अपुरो छाडिएका सडक विस्तारलाई चाँडो पूरा गरिन्छ


काठमाडौँ, १९ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र सडक विस्तारका क्रममा अपुरो छाडिएका कार्यलाई चाँडो पूरा गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आफू तथा कामपा उपप्रमुखलाई आज आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले महानगरलाई हरियाली बनाउने उद्देश्यले फोहर व्यवस्थापन तथा वृक्षारोपणलगायत कार्य सुरु गरिएको जानकारी दिनुभयो ।

कामपा उपप्रमुख हरिप्रभा खड्गीले पहिलो बैठकले नगरभित्रका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाअन्तर्गत सुविधा बढाएको जानकारी गराउँदै महिला सशक्तीकरण तथा युवा उद्यमशीलताका कार्यलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ‘सहर सफा गराँै’ भन्ने अभियानलाई ३२ वटै वडामा विस्तार गरिने जानकारी पनि दिनुभयो । रासस