको यात्राअन्तर्गत आजबाट पाताल लोकको भ्रममण शुरु भएको छ । आज रथ सुन्धाराबाट हिँडाए पनि आजै पुग्ने टुङ्गो नहुने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताउनुहुन्छ । रथ तानेर आज पु¥याउन नभ्याउँदा भोलिसम्ममा पु¥याउनुपर्छ । उहाँ भन्नुहुन्छ, “आज वैशाख शुक्ल अष्टमीका दिनमा सुन्धाराबाट हिँडाउनुपर्ने भए पनि आजै पुग्ने निधो हुँदैन ।” सुन्धाराबाट हिँडाए पनि राति नपुगे बीचमा कतै अड्याएर राखिने उहाँले बताउनुुभयो ।

पाताल लोकको रथयात्रा मानिने सुन्धारादेखि लगनखेलसम्मको रथ यात्रा कृषक ललित रथचक्रको स्मरणमा हुन्छ । यसलाई ललितपुरवासीको जात्रा मानिन्छ । बिहीबारबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरु भएको हो । पुल्चोकबाट बिहीबार रथलाई गाबहाल पु¥याइएको हो ।

शुक्रबार गाःबहालबाट मंगलबजारको चारदोबाटो पु¥याइएको थियो । रथलाई विभिन्न स्थानमा परिक्रमा गराउने क्रममा शनिबार सुन्धारा लगिएको थियो । ज्योतिष दैवज्ञ जोशीले त्यही दिन सुन्धारावासी र त्यस वरपरको भेगमा छोयलाबु हुने गरेको बताउनुभयो । कुनै बाधा नपर्दा षष्टीका दिन साँझसम्ममा सुन्धारा पु¥याइने गरिन्छ । उहाँ भन्नुहुन्छ, “सप्तमी तिथिमा (आइतबार) सुन्धारामा मूल जात्रा सम्पन्न भइसकेको छ ।”

मंगलबजारको चार दोबाटो (दरबार क्षेत्र जाने चोक) मा पहिले ठूलो खोला रहेको कथन छ । हक नामक खोलामा मच्छिन्द्रनाथको धोती फेराइन्थ्यो । अहिले खोला नभए पनि धोती वा रुमाल फेराउने चलन छ । उहाँ भन्नुहुन्छ, “पञ्चमीका दिनमा गाःबहालबाट हिँडाएर मंगलबजार आसपास नै अड्याउने गरिन्छ ।” पुल्चोकबाट गाबहालसम्मको मच्छिन्द्रनाथको यात्रालाई स्वर्ग लोकको यात्रासमेत भनिन्छ । यो रथयात्रा गुरु बन्दुदत्त बज्राचार्यको नाममा हुने गरेको छ । यसलाई कान्तिपुरवासीको जात्रा मानिन्छ । पहिले काठमाडौँवासीले नै यस खण्डमा रथ तान्ने गर्दथे ।

गाःबहालबाट सुन्धारासम्मको मत्यलोकको भ्रमण भनिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताउनुहुन्छ । यसलाई भक्तपुरवासीको जात्रा मानिन्छ । राजा नरेन्द्रदेवको स्मरणमा यो रथ यात्रा हुने गरेको छ । पहिले भक्तपुरवासी रथ तान्ने आउने गरेको उहाँ बताउनुहुन्छ । अहिले रथयात्रा भर ज्यापु समाज ललितपुरले रथ तान्ने जिम्मेवारी लिएको छ । उहाँ भन्नुहुन्छ, “अहिलेसम्म पनि यहाँसम्मको रथ यात्रालाई भक्तपुरपुरवासीकै जात्राका रुपमा मान्निछ ।”

रथलाई लगनखेल पु¥याएको दिन भूतबलि हुने गरेको छ । दशमीका दिन भ्याउँदा त्यही दिन र नभ्याउँदा एकादशीका दिन रथलाई थटी टोलमा पु¥याइन्छ । थटी टोलको मूल जात्रा सकिएको भोलिपल्ट याक मिसा भुजा (एकल महिलाले रथ तान्ने) दिन पर्छ । इटी टोलमा पुगेपछि भने ज्योतिषले दोस्रो चरणको साइत हेरेर मात्रै जावलाखेल पु¥याउने दिनको टुङ्गो लाग्छ । जावलाखेल पुगेको चार दिन पनि भोटो जात्रा सकिन्छ र खटमा राखेर मच्छिन्द्रनाथलाई बुुङ्गमती नै फर्काइन्छ ।

मच्छिन्द्रनाथको जात्राका बेला भोटो प्रदर्शन गरिने परम्परा छ । सरकारले भोटो जात्राका दिनमा सार्वजनिक बिदासमेत दिँदै आएको छ । कथनअनुसार नाग राजा कर्कोटककी श्रीमतीलाई आँखाको रोग लागेपछि उपचारका लागि नागले वैद्य काम गर्दै आएका एक किसानलाई बोलाए ।

नागले जसरी भए पनि आफ्नी श्रीमतीको रोग निको पार्नैपर्ने नपारे अनिष्ट हुने बताएपछि वैद्य सङ्कटमा परे । उनले नागकी श्रीमतीको रोग नै पत्ता लगाउन नसकेपछि हात माड्दै बसिरहे । हात माडेका हुनाले यसबाट मयल निस्कियो । उनले त्यही मयललाई औषधि भनेर नागलाई दिए । त्यो औषधिको प्रयोगपछि नागकी श्रीमतीको रोग निको भयो ।

रोग निको पारिदिएपछि नाग राजाले खुशी हुँदै आफूले लगाइराखेको रत्नजडित भोटो किसानलाई दिए । किसानले सधैँ नै त्यो भोटो लगाएर हिँड्थे । एक दिन किसानले खेतमा भोटो फुकालेर काम गर्दा एउटा भूतले भोटो चोरेर लगेछ । केही समयपछि भएको एक जात्रामा भूत र किसान पनि आएका रहेछन् । जात्रामा भूतले त्योे भोटो लगाएर आएको थियो ।

भोटो देखेपछि किसान र भूतबीच भोटोको स्वामित्वबारे भएको विवादले झगडाको रुप लियो । केही गरी पनि झगडा साम्य नभएपछि निर्णयका लागि उनीहरु मच्छिन्द्रनाथकहाँ पुगे । मच्छिन्द्रनाथले जसले प्रमाण ल्याउनसक्छ उसैलाई दिने भत्रे निर्णय गरे । तर दुवैले प्रमाण जुटाउन नसकेपछि भोटो मच्छिन्द्रनाथले नै राखे । उहाँ भन्नुहुन्छ, “यो कसको भोटो हो भन्ने साङ्केतिक प्रश्नमा चारैतर्फ भोटो देखाउने चलन रहेको छ ।”

मच्छिन्द्रनाथको महास्नानबाट शुरु हुने जात्रा भोटो देखाएसँगै टुङ्गिन्छ । मच्छिन्द्रनाथलाई महिला र पुरुष दुवै रुपमा मानिने भएकाले हिन्दू धार्मिक परम्पराअनुसार ब्राह्मणले महिला र पुरुषलाई गरिने दशकर्म गरिन्छ । बौद्ध धर्मअनुसारका सबै कर्म बज्राचार्यले गर्छन् । विधिवत् रुपमा दशकर्म सकिएपछि मात्रै रथारोहण गराई रथायात्रा शुरु हुन्छ ।