कसरी बच्ने प्राणघातक चिकनगुनिया भाइरसबाट ?

December 5, 2017

जिल्ला जनस्वास्थ चितवनका अनुसार यो वर्ष चिकनगुनियाको कारणले ५ जनाको मृत्यु भयो। यो नै नेपालमा चिकनगुनिया भाइरसबाट मानवीय क्षति भएको पहिलो घटना हो। चिकनगुनिया भाइरसबाट मानवीय क्षति संसारमै अति दुर्लव मानिन्छ। यद्यपि, गत वर्ष भारतमा कम्तिमा १ दर्जनभन्दा बढीको मृत्यु यसै भाइरसका कारण भएको थियो।

यो वर्ष शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा राजधानीका विभिन्न अस्पतालबाट जाँचका लागि अएकाहरु मध्ये १४ जनामा चिकनगुनिया भाइरस देखापरेको छ भने गत वर्ष आधा दर्जनमा यो भाइरस देखा परेको थियो।

यो संख्यालाई हाल नगन्य रुपमा लिए पनि आगामी दिनमा बढ्दै नजाला भन्न सकिँदैन। काठमाडौं लगायत नेपालका विभिन्न ठाउँमा चिकनगुनिया भाइरस फैलाउने लामखुट्टे व्यापक रहेकाले यो शंकालाई बढावा दिन्छ।

चिकनगुनिया भाइरसबाट हुने जटिल संकटबारे जानकारी वा सम्भावना व्यक्त गरिएको भए पनि हालसम्मका अनुसन्धानले चिकनगुनिया संक्रमित केसमा अत्यन्त न्यून मात्र स्वास्थ्य जटिलता भएको देखाउँछ। चिकनगुनिया भाइरसको कारणले आँखा, मुटु र स्नायु प्रणालीमा जटिलता आउन सक्छ। तर, भारतमा लाखौं मानिस यो भाइरसबाट संक्रमित भएको बताइए पनि अनुसन्धानहरुले यस प्रकारका जटिलताबारे निष्कर्ष निकालेका छैनन्।

गत वर्ष भारतमा चिकनगुनिया भाइरसका कारण मृत्यु भएका एक दर्जनभन्दा बढी मध्ये अधिकांश वृद्ध र दीर्घरोगीहरु थिए भनिएको छ। तर, प्रश्न उठ्छ- के सन् २००५ मा दसौं लाखलाई संक्रमण हुँदा वृद्धहरु वा दीर्घरोगीहरु थिएनन् त? हुनत सन् २००५ मा महामारी हुँदा भारतको अहमदवादमा चिकनगुनियाको स्वतन्त्र अनुसन्धान गर्दा झन्डै १२ प्रतिशतसम्म यस भाइरसको कारणले मृत्यु भएको देखिएको थियो। तर यसमा भारत सरकारको तथ्यांक भने समावेश गरिएको थिएन।

अर्थात् अधिकारिक रुपमा यस भाइरसबाट भारतमा हालसम्म मृत्यु भएको छैन भन्ने बुझिन्छ।

सन् २००५-२००६ को चिकनगुनिया महामारीमा भारतको नागपुरमा गरेको अनुसन्धानले १६ दशमलब ३ प्रतिशतमा स्नायु प्रणालीमा जटिलता भएको देखाएको थियो। ३ जनाको मृत्यु भएको र त्यसमा अधिकांश स्नायु प्रणालीमा देखिएको जटिलताका कारणले भएको निष्कर्ष निकालिएको थियो। हालै एक अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुको एक टोलीले पनि चिकनगुनिया संक्रमणले पहिले सोचेभन्दा बढी स्नायु प्रणालीमा असर गर्ने गरेको निष्कर्ष निकाले थियो।

नेपालमा यसको असर कस्तो छ भन्नेबारे यकिन तथ्यांक छैन। हालसम्म सरकारले पनि खासै चासो देखाएको छैन। फेरि प्रश्न उठ्ला, चिकनगुनिया भाइरस देखिए पो अध्ययन वा अनुसन्धान गर्ने? भनेर। तर, होइन विश्व स्वस्थ संगठनको तथ्यांक अनुसार भारतमा सन् २००५-२००६ मा १३ लाख मानिस यो भाइरसबाट संक्रमित भएका थिए। सन् २०१७ को अप्रिलदेखि सेप्टेमबरसम्म बंगलादेशमा झन्डै १४ हजारको हाराहारीमा यस भाइरसबाट संक्रमित भएको तथ्यांक देखिन्छ। अर्को छिमेकी देश पाकिस्तानमा हाल पनि चिकनगुनिया भाइरसको महामारीमा छ।

नेपालबाट यी देशहरु भौगोलिक रुपमा नजिक छन्। अध्ययन, व्यवसाय आदि कारणले अत्यधिक मानिसको आवतजावत हुन्छ। चिकनगुनिया भाइरस फैलाउने लामखुट्टे पनि नेपालमा प्रसस्त भएको प्रमाणित भइसकेको अवस्थामा यहाँ यो भाइरस सोचे वा निदान भएभन्दा धेरै हुन सक्छ। अहिले पनि हामीले डेँगु परीक्षणलाई मात्र प्राथमिकतामा राखेर उपचार गर्ने गरे पनि त्यही लामखुट्टेले टोकेर सर्ने चिकनगुनिया भाइरसको निदानमा अझै चासो दिने गरिन्न। यो नै चिकनगुनिया भाइरस निदान नहुनु एउटा मुख्य कारण हो। धेरै यस्ता केस छन् जसको रगत परीक्षण गर्दा डेँगु नेगेटिभ देखिन्छ तर लक्षणहरु डेँगुसँग मिल्दोजुल्दो देखिन्छ वा डेँगुका केस देखा परेका स्थानबाट उपचारका लागि अएका हुन्छन्।

एकपटक हामी स्वास्थ्यकर्मीले नै सर्लाहीको लालबन्दीबाट अएका बिरामीमा अस्वाभाविक रुपमा डेँगु नेगेटिभ देखिँदा ‘लालबन्दी सिन्ड्रोम’ भन्ने गरेका थियौं। सायद यिनै केसहरु चिकनगुनिया भाइरस नहोला भन्न पनि सकिँदैन।

भारतसहित विश्वका अरु भागमा गरिएको पछिल्लो अनुसन्धानले चिकनगुनिया भाइरसले मानिसको मृत्यु गराउन सक्ने भनेर देखाएको छ, तर ती व्यक्ति अधिकांश पाका उमेरका र दीर्घ रोगीहरु थिए भनिएको छ। नेपालमा यस भाइरसबाट मृत्यु हुनेहरु कति वर्षका थिए र दीर्घरोगीहरु हुन् कि होइनन् भन्ने हाल सार्वजनिक भएको छैन। चिकनगुनिया भाइरस प्राणघातक रोग हुँदै गएको र त्यसको जोखिममा वृद्ध उमेरकाहरु रहेकोमा अब दुईमत रहेन। तसर्थ यी वर्गका व्यक्तिहरु बढी चनाखो हुनुपर्ने देखिन्छ। सरकारले पनि यसै अनुरुप योजना बनाउनुपर्ने देखिन्छ।