१४ मंसिर २०७८, मंगलवार
November 30, 2021, Tuesday

एचआइभी संक्रमित मनिताको अनुभवः समाज फेरिएको छ, अरुसरहै बाँचिन्छ

एचआइभी संक्रमित मनिताको अनुभवः समाज फेरिएको छ, अरुसरहै बाँचिन्छ

१५ मंसिर, सिमरा । ३० औं विश्व एड्स दिवस संसारभर मनाइरहँदा बाराको सिमरामा अरुणोदय युवा क्लबले आयोजना गरेको कार्यक्रममा पथलैया निवासी मनिता तामाङले निर्धक्कसँग भनिन् ‘म एचआईभी संक्रमित हुँ ।’

नेपालमा एचआईभी संक्रमितको अवस्था र तथ्यांक अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यसको मुख्य कारण संक्रमितहरुले रोग लुकाउनु नै हो । तर, मनिताले एचआईभी संक्रमित हुनु पूर्वजन्मको पाप नभएको र यो कुनै अपराध नभएको बताइन् । मनिता अहिले एचआइभीबारे समाजलाई बुझाउने अभियानमा लागेकी छन् ।

मनिता अहिले ३७ बर्षकी भइन् । उनले १७ बर्षको उमेरमा ३५ वर्षीय रामबहादुर लामासँग बिहे गरिन् । सानै उमेरमा पाको मानिससँग मागी विवाह गरेपछि मात्रै उनलाई थाहा भयो कि रामबहादुरले उनीसँग दोस्रो बिहे गरेका रहेछन् । पहिलेकी श्रीमतीको मृत्यु भएपछि रामबहादुरले मनितालाई भित्र्याएका थिए ।

विवाहपछि केही वर्ष राम्रै चल्यो । मनिताले पथलैयाको एक विद्यालयमा खाजा पसल खोलिन्, श्रीमान गाडी चलाउँथे, सानो र सुखी परिवारको रुपमा जीवन चलिरहेकै थियो । बिहेको केही वर्षमै दुई सन्तान जन्मिए ।

सानो र सुखी परिवारमा एकाएक ब्रजपात पर्‍यो । श्रीमान लगातार बिरामी परेपछि उपचारका लागि वीरगञ्ज पुर्‍याउँदा बल्ल मनितालाई थाहा भो कि उनका श्रीमान एचआईभी संक्रमित थिए ।

त्यतिमात्र होइन, आफू पनि संक्रमित भएको त्यतिबेलै थाहा भएपछि मनिताका लागि जिउँदै मरेसरह भयो । मनिता यौन अनुशासनमा बसेकी निर्दोष युवती हुन्, तर उनमा एचआइभी संक्रमित भयो ।

‘मलाई पहिले किन भन्नुभएन ?’ मनिताले त्यतिबेलै श्रीमानसँग सोधेकी थिइन् । उनका श्रीमानले हाँस्दै भनेका थिए रे, ‘यो सामान्य कुरा हो ।’

यसको अर्थ रामबहादुरले त्यसबेलासम्म एचआईभी लुकाइराखेका थिए । रामबहादुरले रक्सौलको डङकनमा परीक्षण गर्ने गरेका रहेछन् ।

‘आफू पनि एचआईभी संक्रमित भएको थाहा पाएपछि ममतालाई केही दिन घरबाटै बाहिर निस्कनै मन लागेन । उनलाई श्रीमानको अनुहार नै हेर्न मन लागेन । उनलाई अब धेरै समय बाँच्दिनँ जस्तो लाग्यो,’ उनले अनलाइनखबरसँग हाँस्दै भनिन् – ‘आखिर भाग्यमा जे छ, त्यही भोग्नुपर्ने त रहेछ नि !’

कथाको दुःखान्त मोड

संक्रमित बनेको थाहा भएको ७ महिनापछि श्रीमान सामान्य रोगको उपचार गराउँदा गराउँदै बिते । भएको जायजेथा उपचारमै सकियो । साना काखमा छोराछोरी, मनिताको वास्तविक संघर्ष त्यसपछि सुरु भयो । आफैं संक्रमित, त्यसमा पनि दुई लालाबालाको हेरचाह र पालनपोषणको जिम्मेवारी ।

स्थानीय बिद्यालय नजिकै समोसा बेचेर अलिअलि आर्थिक जोहो गर्ने उनी अब त आफूले बनाएको खानेकुरा पनि कसैले नखाने हो कि भन्ने डरले समाजमा खुल्न सकिनन् ।

जीवन गुजारासँगै बालबच्चाको राम्रो शिक्षाका लागि उनले बैदेशिक रोजगारीका लागि प्रयास पनि गरिन् । ‘पैसा कमाउन बिदेश जान पनि खोजेकी थिएँ, दिल्लीमा पुगेर स्वास्थ्य परीक्षणपछि विदेश जानबाट बञ्चित भएर फर्किनुपर्‍यो,’ उनले सुनाइन् – ‘अरु साथी कमाउन गए, म फर्किएँ ।’

संक्रमित भएकाहरुको सामाजिक सुरक्षाका लागि काम गर्ने संस्था जीडब्ल्यूपीमा भीसीडी गरियो, त्यहाँबाट पनि एचआईभी पोजेटिभ आएपछि सोही संस्थाले बिभिन्न स्थानमा तालिम र सेमिनारहरुमा सहभागी गराएपछि ममताको जीवनको फेरियो ।

रुँदारुँदैको हाँसो

संस्थामा आवद्ध भएपछि ममताले के बुझिन् भने गायकदेखि खेलाडीस्ाम्मका मानिस पनि एचआईभी संक्रमित हुने रहेछन् । त्यसपछि आफ्नो सम्ास्या सामान्य लाग्दै गएको उनले सुनाइन् ।

र, बिस्तारै उनी समाजमा खुल्दै गइन् ।

तथापि विभिन्न समस्याहरु भोग्नुपरेको ममताले सम्झिइन् ।

‘बच्चालाई सामान्य घाउ खटिरा आउँदा पनि छिमेकीले बच्चालाई मेरै रोगसँग जोडेर हेर्थे, दुख लाग्थ्यो,’ उनी भन्छिन् – ‘मम्मी हजुरलाई लागेको रोग मलाई पनि लाग्न सक्छ रे, जाम न अस्पताल भनेर छोराले आग्रह गर्दा सारै रुन मन लाग्थ्यो ।’

ममताले अगाडि भनिन्- ‘त्यही भएर पनि छोराछोरीलाई संक्रमण छ कि भनेर डर लाग्थ्यो, तर पटक-पटकको परीक्षणमा संक्रमणमुक्त भएको थाहा पाउँदा चाहिँ खुसी लाग्यो ।’

मनिता संक्रमित भएको अहिले ११ बर्ष बित्यो । उनी सेफ द चिल्ड्रेन को आर्थिक सहयोगमा एचआईभीबिरुद्धको अभियानमा काम गर्ने सिमरामा रहेको अरुणोदय युवा क्लबमा ४ बर्षदेखि कर्मचारीका रुपमा कार्यरत छिन् ।

उनका दुई सन्तान १६ बर्षको छोरो र १८ बर्षकी छोरीलाई स्थानीय विद्यालयले निःशुल्क पढाइरहेको छ । छोराछोरी दुबै संक्रमण मुक्त छन् ।

समाज सकारात्मक भएको अनुभूति

बारा जिल्लामा सन् २००९ यता २२३ जनामा एचआईभी संक्रमित भेटिएका छन् । जसमध्ये २९ जनाको मृत्यु भइसकेको छ भने १४ जना जिल्लाबाट बसाइँ सरेका छन् । समाजले गर्ने व्यवहारका कारण धेरै मानिसहरु अहिले पनि खुल्न सकिरहेका छैनन् । तर मनिता यस्ती हिम्मतवाली छिन् कि आफैंले भन्दैछिन् कि ‘हो म एचआईभी संक्रमित छु ।’

आफूहरुलाई हेर्ने सवालमा पहिलेको भन्दा अहिले समुदाय अलि सकारात्मक भएको ममताको अनुभव छ ।

‘म अहिले आफूजस्तै संक्रमितहरुको उपचारमा काम गरिरहेकी छु, समाजमा खुल्न सके संक्रमित भए पनि बर्षौंसम्म अरुसरहै बाँच्न सकिन्छ,’ ममता भन्छिन् – ‘अब समुदाय फरक भइसकेको छ, पहिलेजस्तो छुनै नहुने भन्ने भ्रम हटिसकेको छ ।’

समाजसँगको डरले गर्दा बेलैमा उपचार पाउन नसकी श्रीमान बितेको र श्रीमानकी पहिली श्रीमती पनि सोही कारण बितेकी हुन सक्ने मनिताको अड्कल छ ।

श्रीमानसँग अब उनको कुनै गुनासो रहेन । तर, संक्रमित भएको थाहा पाइसकेपछि चाँडै परिवारका सदस्यलाई जानकारी नगराएकोमा भने उनलाई सधैं खडि्करहन्छ ।

Related News

जसले ९१ पटक रक्तदान गरे
जसले ९१ पटक रक्तदान गरे
  • १५ मंसिर २०७४, शुक्रबार

विराटनगरका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९१औँ पटक रक्त्तदान गरेका छन्। विराटनगर ट्राफिकचोकमा संगीता मेडिकल हल नामको औषधि पसल सञ्चालन गर्दै...

एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम लाई सहयोग
एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम लाई सहयोग
  • १५ मंसिर २०७४, शुक्रबार

एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम क्षेत्रमा Covid-19 को सम्भाबित संक्रमण बाट वच्न र रोकथाम को...

धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस ललितपुर आयुर्वेदमा यसरी मनाईयो
धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस ललितपुर आयुर्वेदमा यसरी मनाईयो
  • १५ मंसिर २०७४, शुक्रबार

सामाजिक विकास मन्त्रालय, प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ताल्छिखेल, ललितपुरका तथा निजी आयुर्वेद कम्पनीहरुको संयुक्त सहभागितामा धन्वन्तरी जयन्ती...

TOP