काठमाडौको वायुले घटाउदैछ हाम्रो आयु

December 4, 2017

बहुचर्चित अन्तर्राष्ट्रिय जर्नल ‘ल्यान्सेट’मा प्रकाशित एक अध्ययनले नेपाललाई वायु प्रदूषणग्रस्त १० देशमा छैटौं स्थानमा देखाएको छ । उक्त अध्ययन प्रतिवेदनले सन् २०१५ मा विश्वभर प्रदूषणसँग सम्बन्धित रोगबाट ९० लाख मानिसको अकालमा मृत्यु भएको समेत जनाएको छ । मृत्युको दोस्रो ठूलो कारण वायू प्रदूषण उल्लेख गरिएको छ भने पहिलो कारण पानीलाई मानिएको छ ।

ल्यान्सेटले प्रदूषणसँग सम्बन्धित मुटु रोग र मस्तिष्कघात सम्बन्धी तथ्यांकलाई विश्लेषण गरेर मृतकको संख्या यकिन गरेको हो । अध्ययनमा भनिएको छ, ‘विश्वभर अकाल मृत्युका घटनामध्ये ६० प्रतिशतको हकमा प्रदूषणसँग सम्बन्धित रोग जिम्मेवार छन् ।’ अधिकांशको मृत्यु मुटु रोग, मस्तिष्कघात र फोक्सोको क्यान्सरजस्ता नसर्ने रोगका कारण भएको उक्त अध्ययनले जनाएको छ । अकाल मृत्युको समस्या न्यून र मध्यम आय भएका मुलुकमा बढी देखिएको अध्ययनमा उल्लेख छ ।

सन् २०१५ मा गरिएको उक्त अध्ययनको प्रतिवेदन भने हालै मात्र सार्वजनिक गरिएको हो । पछिल्ला दुई वर्षमा वायु प्रदूषणको प्रकोप नेपालमा झन् बढ्दै गएको विज्ञहरु बताउँछन् । विशेषगरी काठमाडौंमा सवारी साधनको बढ्दो चाप, सडक विस्तार, भित्री सडक फराकिलो पार्न भत्काइएका घर र मेलम्ची खानेपानी आयोजनाका कारण पछिल्ला दुई वर्ष काठमाडौंबासीका निम्ति झन् सकसपूर्ण रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

आयोगले यसलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाको वायु प्रदूषण नियन्त्रण कार्ययोजना समेत बनाएको थियो, २०७३ माग २५ मा । जसले वायु प्रदूषण नियन्त्रणका लागि १२ बुँदामा कार्ययोजना बनाएर सम्बन्धित निकायहरुलाई ‘तुरुन्तै’ कार्यन्वयनमा ल्याउन भनेको थियो । तर, कार्ययोजना कार्यान्वयनमा लैजान भने सम्बन्धित निकायहरुले जाँगर चलाएका छैनन् ।

यसलाई महसुस गर्दै काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रण गर्न र सरोकारवाला निकायबीच छलफल र समन्वय गर्न सरकारले केही दिनअघि मात्रै ‘द्रूत कार्यान्वयन कार्यदल’ गठन गरेको छ ।
प्रधानमन्त्री कार्यालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीको संयोजकत्वमा वातावरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौँ महानगरपालिका लगायत सम्बन्धित निकायका प्रतिनिधि रहेको कार्यदल गठन गरिएको हो ।

कस्तो छ अवस्था ?
काठमाडौं उपत्यकाको हावामा ‘पिएम २.५’ (२ दशमलब ५ माइक्रोनभन्दा मसिना कण) को मात्रा बढिरहेको नेपाल सरकारको वायु प्रदूषण अनुगमन प्रणालीले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययन अनुसार नेपालमा पिएम २.५ को मात्रा ४९ माइक्रोग्राम÷घनमिटर छ । जबकि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वायुमण्डलमा पिएम २.५ को मात्रा १० माइक्रोग्राम÷घनमिटर भन्दा बढी हुनुलाई स्वास्थ्यका लागि हानिकारक भनेको छ । यसअनुसार काठमाडौंको वायु डब्लुएचओले तोकेको मापनभन्दा पाँच गुणा हानिकारक बनिसकेको छ ।
अघिल्लो वर्षदेखि मेलम्ची खानेपानी आयोजना र भित्री बाटो विस्तारका कारण काठमाडौं उपत्यकामा धुलो बढ्न थालेपछि जनगुनासो चौतर्फी पोखिएको थियो । त्यसपछि मात्रै राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीकोको अगुवाइमा २०७३ पुष २७ मा सरोकारवाला र विज्ञहरुबीच अन्तक्र्रिया भएको थियो । उक्त अन्तक्र्रियापछि २०७३ माघ ५ मा वातावरण विभागका महानिर्देशकको अध्यक्षतामा एउटा कार्यदल गठन गरियो । कार्यदलले विभिन्न अनुसन्धानको अध्ययन र सरोकारवालाहरुसँगको छलफलका आधारमा ‘काठमाडौं उपत्यकाको वायु प्रदूषण नियन्त्रण’ कार्ययोजना बनाएको थियो । कार्ययोजनाले स्पष्ट रुपमा कुन निकायले कुन जिम्मेवारी तुरुन्तै निर्वाह गर्ने र कुन काम आगामी आर्थिक वर्षमा गर्ने भन्ने स्पष्ट किटान गरेको थियो । तर, झन्डै एक वर्ष वितिसक्दा पनि कार्ययोजना अनुसार सम्बन्धित निकायले वायु प्रदूषण नियन्त्रणका लागि काम थालेको देखिँदैन ।
मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले भनेका थिए, ‘कार्ययोजना बनेको एक वर्ष बित्न लागिसक्यो । तर, अझै कार्यान्वयनमा उलेख्य प्रगति भएन ।’

कसरी गर्छ वायु प्रदूषणले हानी ?
धुलोका कणलाई ‘पिएम २.५’ र ‘पिएम १०’ मा मापन गरिन्छ । पिएम १० भन्दा पिएम २.५ साना कण हुन् । यी कणलाई नाकको रौं र घाँटीको प्रतिरोधी प्रणालीले रोक्न सक्दैन । वीर अस्पतालका छातीरोग विशेषज्ञ डा अशेष ढुंगानाका अनुसार यस्ता कणमा स्वास्थ्यलाई गम्भीर असर गर्ने पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्वन जस्ता विषालु रसायनिक पदार्थ र गह्रौं धातुका कण टाँसिएका हुन्छन् ।

उनी भन्छन्, ‘त्यस्ता कण श्वासप्रश्वासका क्रममा सोझै फोक्सोमा पुग्छन् । लामो समयसम्म यस्ता पदार्थको सम्पर्कमा रहने व्यक्तिमा श्वासप्रश्वासका सामान्यदेखि सिओपिडीजस्ता कडा रोग लाग्ने तथा फोक्सोमा क्यान्सर उत्पन्न हुन सक्छ ।’

ढुंगा, बालुवा, सिमेन्ट मिसिएका सडक, घर आदि भौतिक संरचना भत्काउँदा निस्किएको धुलो नै काठमाडौँको आकासमा फैलिएको धुलोको प्रमुख स्रोत हो । ‘यसमा सल्फेडाइअक्साइड, नाइट्रेटअक्साइड, सिलिका, ग्रेनाइट जस्ता रसायनिक तत्व नहोला भन्न सकिन्न,’ काठमाडौं मेडिकल कलेजकी इन्टरनल मेडिसिन विभाग प्रमुख डा अर्पणा न्यौपाने भन्छिन्, ‘सिलिका जस्ता हानिकारक तत्व फोक्सोमा गएपछि क्षयरोग र फोक्सोको क्यान्सर हुने सम्भावना रहन्छ ।’

अहिले काठमाडौंमा श्वासप्रश्वास सम्बन्धी समस्या, आँखा बिझाउने, आँखा रातो हुने, आँशु आइरहने र सुख्खा हुने समस्या भएका बिरामी बढिरहेको डा न्यौपाने बताउँछिन् । वायु प्रदूषणकै कारण मुटु सम्बन्धी रोग पनि लाग्ने उनले बताइन् । उनी भन्छिन्, ‘श्वासप्रश्वासको माध्यमबाट छिरेका हानीकारक कण कार्डियो भास्कुलर प्रणालीमै पुगेपछि शरीरको जताततै असर पुग्छ । ती त साना कणले पार्ने असर हुन् ।’

नियन्त्रणका लागि कसले के गर्नुपर्ने ?
वातावरण मन्त्रालयले १० वर्षअघि गरेको अध्ययन अनुसार करिब ३८ प्रतिशत वायु प्रदूषण गाडीको धुवाँ, करिब २५ प्रतिशत सडकको धुलो, करिब १९ प्रतिशत फोहर, कृषिजन्य अवशेष बाल्नाले र करिब ११ प्रतिशत इँटाभट्टाको कारण हुनेगर्छ । तर, पछिल्लो समय गाडीको धुवाँ र सडकको धुलोका कारण हुने प्रदूषणमा अझै वृद्धि भएको विज्ञहरुको अनुमान छ ।

वायु प्रदूषण नियन्त्रण कार्ययोजनामा जनसंख्या तथा वातावरण मन्त्रालय, नगरपालिकाहरु र वातावरण विभाग मिलेर फोहर संकलन कार्य प्रभावकारी बनाउने र खुला रुपमा फोहर जलाउन प्रतिबन्ध लगाउने भनिएको छ ।

यस्तै, सडक विभाग, मेलम्ची आयोजना, नगरपालिका र वातावरण विभागलाई खनेका सडक तुरुन्त पुर्न, कालोपत्रे गर्ने समयसीमा तोक्न र पानी छर्कने व्यवस्था मिलाउन भनिएको छ । ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले सवारी साधनको प्रदूषण जाँच प्रणाली ‘हरियो स्टिकर’लाई उपत्यकाका सवै सवारी साधनमा अनिवार्य लागू गर्न निर्देश गरेको छ ।

विद्युतीय सवारी साधन, आवश्यक उपकरण, ब्याट्री र पार्टपुर्जामा लाग्दै आएको भन्सार शुल्कलाई शून्य बनाउन र पेट्रोलियय पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गर्न वैधता प्रदान गर्ने कार्यको जिम्मा अर्थ र जनसंख्या तथा वातावरण मन्त्रालयले पाएका छन् । उनीहरुलाई भनिएको छ, ‘राजनीतिक नेता तथा सरकारी उच्च पदस्थ अधिकारीहरुलाई विद्युतीय सवारी साधनको प्रयोग गराउने ।’

ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायातलाई प्रभावकारी बनाउन काठमाडौंमा दीगो यातायात आयोजनालाई सक्रिय बनाउने कार्ययोजनामा उल्लेख छ ।

वायु प्रदूषण नियमन र निरीक्षण गर्ने निकायलाई अधिकार सम्पन्न र सक्षम बनाउन भौतिक पूर्वाधार, जनसंख्या तथा वातावरण, गृह र अर्थ मन्त्रालयलाई भनिएको छ । जस अन्तर्गत वातावरण संरक्षण परिषद्लाई पुनः सक्रिय बनाउने भनिएका छ ।

अपेक्षित रुपमा कार्यायोजना कार्यान्वयन हुन नसकेपछि प्रधानमन्त्री कार्यालय आफैंले अगुवाइ लिएको हो । द्रूत कार्यान्वयन कार्यदलका संयोगजक नारायणप्रसाद रेग्मीका अनुसार कार्ययोजनामा भएका १२ वटा क्रियाकलाप प्रभावकारी रुपमा कार्यान्वयन गराउनु कार्यदलको प्राथमिकता हुनेछ । उनी भन्छन्, ‘त्यस बाहेक पनि प्रदूषणलाई सकेसम्म द्रूत रुपमा नियन्त्रण गर्न जरुरी लागेका काम गरिनेछ ।’

स्वास्थ्य खबर