२ कार्तिक २०७८, मंगलवार
October 19, 2021, Tuesday

संसद्‍मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ : महानिरीक्षक खनाल

संसद्‍मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ : महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई बताएका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा जवाफ दिँदै उनले अनुसन्धानको दायरा साँघुरो भएपनि तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताएका छन् ।’हाम्रो सामर्थ्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो,’ महानिरीक्षक खनालले भने, ‘तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन, प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसद्‍मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ ।’

कञ्चनपुरकी बालिका पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलागेको विषयमा आवाज उठिरहेको सन्दर्भमा समितिले आज प्रहरी प्रमुखलाई आमन्त्रण गरेको हो । महानिरीक्षक खनालले घटना अनुसन्धानमा गैर व्यावसायिकता प्रदर्शन गरेको देखिएपछि केही प्रहरी अधिकृतलाई बर्खास्त गर्ने काम भइसकेको र अनुसन्धान जारी रहेको बताएका थिए । उनले अनुसन्धानका लागि नियन्त्रणमा लिइएका केही व्यक्तिको नाम हतारमा दिइएका कारण अनुसन्धानमा कमजोरी भएको आशंका गरिएको उल्लेख गरे ।
महानिरीक्षक खनालले ९७ दशमलव ५ प्रतिशत घटनाको अनुसन्धान भई कानूनको दायरमा ल्याइएको र जघन्य अपराधका घटनामा सफलता हात पारेको दाबी गरेका थिए । राष्ट्रविरोधी र अवाञ्छित गतिविधि गर्नेलाई पक्राउ गरी कारवाही गरिएको पनि उनले जानकारी दिएका थिए ।
‘कुनै अप्रिय घटना नहुन दिनका लागि सुरक्षालाई दृढताका साथ सबै सतर्कता र सक्रियता अपनाइएको छ, महिला र बालबालिकालाई बाहिर निस्कनै गाह्रो छ भन्ने होइन, सहज परिस्थिति छ,’ महानिरीक्षक खनालले भने ।
उनले समग्र शान्तिसुरक्षा र सुशासनका सम्बन्धमा आफूले मात्र नभई गृह मन्त्रालयको नेतृत्वले जवाफ दिँदा उचित हुने बताए । समितिका सदस्यले मुलुकका शान्ति सुरक्षा र सुशासनका क्षेत्रमा देखिएको चुनौतीबारे चिन्ता प्रकट गर्दै कुनै खास घटना विशेषमा मात्र नभई समग्र सुरक्षा र सुशासनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।
समितिका सदस्यहरुले बलात्कारका घटना वृद्धि हुँदा प्रहरी प्रशासन किन ‘दाँत नभएको कुकुरको टोकाइ’ जस्तो कमजोर भयो भनी प्रश्न गरेका थिए । समितिका सदस्य सरिता प्रसाईंले प्रश्न गर्दै भनिन्, ‘जनताले शान्ति र स्थिरताका लागि दुई तिहाइको सरकारसँग गरेको अपेक्षा किन पूरा भएन, प्रहरीलाई निष्पक्ष छानबिन गर्न केले रोकेको छ ?’
सांसद विमला राई पौडेलले साँचो अपराधी पत्ता नलागेसम्म प्रमाण नष्ट गर्र्नेलाई थुनामा राखेर कारवाही गर्न र अनुसन्धानको प्रगति विवरण दैनिक सार्वजनिक गर्न माग गरेकी थिइन् ।
समितिका सदस्य रमेशजंग रायमाझीले व्यवस्था परिवर्तन भए पनि कार्यशैलीमा परिवर्तन नभएको भन्दै घटनामा प्रमाण नष्ट हुनुको पछाडि घटनाको दोषी कोही शक्तिशाली मान्छे छ भन्ने आशंका देखिएको बताए । उनले सुन तस्करी प्रकरणमा पनि ठूला मान्छेलाई जोगाउने काम भएको आरोप लगाएका थिए ।
समितिका सदस्य दीनानाथ शर्माले बालक अपरण, बालिका बलात्कार र हत्याका घटना वृद्धि हुनुले आफूहरुलाई चिन्तित तुल्याएको जनाउँदै यस्ता घटना हुनुको प्रमुख कारण पहिचान गरेर समाधान गर्नु सबैको चासो र दायित्वको विषय भएको बताएका थिए ।
सदस्य प्रमीलाकुमार यादवले सुरक्षा दिन नसक्ने सुरक्षा अधिकारीले राजीनामा दिनुपर्ने बताएकी थिइन् । अर्का सदस्य मुक्ताकुमारी यादवले पछिल्लो समयमा पक्राउ परिएका घटना भएको दिन त्यहाँ नरहेको समाचार आउनुको रहस्य खुलाउन माग गरिन् । उनले आफ्नै छोरा २०७४ चैत २ मा धनुषामा धारिलो हतियार प्रहारबाट हत्या गरिएकामा हालसम्म दोषी पत्ता नलागेको गुनासो गरेकी थिइन् ।
प्रहरी महानिरीक्षकको भनाइ सुनेपछि बैठकले पन्तको घटनामा संलग्न दोषीलाई चाँडो सार्वजनिक गरी कानूनी कारवाहीको दायरामा ल्याउन निर्देशन दिएको छ । समितिका सभापति तारादेवी भट्टले मुलुकमा भएका अन्य घटना हुन नदिन अझ सजग र कर्तव्यनिष्ट हुन प्रहरीलाई निर्देशन दिइन् ।

Related News

माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन तथा दिप प्रज्वलन
माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन तथा दिप प्रज्वलन
  • २४ मंसिर २०७५, सोमबार

न्यायको लागि शान्तीपूर्ण आवाज तथा दिप प्रज्वलन आज साझ माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन...

तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को महाधिवेसन सम्पन्न – केन्द्रिय​ अध्यक्षमा अच्युत नेपाल​ र​ बागमतिमा बद्रि प्रसाद दाहाल​
तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को महाधिवेसन सम्पन्न – केन्द्रिय​ अध्यक्षमा अच्युत नेपाल​ र​ बागमतिमा बद्रि प्रसाद दाहाल​
  • २४ मंसिर २०७५, सोमबार

काठमाडौ – नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को दोस्रो महाधिवेसन काठमाडौमा सम्पन्न भ​एको छ र अच्युत नेपालको नेतृत्वमा ३१ जनाको...

जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
  • २४ मंसिर २०७५, सोमबार

बैशाख १७, २०७८ इलाम, क्याबुङ, क्याबुङ विकास प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा जनकलाल शर्मा स्मृति शतवार्षिकी भर्चुअल कार्यक्रम...

TOP