१७ श्रावण २०७८, आईतवार
August 1, 2021, Sunday

पैसाको अभावमा संसार नदेखी फर्कनु पर्दैन मोतियाविन्दुका बिरामी

पैसाको अभावमा संसार नदेखी फर्कनु पर्दैन मोतियाविन्दुका बिरामी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका ७५ वर्षीय हर्कजीत माझी आँखा नदेखेपछि माछा मार्ने पेशा छाडेर मागेर हिँड्न थाल्नुभयो ।

सोही ठाउँमा आँखा शिविर गर्न जाँदा उनको अवस्थाबारे थाहा पाएपछि तत्कालै उद्धार भयो । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा निःशुल्क उपचार गरेपछि उहाँले आँखा देख्न थाल्नुभयो । अहिले पुरानै पेशा माछा मारेर आफ्नो गुजारा गर्दै हुनुहुन्छ माझी ।

सल्यानटारको नर्सिङधाम आँखा उपचार केन्द्रका नेत्र सहायक रामबाबु कँडेल भन्नुहुन्छ, “दुई दिनअघि भेट भएको थियो, उहाँ मजाले माछा मार्दै हुनुहुन्छ ।” पुरानै पेशामा फर्किएको देख्दा खुशी भएको उहाँ बताउनुहुन्छ ।

चैतको २० गते चितवनको पदमपुरमा आँखा शिविर हुँदा धेरै वृद्धवृद्धामा मोतियाविन्दु देखियो । पूर्वी चितवनको पदमपुरकी ५२ वर्षीया चित्रकुमारी चौधरी, ६५ वर्षीया खुंकी थरुनी, रुपमायाँ तिमिल्सिना, ६२ वर्षीया फगुना महत्तो, ६५ वर्षीया न्याउरी महत्तो, ६८ वर्षीया राती महत्तोलगायत नौ जनाको पनि भरतपुर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरी आँखा देखाएर पठायो ।

“असहाय र गरीबलाई हामी खोजीखोजी ल्याउँछौँ र उपचार गर्छाैं”, नेपाल नेत्रज्योति संघका सदस्य केशव अधिकारीले भन्नुभयो, “कहीँ कतै फेला परे ल्याइदिए हुन्छ, उहाँहरुलाई आँखा देखाएर पठाउँछौँ ।”

गएको चैत महिनामा पनि चितवनको देवघाटमा बस्ने १२ जना वृद्धवृद्धाको उपचार भयो । उनीहरुको आधा रकम नेत्रज्योति संघ चितवनका कार्यवाहक सभापति कृष्णराज धरेलले सहयोग गर्नुभयो । आधा रकम भने अस्पतालले सहयोग गरेर उनीहरु आँखा देख्ने भएर फर्किए ।

कालिका नगरपालिकाका ८० वर्षीय टनबहादुर परियार होस् या खैरहनीका ६० वर्षीय मनकुमारी चौधरी, भरतपुर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरेपछि अहिले आँखा देख्ने भएका छन् । उनीहरुका लागि हातबाट शल्यक्रिया गर्दा रु ६ हजार ८१० लाग्छ मने आधुनिक मेसिनबाट गर्दा रु १२ हजार ६१० पर्छ । यति रकम जुटाउन धौधौ पर्नेहरुले निःशुल्क सेवा पाउँदा खुशी हुने गरेका छन् ।

भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरे भन्नुहुन्छ, “मोतियाविन्दु भएर आएका बिरामीलाई पैसा छैन भनेर हामी फिर्ता पठाउँदैनौँ ।” उहाँका अनुसार अन्य बिरामीलाई समेत सहुलियतमा सेवा दिने गरिएको छ ।

अघिल्लो वर्ष भरतपुर आँखा अस्पतालले तीन हजार ५२२ जना विपन्नको आँखाको शल्यक्रिया गरेको छ । त्यसमा दुई हजार १६ जनाले निःशुल्क सेवा पाएका छन् भने एक हजार ५०६ जनाले ५० प्रतिशत छुटमा सेवा पाएका छन् ।

अघिल्लो वर्ष अस्पतालमा एक लाख सात हजार ५३९ जनाको आँखा परीक्षण भएको थियो । जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित नौ वटा आँखा उपचार केन्द्रमा २८ हजार ५६ जनाले सेवा पाएको र विभिन्न आँखा शिविरबाट २४ हजार ७७६ जनाले सेवा पाएको तथ्यांक आँखा अस्पतालसँग छ । कूल गरेर एक लाख ६० हजार ३७१ जनाले सेवा पाएको सूचना अधिकारी घिमिरे बताउनुहुन्छ । त्यसमा सात हजार ४२३ जनाको शल्यक्रिया भएको तथ्यांक छ ।

नेपाल नेत्रजयोति संघले विभिन्न तालीम, जानकारी तथा प्रशिक्षणका कार्यक्रमसमेत गरेर आँखा सुरक्षाबारे जानकारी दिने गरेको संघका कार्यवाहक सभापति कृष्णराज धरेल बताउनुहुन्छ ।

देशमा ३८ वटा शाखा भएको नेत्रज्योति संघबाट देशका विभिन्न क्षेत्रमा १८ वटा आँखा अस्पताल सञ्चालनमा छन् । ८० वटा बढी आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के नेपालमा आँखाका बिरामीमध्ये ९० प्रतिशतलाई संघद्वारा सञ्चालित अस्पताल र उपचार केन्द्रबाट सेवा दिने गरिएको दाबी गर्नुहुन्छ । ती अस्पतालमा सेवा प्रभावकारी र सस्तो भएकाले भारत, बंगलादेश र भुटानका बिरामी समेतले उपचार लिने गरेको मास्के बताउनुहुन्छ ।

उहाँले सरकारले गर्न नसकेको काम दाताहरुको सहयोगमा गरिरहेको बताउनुभयो । ठाउँठाउँमा आँखा बैंकसमेत शुरु गरेको संघले गएको एक वर्षमा देशभर गरेर कूल दुई करोड ७७ लाख ३२ हजार १८६ लाई ओपिडी सेवा दिएकामा ३७ लाख २८ हजार ६२२ जनाको शल्यक्रिया भएको तथ्यांक छ ।

Related News

एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम लाई सहयोग
एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम लाई सहयोग
  • १२ बैशाख २०७५, बुधबार

एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम क्षेत्रमा Covid-19 को सम्भाबित संक्रमण बाट वच्न र रोकथाम को...

धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस ललितपुर आयुर्वेदमा यसरी मनाईयो
धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस ललितपुर आयुर्वेदमा यसरी मनाईयो
  • १२ बैशाख २०७५, बुधबार

सामाजिक विकास मन्त्रालय, प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ताल्छिखेल, ललितपुरका तथा निजी आयुर्वेद कम्पनीहरुको संयुक्त सहभागितामा धन्वन्तरी जयन्ती...

गायक सिताराम पोखरेलको एल्बम ‘अल्कोहोलिक लभ’ दलित बस्तीमा बिमोचन
गायक सिताराम पोखरेलको एल्बम ‘अल्कोहोलिक लभ’ दलित बस्तीमा बिमोचन
  • १२ बैशाख २०७५, बुधबार

विराटनगर, १७ असोज । दलित बस्तीका बालबालिकाहरूसँग आफ्नो जन्मदिन मनाउँदै आधुनिक गायक सिताराम पोखरेलले आफ्नो सातौँ गीति एल्बम बिमोचन गरेका...

TOP