डोनाल्ड ट्रम्पको नक्कल गर्ने विश्वका १८ कलाकारको सूचीमा मनोज गजुरेल

२२ फाल्गुन २०७४, मंगलवार

केही समय अघि मात्रै अमेरिकाका विभिन्न शहरमा गएर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गरेको भन्दै अमेरिकाको अनलाइन पोर्टल डेल्ली मेलले उनको तारिफसहित एक समाचार प्रकाशित गरेको थियो । यो समाचारमा उनले कलाकारिताको सुरुवातदेखि अहिलेसम्म गर्दै आएको क्यारिकेचर र कमेडीहरुका बारेमा जानकारी दिइएको थियो ।

हालै मात्र अमेरिकाको सीबीएस न्यूज डट कमले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गर्ने  विश्वका १८ जना कमेडियनहरुको सूची प्रकाशित गरेको छ । जसमा नेपालका हाँस्य व्यङग्य कलाकार मनोज गजुरेललाई पनि समेटिएको छ ।

आफू यसरी अन्तराष्ट्रिय स्तरमा समेटिन पाएको भन्दै मनोजले सामाजिक सञ्जालबाट खुशी सेयर गरेका छन् ।

उनले  विदेशमा नेपाली भएर चिनिन पाउँदा आफूलाई निकै खुशी लागेको बताएका छन् । यो वर्षको गाइजात्राको लागि भन्दै मनोजले डोनाल्ड ट्रम्पको नक्कल गर्ने तयारी पूरा गरेका थिए । नेपालमा गाइजात्रा सकेपछि उनले विदेशका विभिन्न शहरमा गएर डोनाल्डको नक्कल गर्दै दर्शक हँसाएका थिए ।