१० बैशाख २०७८, शुक्रबार
April 23, 2021, Friday

जाजरकोटमा अस्पताल नपुगी मर्छन् बिरामी

जाजरकोटमा अस्पताल नपुगी मर्छन् बिरामी

जाजरकोटको दुर्गम जुनीचाँदे गाउँपालिकाका बड्कुले, मौगान, डाँडाकोट, आली, बेसीपाटा, रावलगाउँ, कोर्ताङ, पराले, मजकोट, भैरवटोल, स्यालालगायत गाउँमा भाइरल प्रकोपले स्थानीयलाई तीन सातादेखि सताइरहेको छ।

स्थानीय बासिन्दा र उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार हालसम्म १३ जनाको ज्यान गइसकेको छ भने एक हजार सात सय ५५ जनाको उपचार भइसकेको छ। यद्यपि, जिल्ला स्वास्थ्यले भाइरलले नभई दीर्घरोग र चिसोले ज्यान गएको दाबी गरेको छ। भाइरलकै लक्षण देखिएर तीन जनाको ज्यान गएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीको भनाइ छ।

मृत्यु हुनेमा पाँच वर्षमुनिका सात जना र ५० वर्षमाथिका ६ जना छन्। उनीहरू आर्थिक रूपमा निकै विपन्न परिवारका छन्। मृत्यु भएकामध्ये तीन जना मात्र स्वास्थ्यकर्मीको सम्पर्कमा आएका थिए। स्वास्थ्यकर्मीले दिएको औषधिले काम नगर्दा उनीहरूको ज्यान गएको पीडित परिवारले जनाएका छन् भने स्वास्थ्यकर्मीले आफूहरूको सल्लाहअनुसार नियमित औषधि नखाएको र फलोअपमा नआउँदा ज्यान गएको जिकिर गरेका छन्। प्रकोप भएको जानकारी आउनेबित्तिकै पर्याप्त औषधि र स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा खटाइएको जिल्ला स्वास्थ्यले दाबी गरिरहेका बेला शिविर सञ्चालन भइरहेको मजकोटस्थित भैरव माविमा पुगेका स्थानीय एक शिशुको औषधि अभावमा ज्यान गएको घटनाले सरकारी दाबी गलत सावित गरिदिएको छ।

रुघाखोकी, ज्वरो र निमोनियाले थलिएका वडा नं २, मौगानाका ३६ दिने शिशु भूपेन्द्र नेपालीको निमोनियाविरुद्धको खोप अभावमा ज्यान गएको थियो। सरकारले औषधि र स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पर्याप्त खटाएको बताइरहेका बेला स्थानीयले भने अपर्याप्त र अपुग भएको गुनासो गरेका छन्। सरकारी स्वास्थ्य संस्था र निःशुल्क औषधिप्रति अविश्वासका कारण बिरामी निजी मेडिकल वा धामी–झाँक्रीकोमा जाने गरेको स्थानीय सुरेन्द्र सिंहले बताए।

०६६ सालमा महामारीका रूपमा जिल्लामा फैलिएको झाडापखालाबाट मजकोटमा मात्र एक दर्जनले ज्यान गुमाएका थिए भने जिल्लाभर तीन सय बढीको मृत्यु भएको थियो। हजारौं बिरामी परेका थिए।

त्यस्तै, ०७२ सालमा प्रकोपका रूपमा जाजरकोटमा फैलिएको स्वाइन फ्लुबाट तीन दर्जनको ज्यान गएको थियो। गाउँमा मानिसहरू धमाधम बिरामी पर्ने र ज्यान जाने क्रम नरोकिएपछि स्थानीय पहिलैकै जस्तो अवस्था आउने हो कि भन्ने त्रासमा छन्। प्रभावित गाउँमा धेरैजसो बालबालिका र ज्येष्ठ नागरिक बिरामी परेका छन्। ‘एकै घरमा चार, पाँच जनासम्म बिरामी परेको देखियो’, स्थानीय रेशम खड्काले भने, ‘सुरुमा मजकोटमा मात्र देखा परेको भाइरल छिमेकी गाउँमा सर्दै गएपछि स्थानीय पहिलेकै जस्तो गरी महामारी फैलने हो कि भनी चिन्तित छन्।’

कसरी फैलियो प्रकोप ?

अरू बेला सात/आठ जना रुघाखोकी र ज्वरोका बिरामी आउँथे, जुनीचाँदे– १ स्थित बड्कुले स्वास्थ्य चौकीमा तर पुस १२ गते एकैदिन १६ जना आए। बिरामी बढ्दै जाँदा २० गते एकैदिन ६४ जना उपचारका लागि आएपछि मात्र जिल्ला स्वास्थ्यमा जानकारी गराइएको थियो। प्रकोप १२ गतेदेखि भए पनि ८ दिनपछि मात्र जिल्ला स्वास्थ्यले जानकारी पाएको थियो।

जिल्लाबाहिर गएका स्वास्थ्यचौकी इन्चार्ज हरिबहादुर शाही पनि १९ गते मात्र गाउँ फर्किएका थिए। स्वास्थ्यचौकीमा निःशुल्क पाइने औषधिसमेत थिएन। २२ गते प्राथमिक स्वास्थ्यकेन्द्र गर्खाकोटबाट डा. पवन शाक्यको नेतृत्वमा एक टोली उपचारका लागि पठाइएको थियो। चालु आर्थिक वर्षदेखि स्वास्थ्यको जिम्मा स्थानीय तहलाई दिइएको छ तर जुनीचाँदे गाउँपालिकाले स्वास्थ्यका लागि बजेट नै छुट्याएको छैन।

सरकारले औषधि खरिदका लागि दिएको अनुदान पनि अहिलेसम्म निकासा भएको छैन। जिल्लाबाट पठाएको औषधिले झारा टार्ने गरेपछि स्थानीय उपचारका लागि आउँदैनथे। स्वास्थ्यकर्मीका अनुसार कमजोर आर्थिक अवस्थाका कारण रोगप्रति रक्षा शक्ति कमजोर भएका, कुपोषणले ग्रस्त भएका, घरमा न्यानो कपडा नभएका र पर्याप्त खानेकुराको अभाव भएकाहरू बिरामी परेका छन्। त्यसका साथै पानी उमालेर नखाने, बासी तथा चिसो खाना खाने, सरसफाइमा ध्यान नदिनाले पनि रोग बल्झिएको हो।

घरघरमा शौचालय छन् तर तिनमा दाउरा, नल र पराल राखिएको छ। अधिकांश मानिस खुला दिसापिसाब गर्छन्। उपचारका लागि स्वास्थ्य संस्थामा सितिमिति जाँदैनन्। भौगोलिक विकटता, जनचेतना अभाव, सुलभ र भरपर्दो स्वास्थ्य सेवा प्रदान नहुनु नै जाजरकोटवासीका लागि पटक–पटक सरुवा रोगको प्रकोपले सताइरहने कारण बनेका छन्।

प्रकोप र महामारी फैलिएको बेला सरकारी र गैरसरकारी निकाय केही तातेको जस्तो देखिने तर केही समयपछि स्वास्थ्य सेवा सुधारका लागि खासै पहल नहुनु पनि बर्सेनि रोग बल्झिनुको कारण हो। अत्यधिक चिसो रोग फैलिने अर्को कारण हो। तापक्रम नबढेसम्म केही दिन भाइरल रहन्छ तर तातो बढ्नेबित्तिकै विस्तारै कम हुँदै जाने चिकित्सकको भनाइ छ। जाजरकोटमा फैलिएको भाइरलको प्रकोपलाई सरकारले गम्भीर रूपमा नलिएको स्थानीयको आरोप छ। तीन साता पुग्न लाग्दा पनि सरकारले रोग पहिचान गर्न नसकेको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीको भनाइ छ।

annapurnapost

Related News

एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम लाई सहयोग
एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम लाई सहयोग
  • ३० पुष २०७४, आईतवार

एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम क्षेत्रमा Covid-19 को सम्भाबित संक्रमण बाट वच्न र रोकथाम को...

विकासबादी संगीतको चोथौ आयाम गीतांगको मीठो पानी
विकासबादी संगीतको चोथौ आयाम गीतांगको मीठो पानी
  • ३० पुष २०७४, आईतवार

विकासबादी साहित्य प्रतिस्ठानको प्रस्तुतिमा विकासबादी संगीतका अभियानता गायक द्रोण पराजुलीले आफ्नो मातुभूमि प्रति समर्पण गर्दै नयाँ गीत आफ्नो च्यानल मार्फत...

एकीकृत रामारोशन विकास समाज-नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न
एकीकृत रामारोशन विकास समाज-नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न
  • ३० पुष २०७४, आईतवार

“आफ्नो गाउँ र ठाउँको माया गरौँ ! कला, संस्कृति, परम्पराको जगेर्ना र सम्बर्द्धन को लागि अगाडि बढौँ !!”भन्ने नाराको साथ...

TOP