सामुद्रीक चक्रवातको असर नेपाली वायुमण्डलमा पर्दै

December 5, 2017

अरब सागरमा उत्पन्न भएको शक्तिशाली सामुद्रीक चक्रवात (साइक्लोन) का कारण नेपालको सूदूर र मध्यपश्चिमी भागको आकाशमा बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार शक्तिशाली चक्रवातको बाहिरी घेराले फ्याँकेको शक्तिशाली वायुले बादल बनाएपछि सूदूर र मध्यपश्चिमका मध्यपहाडी र हिमाली क्षेत्रमा बदली भएको हो ।

‘भारतको उत्तर पश्चिम हुँदै नेपाल प्रवेश गरेको जलवाष्पयुक्त वायुका कारण मौसममा बदलाब आएको छ,’ मौसमविद् अर्यालले कान्तिपुरसित भने, ‘यसका कारण हिमाली क्षेत्रमा हिमपातसंगै वर्षा हुने देखिन्छ ।’

भारतको राजस्थान, बिहारलगायतका क्षेत्रमा तीन दिनदेखि चक्रवातको प्रत्यक्ष असर देखा परेको छ । नेपालमा चाँही सोमबार बिहानदेखि मात्र असर सुरु भएको हो । चक्रवातबाट उत्पन्न हुने वायु प्रभावशाली हुने र त्यो वायुसंगै पानीको मात्रा पनि हुने भएकाले क्षणभरमै बादल उत्पन्न भएर मौसममा बदलाब आउँछ ।

‘सोमबार बिहान सूदूरपश्चिम हुँदै प्रवेश गरेको उक्त वायुले एकै दिनमा मध्य पश्चिमी क्षेत्रसम्मैको आकाशमा असर गरेको छ,’ उनले भने, ‘मध्येभागसहित पूर्वी क्षेत्रमा बुधवारसम्मै असर निम्त्याउने देखिन्छ ।’

चक्रवातले निम्त्याएको वायुसंगै पश्चिम वायुकोसमेत प्रभाव देखिएकाले मौसमी बदलाब हुन सहयोग पुगेको मौसमविदहरुको विश्लेषण छ । चक्रवातले निम्त्याएको वायुका कारण काठमाडौंसहित पूर्वी भागसम्मै बादल लाग्नेछ । मध्य र पूर्वी भागमा वर्षाको संभावना नभए पनि चिसोको मात्रा भने बढ्ने मौसमविद्हरु बताउँछन् ।

मौसमविद् सुवास रिमालका अनुसार पश्चिमबाट आउने वायु हिमाली क्षेत्र छोएर बग्ने भएकाले चिसो बढ्ने देखिन्छ । केही दिन यता काठमाडौंसहित देशका धेरै भागमा न्युनतम र अधिकतम तापक्रममासमेत गिरावट आएको छ । सोमवार काठमाडौंमा न्युनतम तापक्रम ५.८ डीग्री रेकर्ड भयो ।

चक्रवातका कारण उत्पन्न बदलावका कारण उच्च हिमाली क्षेत्रमा पर्वतारोहणमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले सचेत रहन महाशाखाले विशेष बुलेटिन निकालेर सर्वसाधारण र पर्यटन व्यसायीहरुलई सचेत गराएको छ । यस अवधिमा उच्च हिमाली भागमा बाक्लो हिमपात र वर्षा हुने महाशाखाको प्रक्षेपण छ । दुई वर्षअघि ‘हुदहुद’ नामको आँधीले अन्नपूर्ण क्षेत्रमा क्षती निम्त्याएको थियो ।

महाशाखाले भू–उपग्रह (स्याटेलाईट) बाट प्राप्त तस्वीर तथा गणितीय मौसमको विश्लेषण गर्दै बुधवारसम्मको संभावित मौसमी अवस्थाबारे सर्वसाधारणलाई जानकारी गराएको छ । जसअनुसार सोमवारदेखि पश्चिम र मध्य क्षेत्रको हिमाली भेगमा वदलि सुरु भइसकेको छ भने सोमवार राती कामठाडौंसम्मकै आकाशमा बाक्लो बादलले ढाक्नेछ ।

उच्च हिमाली भागमा सोमवार रातीदेखि नै हिमपात हुनेछ भने मंगलवारदेखि सूदूर र मध्य पश्चिम क्षेत्रमा हिमाली र मध्यपहाडी क्षेत्रमा वर्षा सहित हिमपात हुनेछ । ‘बुधवार पनि पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमाली भेगका केहि स्थानमा हल्का देखि मध्ययम खालको हिमपात जारी रहनेछ,’ महाशाखाले बुलेटिनमा भनेको छ, ‘पूर्वी हिमाली क्षेत्रको एक दुई स्थानमा पनि हल्का हिमपात हुनेछ ।’