छोरी जन्माए एक हजार प्रोत्साहन भत्ता

२७ पुष २०७४, बिहीबार

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटकी लक्ष्मी कार्कीले गएको महिना श्रीकोट स्वास्थ्य संस्थामा दोश्रो सन्तानको रुपमा छोरी जन्माइन्। पहिलो सन्तान पनि छोरी नै जन्माएकी लक्ष्मीले दोश्रो सन्तान पनि छोरी जन्माउँदा श्रीकोट स्वास्थ्यचौकीबाट थप एकहजार प्रोत्साहन भत्ता पाइन्। उनले भनिन् ‘अहिले जमानामा छोराछोरीबीच भेदभाव गर्नु त ठीक होइन्। मैले दोश्रो छोरी पाएँ।

मलाई श्रीकोट स्वास्थ्यचौकीले एकहजार थप रकम दिँदा म खुशी भए। किनकि अझै पनि छोरी जन्माए महिलालाई हेप्ने चलन कायमै रहेका बेला सरकारबाट एक हजार प्रोत्साहन पाउनु निकै खुसीको कुरा हो।’ दोगडाकेदार गाउँपालिका ३ कै कुस्ती भुलले पनि श्रीकोट स्वास्थ्य चौकीमा गएको महिना छोरी जन्माइन्। ‘छोरी जन्मेपछि सुत्केरी अवस्था के खाने भन्ने पीर थियो। स्वास्थ्य संस्थाले छोरा पाउनेहरु भन्दा एक हजार थप दियो।

त्यसले मलाई सुत्केरी अवस्थामा सजिलो भयो। नानीको लागि नयाँ लुगा पनि किने।’उनले भनिन्, ‘हाम्रो समाजमा छोरीको मान सम्मान गर्ने चलन बस्न थालेछ। यसले मलाई ज्यादै खुसी लाग्यो।’ छोराछोरीबीचको विभेदलाई अन्त्य गर्नका लागि दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप एकहजार प्रदान गर्न सुरु गरेको हो। ‘हाम्रो समाजमा छोरी भयो भने नाक खुम्याच्याउने चलन छ।

छोरी पनि छोराजस्तै काम गर्न सक्छन्। उनीहरुलाई पनि अवसर दिनुपर्छ भन्ने भावनाको विकास गराउन हामीले प्रोत्साहन भत्ता दिन सुरु गरेका हौं।’ दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले भनिन्, ‘छोराछोरीबीचको विभेद हटाउन प्रोत्साहन रकम दिने निर्णय गरेका हौं। आगामी वर्षदेखि छोरीको नाममा ५ हजारका दरले बचत गर्ने कार्यक्रम ल्याउँछौं।’

दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजारका दरले दिने प्रोत्साहन भत्ता गाउँपालिकाभरीका स्वास्थ्य संस्थामा पठाइसकेको जनाएको छ। उपाध्यक्ष कार्कीले भनिन् ‘हामीले पहिलो चौमासिकको रकम निकास गरिसकेका छौं। स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाई स्वास्थ्य संस्थामार्फत एक हजारका दरले वितरण भइरहेको छ।’

दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालेपछि यसको सकारात्मक प्रभाव परेको श्रीकोट स्वास्थ्यचौकीका अहेव प्रेमबहादुर चन्दले बताए। उनले भने ‘प्रोत्साहन भत्ताले छोरी जन्माउने आमालाई पनि साहासी बनाएको छ। समाजको डर पनि हटेको छ। राज्यले नै छोरीलाई प्रोत्साहन गरेको छ भन्ने खालको मानसिकता बनेको छ। यस्तो कार्यक्रमले निरन्तरता पाउनुपर्छ।’

जिल्लाको दोगडाकेदार ६ की रुबसी विकले सित्तड स्वास्थ्यचौकीमा छोरी जन्माउँदा दुई हजार चारसय रुपैया पाइन्। उनले भनिन् ‘अरु वर्ष एक हजार मात्रै भत्ता पाइन्थ्यो। अहिले छोरी जन्माउने आमालाई गाउँपालिकाले पनि प्रोत्साहन भत्ता दिएको रहेछ। यसले हामीहरुलाई सजिलो भएको छ। छोराछोरीबीच भेदभाव गर्नु हुँदैन भन्ने भावनाको विकास समेत हुन थालेको छ।’

दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई भत्ता दिने अभियानले समाजमा छोराछोरी माथि हुने विभेदलाई अन्त्य गर्न सहयोग पुग्ने जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए। उनले भने ‘यस्ता प्रोत्साहनले समाजलाई महसुस गराउँछ। हामीले भेदभाव गर्नुहुँदैन भन्ने कुरा सिकाउँछ। अन्य स्थानीय तहले यस्ता कार्यक्रमको सिको गर्नुपर्छ।’

Source: Annapurnapost