पिण्डदान गर्न भारत पुग्ने नेपाली ठगिन्छन्

७ माघ २०७४, आईतवार

युवराज पाण्डे

बनारस, भारत, ७ माघ (रासस) ः प्रसिद्ध धार्मिकस्थल बनारस र गयामा नेपाली ठगिने गरेका छन् । धार्मिक आस्था र विश्वासका साथ तर्पण र श्राद्ध गर्न त्यहाँ पुगेका नेपाली धर्मका नाममा स्थानीय पुरोहितबाटै ठगिने गरेका हुन् ।

बनारसमा स्थानीय पुरोहितले नेपालीका लागि भनेर मुण्डन गर्ने स्थान छुट्याएर पैसा लिने गरेका छन् भने गयामा स्थानीय पुरोहितले पूजाआजा तथा श्राद्ध गर्ने स्थान पैसा तिरेर किन्नुपर्ने बाध्यतामा पार्ने गरेको छ । नेपाली त्यहाँ मुण्डन र श्राद्ध गर्न भारु ३०० देखि १० हजाससम्म तिर्न बाध्य हुन्छन् ।

“नयाँ स्थान र नयाँ परिवेशका कारण नेपालीलाई धेरै विषयमा जानकारी नहुनाले उनीहरु ठगिन्छन्” – रुपन्देही शुद्धोधन गाउँपालिकाका बमलाल भण्डारीले भन्नुभयो । नेपालबाट भारतीय तीर्थस्थल पठाउने माध्यमको खोजी गरेरमात्रै धार्मिकस्थल जान नेपालीलाई आग्रह गर्दै उहाँले त्यसरी जाँदा कम खर्चमा तर्पण र श्राद्ध गरेर घर फर्कन सकिने जानकारी दिनुभयो ।

रुपन्देहीको सैनामैना–५ नगरपालिकाका युवराज ज्ञवालीले धर्मको नाममा भारतका तीर्थस्थलहरुमा नेपालीमाथि ठगी हुँदैआएको बताउनुभयो । ती ठाउँमा आफ्नै पुरोहित लगेर पनि श्राद्ध वा तर्पणको काम गराउन नपाउनु नेपालीमाथिको अन्याय उहाँको धारणा छ ।

उहाँले वनारस र गया आउने १० वर्षअघिको धोको पूरा भएको र आफ्ना दिवंगत भएका पितृको आत्माले शान्ति पाओस् भनेर यस क्षेत्रमा तर्पण र श्राद्ध गर्न आएको बताउनुभयो ।

भारतको बनारस र गयामा हरेक वर्ष डिसेम्बरदेखि मार्चसम्म नेपालका विभिन्न जिल्लाबाट झण्डै दुई लाख नेपाली तर्पण र श्राद्ध गर्न पुग्ने गरेको बताइन्छ ।

स्थानीय पं रामकुमार ओझाका अनुसार विष्णु भगवान्ले गयासुर राक्षसलाई दबाएर मारेको र उसलाई पिण्डदान गरेकाले त्यो प्रचलन अहिलेसम्म चल्दै आएको छ । त्यसकारण मृत्युपछि पिण्डदान गरे मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । उहाँले कुनै पनि नेपालीलाई ठग्ने काम नभएको जिकिर गर्दै आफूले गरेको कामको शुल्कमात्रै लिएको बताउनुभयो ।

धुन्धकारीको मृत्युपछि बनेको प्रेतको उद्धार भएको र महाभारत युद्धमा भएको नरसंहारको कंलङ मेटाउन आफ्ना कुललाई पिण्डदान गरेको धार्मिक विश्वास रहेको पं ओझाको भनाइ छ । धेरै नेपाली भारतको बनारस नुहाउन र तर्पणका लागि जाने गर्छन् । श्राद्ध गर्न गया प्रसिद्ध मानिन्छ ।

बनारसमा बाबा विश्वनाथ मन्दिर, शृंगारगौरीमा मन्दिर, काल भैरव, दुर्गाकुण्ड, तुलसी मानस मन्दिर, संकटमोचन मन्दिरलगायतका धार्मिकस्थलमा पूजाआजा र दर्शन गर्न पाइन्छ भने गया मोक्षधामका रुपमा परिचित छ । गयामा श्राद्ध गर्नका लागि एक हजार ४०८ पण्डित छन् जसले आ–आफ्नो धर्म र संस्कारअनुसार श्राद्ध गराउने गर्छन् । भारतको प्रान्तअनुसार बेग्लाबेग्लै धर्म र संस्कारअनुसार यी तीर्थस्थलमा पिण्डदान र श्राद्ध हुने गरेको बताइन्छ ।