अध्यागमनमा चलिरहेछ ‘नाइस टु मिट यु’

November 30, 2017

काठमाडौं । ‘नाइस टु मिट यु’को नेपाली रुपान्तरण ‘तपाईंलाई भेट्दा खुसि लाग्यो’ हो । यो बाक्य कर्णप्रिय छ । कसैलाई पहिलो पटक भेट्दा ‘नाइस टु मिट यु’ भन्नु स्वभाविक पनि हुन्छ । तर, कालिकास्थान स्थित अध्यागमन विभागमा पुगेपछि अधिकांश पर्यटन व्यवसायी/गाइडले त्यहाँका कर्मचारीलाई ‘नाइस टु मिट यु’ भन्नै पर्छ । पहिलो भेटमा होइन, अक्सर गरेरपनि होइन, निरन्तर भेटेपिच्छे भनिरहनु पर्दो रहेछ । त्यहाँ त ‘नाइस टु मिट यु’को अर्थ ‘कमिशन दिउँला नि, काम छिटो गरिदिनुस्’ पो रहेछ । हो, ट्रेकिङ जाने पर्यटकहरुको लागि प्रवेशाज्ञा पत्र अर्थात परमिट पत्र बनाउन जाँदा  व्यवसायीले त्यहाँका कर्मचारीलाई यही ‘नाइस टु मिट यु’को मीठो भाकामा कमिशन दिनु पर्छ र प्रवेशाज्ञा पत्र बनाउनु पर्छ । लामो समयदेखि यही रोगले पीडित रहेका व्यवसायीको पीडा महेश सिंखडाको शब्दमा ।
म पेशाले पर्यटन व्यवसायी । विदेशी पर्यटकहरुलाई नेपालका रमणीय क्षेत्रहरुको भ्रमण गराउने र आफ्नो पेशा धान्ने अनि घरपरिवार चलाउने व्यक्ति । नेपालको प्राकृतिक सौन्दर्यता, यहाँको ऐतिहासिक तथा धार्मिक सम्पदाहरु देखेर विदेशी पर्यटकहरु पटकपटक नेपाल भ्रमणको लागि आउने गर्छन् । केही समय अघिको कुरा हो । अप्सरा टे«क (नाम परिवर्तन) मार्फत दुई जना अमेरिकन (देश परिवर्तन) पर्यटक कञ्चनजंघा क्षेत्रमा ट्रेकिङ जानको लागि आएका थिए । उनीहरु पदयात्रामा जानको लागि अनिवार्य रुपमा अनुमती पत्र अर्थात परमिट पत्र लिनु पर्छ । चाहे कञ्चनजंघा होस्, या मनास्लु, माथिल्लो डोल्पा र माथिल्लो मुस्ताङलगायतका ठाउँमा नै किन नहोस् । सो परमिट पर्यटन मन्त्रालय अन्तर्गत रहेको कालिकास्थान स्थित अध्यागमन विभागले मात्रै दिने गर्छ ।
ती दुई अमेरिकन पर्यटकको लागि म अध्यागमन विभागमा परिमिट लिन नौ बजे नै पुगें । केहीवेर कुरें– घडीले १० बजायो, कर्मचारीहरु आउने सुरै छैन । करिब ११ बजेपछि मात्रै कार्यालयमा पूरा रुपमा कर्मचारीहरु आइपुगे । कर्मचारीतन्त्र यस्तै हो भनेर चित्त बुझाएँ अनि कञ्चनजंघा क्षेत्रमा जानको लागि परमिट पत्र माग गरे । कञ्चनजंघा यात्रा मेरो लागि पहिलो थियो । त्यसैले होला त्यहाँका अधिकारीहरुले मलाई नयाँ ठाने । तर, अन्य धेरै पदयात्रामा म धेरै पटक गइसकेको छु । सायदः नौलो लागेर होला त्यहाँका कर्मचारीले फिस्स हाँस्दै परमिट पत्र दिए र यीयी सबै कागज पत्रहरु तयार पारेर फाइलमा राख्नुस् अनि लेराउनुस् भने । मैले पनि सोही अनुसार गर्दै गएँ । चाहिने सम्पूर्ण कागजपत्रहरु र पदयात्री पर्यटकको सक्कल राहदानी सहित दुई प्रति फोटो, अप्सरा टे«कका कागजपत्र, कर चुक्ता गरेको प्रमाणपत्र, विमा गरेको कागज अनि पदयात्रामा जाने दिनदेखि रुट समेत खुलाएर अनुमति पत्रको लागि निवेदन दिएँ । मैले यी सबै काम सक्दा दुई बज्न लागेको थियो । अध्यागमनका कर्मचारीले अब त खाजा खाने समय भयो, तीन बजे मात्र आउनुस् भने । अब मैले कुर्नुको अर्को विकल्प रहेन । कुरें एक घण्टा सम्म । तर, कर्मचारी ठीक समयमा के आउँथ्यो । साँढे तीन बजेपछि मात्रै कार्यालयमा फर्किए । उनी आएपछि पूरा विवरण सहित तयार पारेको परमिट पत्र र निवेदन पेस गरें । कुन कम्पनी हो भाइ भनेर सोधे । मैले सहजै अप्सरा ट्रेक भनिदिएँ । उनी कागजपत्र हेर्दै अनकनाउन थाले । अनि मेरो फाइल रोकिदिए । के भयो दाजु भनेर सोधें– जवाफ आएन । फेरी दोहो¥याएर सोधेपछि उनले मीठो बाक्य बोले– ‘नाइस टु मिट यु’ गरेको हो ? यो बाक्य मेरा लागि नौलो थिएन । यस अघिपनि धेरै पटक मैले सोही कर्मचारीलाई ‘नाइस टु मिट यु’ गरेको छु । अर्थात, कमिशन दिएको छु । उनीसँगै रहेको घर्रा ‘नाइस टु मिट यु’ गर्ने घर्रा हो । जुन घर्रामा परमिट लिन गएपछि हामीले केहीन केही रकम ‘नाइस टु मिट यु’ भन्दै दिनैपर्छ । मैले पनि एक हजारको नोट राखिदिए र परमिट पत्रमा उनले सहजै हस्ताक्षर गरिदिए । यसरी मैले परमिट पत्र लिएँ ।
परमिट पत्र लिन जाँदा मैले यसरी ‘नाइस टु मिट यु’ गरिन भने मैले परमिट पत्र पाउनको लागि एक हप्ता भन्दा बढी समय त्यो अध्यागमन विभागमा धाउनै पर्छ । सानो कागज पुगेन भनेर पनि फाइल रोकिदिन्छन् । तर, ‘नाइस टु मिट यु’ गरेपछि असम्भव पनि सम्भव भइदिन्छ । खासमा पर्यटकलाई एकल पदयात्रा निषेध गरिएको छ । तर, अध्यागमन विभागमा ‘नाइस टु मिट यु’ गरियो भने एकल पदयात्राका लागि पनि परमिट पाइन्छ । अहिले एकल पदयात्रा गरिरहेका दर्जनौं पर्यटकहरुलाई हामीले पदयात्राका क्रममा बाटोमा भेट्न सक्छौं । सामान्य कागजात नपुगेर त खासै फरक पर्दैन अध्यागमनमा । सबै काजगपत्रहरु ‘नाइस टु मिट यु’ले नै जुटाइदिन्छ । यो कस्तो अखडा हो जहाँ कमिशन विना कामै हुँदैन ? नयाँ व्यक्तिले त्यो विभागमा गएर परमिट लिनै सक्दैनन् । निश्चित समय लिएर आउने पर्यटकको भिसाको मिति सकिएला तर त्यो नयाँ व्यक्तिले सबै कागजपत्र पु¥याएर परमिट पत्र लिन सक्दैनन् । अनि ऊ बाध्य भएर ‘नाइस टु मिट यु’ गर्न पुग्छ । पुराना व्यक्तिहरुलाई सबै परिपाटी थाहा छ, कमिशन दिइएन भनेपनि काम हुन्छ भन्न सक्छ । तर, अप्ठेरो परेको वेला पर्यटकको भिसा सकिने गरेर फाइल रोकिदिन्छ । अनि पर्यटन व्यवसायीहरु तर्सेर पनि ‘नाइस टु मिट यु’ गर्न बाध्य छ । यो कमिशनको परिपाटी रोक्नको लागि सरकारले कडा नियम बनाउनु पर्छ । व्यवसायीलाई अनेक झमेला आउने गरि सरकारले नीति नियम बनाउन सक्छ तर, यस्ता घुसखोरीहरुलाई कारवाही गर्ने गरि नीति/आचार संहिता भने किन बनाउन सक्दैन ? अब अध्यागमन विभाग भित्र छिरेपछि हामीले कहिलेदेखि यसरी ‘नाइस टु मिट यु’ नभनी अर्थात कमिशन नदिइ काम गर्न सक्ने वातावरण बन्छ ? मेरो प्रश्न सरकार र सरोकार राख्ने निकायलाई ।