यस्ता छन् विवाह सम्बन्धका आठ शैलीहरु

८ असार २०७५, शुक्रबार

विवाहको प्रचलन प्राणीहरूमध्ये मानिसमा मात्रै छ । यो प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् ।

विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ऋग्वेदमा उल्लेख छन् । अर्थात् विवाहको चलन त्यस बेला पनि प्रचलित थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ ।

मानव जीवनलाई आदर्श रूपमा सञ्चालन गर्न विवाहको चलन सुरु भएको हो । हिन्दू समाजमा आफ्नो सम्पत्ति अरूलाई दान दिँदा संकल्प पढेर विधिपूर्वक दिने चलन भएजस्तै कन्याका पिताले आˆनी छोरी अरूलाई सुम्पँदा धार्मिक विधि अपनाउने गरिएको देखिन्छ ।

विवाहको परम्परा

हिन्दू समाजमा विवाहको परम्परा बसाल्ने श्रेय उद्दालकपुत्र श्वेतकेतुलाई दिइन्छ । उनले थिति बसाल्नुअघि विवाहको चलन थिएन । महिला र पुरुष केही समयको सम्झौता गरेर बस्दथे । सम्झौतामा यतिवटा सन्तान जन्मिउन्जेल सँगै बस्ने, त्यसपछि स्वतन्त्र हुने, अन्य महिला वा पुरुषसँग शारीरिक सम्बन्ध राख्ने वा नराख्नेजस्ता विविध विषयमा मौखिक समझदारी हुन्थ्यो ।

रोचक कथा

विवाहको चलनबारे हाम्रा पुराणमा रोचक कथा पाइन्छ । ऋषि उद्दालककी पत्नीलाई कुनै बलियो व्यक्तिले जबर्जस्ती लैजान बल गर्‍यो । यो देखेर उद्दालकले कुनै प्रतिक्रिया जनाएनन् । श्वेतकेतुलाई भने आˆनी आमामाथि बलजˆती भएको मन परेन ।

उनले त्यसको प्रतिकार गरे । उद्दालकले छोरालाई भने- ‘नरोक, यो हाम्रो पहिलेदेखिकै सामाजिक परम्परा हो ।’ यस घटनाले श्वेतकेतुलाई यति असर गर्‍यो कि पछि उनले जबरजस्ती अर्कालाई उठाउने व्यवस्थाको अन्त्य गरे । उनले एक पत्नी-एक पतिको व्यवस्था सुदृढ बनाउन प्रयास गरे ।

अर्को एउटा प्रसङ्गअनुसार दीर्घतमा नाम गरेका ऋषि थिए । उनी जन्मान्ध थिए । उनको निरङ्कुश यौनाचारको बानी सहन नसकेर पत्नीले उनलाई त्यागिन् । यो देखेर दीर्घतमाले महिलाले श्रीमानलाई छोड्न नहुने नियम बनाए । यी सबै घटनामा पतिपत्नीको अनिवार्यता देखिए पनि विवाह र धार्मिक क्रिया जोडिएका थिएनन् ।

रामायणको रोचक प्रसंग

पत्नीको महत्व कति हुन्छ भन्ने झल्काउन रामायणमा एउटा रोचक प्रसंग छ । रामले जीवनमा सीताबाहेक कसैसँग विवाह गरेनन् । सीतालाई जंगलमा छाडेपछि भएको अश्वमेध यज्ञ पत्नीको अभावमा पूरा हुन नसक्ने भएका कारण रामले सीताको प्रतिमा बनाएर यज्ञ पूरा गरे ।

महाभारत कालसम्म आइपुग्दा चार वणाश्रमको व्यवस्था भइसकेको देखिन्छ । महाभारतको आदिपर्वमा आश्रमधर्म र पतिव्रतधर्मको विषयमा उल्लेख गरिएको पाइन्छ ।

शिक्षा ग्रहण गर्न गुरुकुल जाने र २५ वर्षको उमेरसम्म त्यहाँ बसेर ब्रहृमचर्य पालन गरी विद्या लिने काम सम्पन्न भइसकेपछि गृहस्थाश्रममा प्रवेश गर्नका निमित्त धार्मिक विधिअनुसार विवाह गर्ने चलन चल्यो । विवाहलाई एउटा अनिवार्य संस्कार बनाइयो । दुई आत्माको पवित्र बन्धनका रूपमा लिन थालियो । अविवाहित मानिस अधुरो हुने मानिन थालियो ।

पछिपछि विविध व्यापार र बन्दोबस्तीबाट अकूत सम्पत्ति जम्मा हुन थालेपछि एउटा पुरुषले धेरै पत्नी राख्ने चलन विकसित हुन थाल्यो । सम्पत्तिकै अवस्था हेरेर बहुपत्नी तथा बहुपतिजस्ता चलनसमेत सुरु हुन थाल्यो । समयको आवश्यकता अनुसार एउटी पत्नीसँग धार्मिक विवाह गर्ने, सम्पत्तिको हकदार धर्मपत्नीका सन्तानको मात्र हुने आदिजस्ता अनेकौं नियम थपिन थाल्यो ।

आठ प्रकारका विवाह

शास्त्रीय परम्पराअनुसार विवाह आठ प्रकारका हुन्छन् । ती हुन्-ब्राह्म, दैव, आर्ष, प्राजापत्य, गन्धर्व, आसुरी, राक्षसी तथा पैशाच विवाह । यी आठ विवाहमध्ये ब्राह्म विवाह नै श्रेष्ठ एवं मान्यताप्राप्त बताइएको छ भने अरू विवाह कुनै मध्यम एवं कुनै निकृष्ट कोटिमा पर्छन् ।

यी परम्परागत विवाहलाई नेपाली समाजले मागी विवाह, भागी विवाह, चोरी विवाह, जारी विवाह, प्रेम विवाह आदि नाम दिने गरेको पाइन्छ । परम्परागत रूपमा मागी विवाहको सर्वव्यापकता थियो । कतिपय जातजातिहरूमा चोरी विवाह र मागी विवाह पनि प्रचलित थिए । हाल सबै शिक्षित समाजमा प्रेम विवाह फस्टाउँदै गएको छ ।

एक प्रकारले यो मान्य भइसकेको छ । जारी विवाहको प्रचलन हराउँदै गएको छ । गाउँघरमा दुईचारजना गएर सामान्य किसिमले विवाह सम्पन्न गरी केटी लिएर आउने विवाहलाई कुम्ले विवाह र निकै ठूलो तयारी गरी बाजा र जन्ती लिएर गई केटी लिएर आउने विवाहलाई वरियाती भन्ने चलन छ ।

प्राचीन कालको कुरा गर्दा हिन्दू समाजमा विवाह भोगविलासको साधन नभई धार्मिक संस्कार हो । हिन्दूहरूले पालना एवं अनुशरण गर्नुपर्ने सोर्‍ह संस्कारमध्ये विवाह पनि एक हो । संस्कारहरू शुद्ध जीवनशैली व्यतीत गर्ने उद्देश्यले बनाइएका नियम हुन् । संस्कारले अन्तस्करण शुद्ध बनाउँछ, संस्कारजनित विवाहबाट सुखद दाम्पत्य जीवन व्यतीत गर्न सकिन्छ । संस्कारभित्र पर्ने विवाह ब्रह्म विवाह हो ।

ब्राह्म विवाहः दुवै पक्षको सहमतिमा समान वर्ग एवं मिल्दो उमेरका सुयोग्य वरसँग कन्याको सहमतिमा निश्चित गरिने विवाह ब्रह्म विवाह हो । यो विवाहमा वैदिक रीतिरिवाज एवं नियमको पालना गरिन्छ । आभूषण, वस्त्र आदिबाट अलङ्कृत गरेर कन्यादान गरिन्छ । विवाह नै उत्तम विवाह हो । यस विवाहमा दुवै पक्षको सहमतिबाट समान वर र कन्याको विवाह निश्चित गरिने भएकाले अहिलेको मागी विवाहलाई यस खालको विवाह मान्न सकिन्छ ।

दैव विवाहः यस विवाहमा कुनै तपस्वीलाई कन्यादान गरिन्छ । कन्या दानमा दिइन्छ । यसमा कुनै सेवा कार्यको मूल्यको रूपमा, धार्मिक कार्य वा उद्देश्यले कन्याको सहमतिमै विधिवत् विवाह हुन्छ । पतिपत्नी दुवैले एकसाथ धर्माचरणको व्रत लिने यस किसिमको विवाहलाई मध्यम मानिन्छ ।

प्राजापत्य विवाहः यस्तो विवाहमा कन्यासँग अनुमति लिइँदैन । अभिभावकले योग्य वर हेरेर कन्याको विवाह गरिदिन्छन् । विशेषगरी यस्तो विवाहमा आमाबाबुले कुनै धनीमानी एवं प्रतिष्ठित व्यक्तिसँग कन्याको सहमतिबेगर नै विवाह गरिदिन्छन् ।

आर्ष विवाहः यस विवाहमा कन्यापक्षलाई कन्याको मूल्यका रूपमा वर पक्षबाट विशेषगरी कन्याको आमाबाबुलाई गाई वा जोडी गोरु दिने चलन हुन्छ ।

गान्धर्व विवाहः यस विवाहमा परिवारको सहमति हुँदैन । कुनै रीतिरिवाज अपनाइँदैन । विवाहको उमेर पुगेका युवायुवतीले एकअर्कालाई मन पराएपछि अभिभावकको सहमति नलिई गरिने विवाह गान्धर्व विवाह हो ।

आसुरी विवाहः यस्तो विवाहमा वरपक्षद्वारा शुल्क दिएर कन्या ग्रहण गरिन्छ । कन्याका आफन्तलाई धन या प्रलोभन देखाएर स्वेच्छाले कन्या प्राप्त गरिन्छ ।

राक्षसी विवाहः यस्तो विवाहमा कन्याको सहमति हुँदैन । उसलाई अपहरण गरेर जबर्जस्ती विवाह गरिन्छ ।

नेपालमा कुनै-कुनै जातिमा केही समय पहिलासम्म विभिन्न जमघट हुने ठाउँबाट आफूलाई मन परेकी कन्यालाई जबर्जस्ती उठाएर लैजाने चलन थियो । यस्तो चलन अहिले धेरै कम भएको छ । त्यस्ती कन्यालाई घरमा फिर्ता लगिँदैन । अपहरण गरेकै पुरुषलाई कन्यापक्षले स्वीकार गर्छ ।

पैशाच विवाहः सुतेको अथवा नशामा उन्मत्त कन्यालाई एकान्तमा बलात्कार गरी जबर्जस्ती ग्रहण गर्नुलाई पैशाच विवाह भनिन्छ ।

माथिका अन्तिम चारवटा विवाहलाई शास्त्रले मर्यादाविपरीत मानेको छ । चाणक्य भन्छन्- ‘कन्याको बुबाको इच्छाअनुसार गरिने विवाह धर्मसम्मत हुन्छन् । अन्य चार विवाह धर्म मर्यादाअनुकूल छैनन् । यी विवाह कन्याको बलात्कार हो । सबैको प्रसन्नता हुने विवाह नै सर्वोत्तम हो । यसबाट सबैको सुख वृद्धि हुन्छ ।’

माथि चर्चा गरिएका आठ प्रकारका विवाहप्रथा उल्लेख हुनुले त्यसबेला त्यस्ता प्रथा प्रचलित थिए भनेर अनुमान गर्न सकिन्छ । भनिन्छ, पुरातनकालमा विभिन्न जातिहरूको प्रचलित वैवाहिक चलन हेरेर मनु, पराशर आदि स्मृतिकारहरूले यी विवाहलाई मान्यता दिएका थिए । मनुले सुरुका चार विवाह ब्राहृमण वर्गका लागि, राक्षसी र गन्धर्व विवाह क्षत्रियका लागि र आसुरी विवाह वैश्य र शुऽ वर्गका लागि भनेर छुट्याएका थिए । पैशाच विवाह आर्यहरूको कुनै वर्गका लागि उचित मानिँदैन थियो ।

परिवर्तित विवाह

वर्तमानमा विवाहका प्रचलन पनि समयानुकूल परिमार्जन भएका छन् । आप\mना पुर्खाले विवाहको जुन परम्परा बसाले, ठाउँ-अवस्था-जाति एवं प्रकृतिअनुसार तिनले त्यसलाई टिप्दै आˆनो जीवनको अंग बनाएको पाइन्छ । विवाह समाजको सबैभन्दा सशक्त परम्पराका रूपमा स्थापित भएको छ तर समयसँगै विवाहको शैली, वैवाहिक जीवनजस्ता कुरामा निकै ठूलो परिवर्तन देख्न सकिन्छ ।

हिन्दू धर्मअनुसार विवाह त्यस्तो संस्कार हो जसलाई निकै सोचविचार गरी पूरा गर्नुपर्छ । टाढा टाढासम्मको रक्तसम्बन्धको छानबिन गर्नु आवश्यक छ । यसबाट दुवै पक्ष सन्तुष्ट भएपछि कामकुरो अघि बढ्छ । शुभ मुहूर्त वा लग्न निकालिन्छ । वैदिक पण्डितद्वारा कर्मकाण्ड पद्धतिअनुसार विवाह गराइन्छ ।

मानिसमाथि देवऋण, ऋषिऋण एवं पितृऋण गरी तीन प्रकारका ऋण हुन्छन् । यज्ञयागादि कार्यद्वारा देवऋण, स्वाध्यायबाट ऋषिऋण तथा उचित तरिकाले ब्राह्म विवाह गरी पितृहरूका लागि श्राद्धतर्पण गर्नयोग्य धार्मिक एवं सदाचारी छोरो जन्माएपछि पितृऋणबाट मुक्त हुन सकिन्छ । यसरी पितृहरूको सेवा तथा सद्धर्म पालनको परम्परा सुरक्षित बनाइराख्नका लागि सन्तान उत्पन्न गर्नु नै विवाहको परम उद्देश्य हो । यसै कारण ब्रह विवाह पवित्र संस्कारको रूपमा हिन्दू समाजमा स्थापित एवं मान्यताप्राप्त छ ।

Onlinekhabar