कसरी बन्ने पर्फेक्ट अभिभावक ?

११ पुष २०७४, मंगलवार

बच्चाका सन्दर्भमा केहि भनाई प्रचलित छन् । जस्तो कि, बालबालिका भनेका काँचो माटो हुन् । हुने बिरुवाको चिल्लो पात ।
बालबालिका काँचो माटो नै हुन्, जो परिस्थिती र परिवेश अनुसार जस्तो पनि बन्न सक्छ । एउटा बच्चाको भविष्य उनको अभिभावकले दिने वातावरणमा निर्भर हुन्छ । जब बच्चाले अनुकुल वातावरण प्राप्त गर्छ, सही बाटो समात्छ । जब अनुकुल वातावरण पाउँदैन, बाटो बिराउँछ ।

जस/अपजस अभिभावकको नै हो । बच्चालाई हुर्काउने क्रममा अभिभावकले त्यस्ता त्रुटी गरिरहेका हुन्छन्, जसले बच्चालाई पथभ्रष्ट बन्न बाध्य तुल्याउँछ । बच्चा जन्माएपछि उनीहरुलाई कसरी स्यहारसुसार गर्ने, कस्तो शिक्षादिक्षा दिने, कस्तो संस्कार सिकाउने भन्ने कुरा अभिभावकको हातमा हुन्छ ।

गुमाउँदै अभिभावकत्व

यो अवस्था खासगरी शहरिय परिवारमा पाइन्छ । पति-पत्नी दुबै व्यस्त । बच्चालाई अरुकै जिम्ममा छाड्ने वा चाइल्ड केयर सेन्टरमा राख्ने । कतिले त बच्चा हुर्काउने झन्झटबाट पार पाउन उनीहरुलाई होस्टलमा राखिदिन्छन् । अहिले यस्तो प्रवृत्ति निकै मौलाएको छ ।

बच्चा त्यही बेला आफ्नो अभिभावकसँग विमुख हुन पुग्छन्, जतिबेला उनीहरुलाई आमाबुवाको ममतामयी काखको खाँचो हुन्छ । न्यानो स्पर्शको आवश्यक्ता हुन्छ । प्रेममय छातीको तलतल हुन्छ ।

अभिभावकले बच्चाको यो अवस्था बुझ्दैनन् । त्यही कारण बच्चाहरुले अभिभावकत्व गुमाउन पुग्छन् । बच्चालाई उचित रेखदेख, हेरचाहको आवश्यक भएको बेला उनीहरुबाट विमुख हुनु भनेको पक्कैपनि राम्रो होइन ।

एक्लिदै बच्चा

अहिले के ट्रेन्ड छ भने, एउटा मात्र बच्चा जन्माउने । हामीकहाँ सन्देश नै छ, थोरै सन्तान, इश्वरको वरदान । बच्चालाई बोझको रुपमा लिने वा अभिभावकको हैसियत कमजोर भएको अवस्थालाई मध्यनजर गर्दै यो सन्देश जारी गरिएको हो । तर, यसले बच्चाहरु एक्लिदै गएका छन् । एउटा दम्पतीले एउटा मात्र बच्चा जन्माउने प्रवृत्ति छ । यसले गर्दा बच्चाले आफ्नो साथी पाउँदैनन् । आफु जस्तै दौतरी पाउँदैनन् । यसरी उनीहरु एक्लिदै गएका छन् ।

पछिल्लो समय बच्चाहरु मोवाइल, ल्यापटप आदिमा लिप्त हुनुको पछाडि उनीहरु एक्लो भएर नै हो । बच्चाले आफुलाई भुलाउनका लागि पनि मोवाइल, ल्यापटपको साहारा लिनुपर्ने अवस्था छ ।

कसरी हुर्काउने ?

बच्चाका लागि अभिभावकले साथीको भूमिका पनि खेल्नुपर्छ । उनीहरुसँग बातचित गर्ने, खेल्ने, हाँस्ने, कार्टुन हेर्ने, रमाउने गर्नुपर्छ । यसले गर्दा बच्चाहरु अभिभावकसँग घुलमिल हुन्छन् । उनीहरुले एक्लो अनुवभ गर्दैनन् ।

प्रोत्साहित गरौं

बच्चालाई शारीरिक तथा मानसिक रुपमै बलियो बनाउनुपर्छ । यसका लागि उनीहरुलाई सन्तुलित खानपानको त आवश्यक हुन्छ नै, प्रोत्साहनको पनि । बच्चालाई सानोतिनो कामका लागि प्रोत्साहित गर्नुपर्छ । हौसला दिनुपर्छ । उनीहरुले कहिले पनि आफुलाई कमजोर ठान्नु नपरोस् । अपहेलित अनुभव गर्न नपरोस् ।

बच्चाले राम्रो काम गर्ने प्रयास गर्छ भने उनीहरुलाई थप हौसला दिनुपर्छ । यसले उनमा आत्मामनोबल त बढ्छ नै, नराम्रो काम गर्नु हुँदैन भन्ने बोध पनि हुन्छ ।

बच्चालाई सुनौं

अक्सर अभिभावक के ठान्छन् भने बच्चासँग कुराकानी गर्नु आवश्यक छैन । बच्चाहरु आफै खेलिहाल्छ । तर, बच्चासँग कुराकानी गर्ने, उनीहरुको भावना बुझ्ने, इच्छा बुझ्ने प्रयास गर्नुपर्छ । हुनसक्छ, उनीहरु आफुलाई खुलस्त रुपमा व्यक्त गर्न सक्दैनन् । यद्यपी केहि कुरा गर्न खोजिरहेका हुन्छन् । यसका लागि अभिभावकले उनीहरुसँग मित्रवत् व्यवहार गर्नुपर्छ ।

तुलना नगरौं

धेरै अभिभावकले गर्ने गल्ती हो, आफ्नो बच्चालाई अरुसँग तुलना गर्ने । फलानो बच्चा यस्तो छ, यसरी पढ्छ, यसरी होमवर्क गर्छ, यसरी सफासुग्घर बस्छ, यति ज्ञानी छ, यति सिपालु छ । यसले बच्चालाई प्रेरित गर्दैन, बरु हतोत्साही गर्छ । किनभने कुनै बच्चासँग अर्को बच्चा तुलना हुनै सक्दैन । एउटा बच्चाले पढाईमा राम्रो अंक ल्यायो भने, अर्को बच्चाले पनि उत्तिनै ल्याउनुपर्छ भन्ने छैन । अर्को बच्चा चित्रकलामा अब्बल हुनसक्छ । गाउनमा सिपालु हुनसक्छ ।

कुनैपनि बच्चालाई अर्कोसँग तुलना गर्नु अभिभावकको सबैभन्दा ठूलो मूर्खता हो । संसारमा सबैमा एउटै गुण हुँदैन ।

बच्चाको क्षमता चिनौं

आफ्नो बच्चाले पढाईमा राम्रो गरेन भनेर धेरै अभिभावक गुनासो गर्छन् । जबकी त्यही बच्चाको अर्को के खुबी छ भन्ने कुरा खोज्ने काम गरिदैन ।

हरेक बच्चाको आ-आफ्नै क्षमता, खुबी हुन्छ । त्यसलाई चिन्नुपर्छ । बच्चाको क्षमता जे कुरामा छ, त्यसैमा प्रोत्साहित गर्नुपर्छ । बच्चाको उज्वल करियरका लागि पढाइमा धेरै अंक हासिल गर्नुपर्छ भन्ने पुरातन र अवैज्ञानिक मान्यतालाई त्यागौं । बरु, उनीहरुको क्षमता पहिचान गरेर त्यसलाई गोडमेल गरौं ।

onlinekhabar