अझै पनि एसइइको भय कायमै

११ असार २०७५, सोमबार

सानो बच्चामा डर हुँदैन। जब उसको उमेर बढदै जान्छ, आमाबुबाले भनेको कुरा मान्न छाड्छ, उसलाई ‘आज्ञाकारी’ बनाइराख्न विभिन्न हाउगुजीको प्रयोग गरिन्छ। जुन कुरासँग ऊ धेरै डराउने हुन्छ, त्यसकै सहारा लिइन्छ। उसले खान नमानेमा खाना खुवाउन, नुहाउन नमानेमा नुहाउन वा अन्य कुनै उट्पट्याङ गरे त्यसबाट रोक्न यस्तै हाउगुजीहरूको सहरा लिइन्छ।

मनोविज्ञहरूका अनुसार यस्ता हाउगुजी देखाएर बच्चाबच्ची तह लगाउनु राम्रो होइन र यसले बालबालिकाको मनोविज्ञानमा नराम्रो असर गर्दछ। र, पनि अधिकांश अभिभावक कुनै न कुनै रुपमा यस्तो हाउगुजीको प्रयोग गर्छन्। यसको असर थाहा नभएर गर्नुलाई त अज्ञानता भन्न सकिएला तर ‘शिक्षित’ परिवारमा पनि यस्तो भएमा के भन्ने?

प्रसंग माध्यामिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को हो। यो परीक्षा विद्यार्थी जीवनको एउटा नियमित परीक्षा हो। एउटा विद्यार्थीले आफ्नफ शैक्षिक जीवनमा यस्ता अनगिन्ती परीक्षाको सामना गर्नुपर्ने हुन्छ। तर हामीले एउटा नियमित जाँचलाई हाउगुजी बनाइदिएका छौँ- अविभावक, शिक्षक, सञ्चारकर्मी सबै मिलेर।

एसईई परीक्षालाई छोडेर कक्षा १ देखिको कुरा गर्ने हो भने स्नातकोत्तरसम्मको पढाइ सक्दा एउटा विद्यार्थीले करिब १९ वटा जति अरु परीक्षामा सामेल हुनुपर्दछ। तर, सबै परीक्षाहरूका समाचारलाई जोड्दा जति संख्या हुन्छ, त्यसको पचासौँगुना बढी एसएलसीको मात्र समाचार संचारमाध्यमहरूमा आउने गर्छ। एसईई परीक्षा सुरु हुनु एक महिना पहिलेदेखि एसईईको नतिजा प्रकाशित भएको एक महिनापछिसम्म कुनै न कुनै रुपमा एसईईसँग जोडिएका समाचार आइरहन्छन् हाम्रा मिडियामा। मानौँ जिन्दगीको यो नै सबैभन्दा ठूलो कुरा हो र यसलाई जसरी पनि पास गर्नुपर्छ भनेजस्तो। रमाइलो त के भने एसईईको मात्र समाचारले विभिन्न संचारमाध्यममा स्थान पाइरहँदा एसईईपूर्व तथा एसएलसी पछिका विभिन्न परीक्षा कहिले सञ्चालन हुन्छन, कहिले त्यसको नतिजा प्रकाशित हुन्छ भन्ने नियमित कक्षामा जाने विद्यार्थीबाहेक अन्यलाई थाहा नै हुँदैन। यसरी हामीले नै एसईईलाई सगरमाथाभन्दा अग्लो पहाड बनाइदिएका छौँ जसलाई जसरी पनि वारपार गर्नुपर्ने।

एसईई भनेको लामो स्कुले जीवनबाट पार पाउने एउटा तह हो। अझ एसएलसी भनिने परीक्षालाई एसईई नाम दिइएपछि त यो माध्यमिक तहको परीक्षामा सीमित हुनुपर्ने थियो। नामैले पनि यो सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) अर्थात माध्यामिक शिक्षा परीक्षा, स्कूले जीवनको माध्यमिक तह पार गर्ने एउटा परीक्षा मात्रै हो। तर एसएलसी परीक्षा एसईईमा रुपान्तरण हुँदासम्म पनि यो परीक्षालाई ठूलो हाउगुजी बनाइएको छ। समाजका प्रायः सबैजसोले यसलाई ‘फलामे ढोका’ भन्दिए। नतिजा ग्रेडिङ प्रणालीमा आउँदा समेत त्यसलाई प्रतिशतमा रुपान्तरण गरेर सामाजिक संञ्जालहरूमा बधाई दिने अभिभावककव कमी हुन सकेको छैन।

यो परीक्षा पास गरिएन भने संसारै डुब्छ भनेर सिकाउँदै आइएको छ। यस्तै सिकाइका कारणले नै यो परीक्षा दिनानुदिन अमर्यादित बन्दै गएको छ। यही कारणले प्रत्येक वर्ष परीक्षामा नक्कली परीक्षार्थी भेटिने, निरीक्षकले नै परीक्षार्थीलाई सिकाउने लगायतका विभिन्न अमर्यादित कार्य यसैको परिणाम हो। हुन पनि यति ठूलो हाउगुजीको सामना गर्न त सबै प्रकारकाले तयार हुनैपर्‍यो नि, अनि किन नभेटिउन् बोराका बोरा चिट परीक्षाहलमा।

साँच्चिनै हामीले यो परीक्षालाई यति ठूलो कुरा हो भन्ने भान विद्यार्थीहरुमा पारिदिएका छौँ कि परीक्षामा सामेल भएका आधाजतिले उच्च शिक्षाको बाटोतिर अघि बढ्दै गर्दा आधाजति अनुत्तीर्णको बिल्ला भिरेर गन्तव्यविहीन हुन्छन्। यी गन्तव्यहीनमध्ये केहीले आत्महत्या गरेका विगतको अनुभव हामीमाझ छन्।

विद्यार्थीलाई जसरी पनि उत्कृट नतिजा ल्याउन बाध्य पारिनु हुँदैन। हुन त स्कूलबाट धेरै विद्यार्थी पास भएर विद्यार्थीले उत्कृष्ट नतिजा ल्याए सबैका लागि राम्रो हुन्छ। तर यही एउटा परीक्षालाई ठूलो हाउगुजी बनाएर इज्जत र प्रतिष्ठा नै परीक्षाको परिणाममा नाप्नुचाहिँ गलत हो। यसलाई जति ठूलो हाउगुजी बनाएर प्रचार गरिन्छ, उति नै यसको परिणाम पनि ओरालो लाग्छ।

एसईई, अध्ययनको एउटा तह मात्र हो, मानव जीवनको अन्तिम परीक्षा होइन। अर्को कुरा यो परीक्षा बिग्रँदैमा उच्च शिक्षा पनि बिग्रन्छ भन्ने पनि छैन। कतिपय विश्वप्रसिद्ध व्यक्तिहरू पनि अध्ययनमा अनुत्तीर्ण भएका उदाहरणहरू हामी सामु छन्। यसको अर्थ अध्ययनमा अनुत्तीर्ण भए पनि हुन्छ भन्ने चाहिँ होइन। अर्थ के मात्र हो भने एसईईको अंकले मात्र जीवन सफल वा असफल भन्ने हुँदैन। विलियम सेक्सपियर ५ कक्षामा दुईपटक फेल भएका, रवीन्द्र ठाकुर एसएलसीमा सातपटक फेल भएका, महात्मा गान्धी तेस्रो डिभिजनमा एसएलसी पास भएकाजस्ता थुप्रै उदाहरण हाम्रा सामु छन्।

त्यसैले आम अभिभावक, शिक्षक, विद्यार्थीहरूले विद्यार्थीहरूमा मनोवैज्ञानिक असर पर्ने गरी यो परीक्षा नै जीवनको सबैभन्दा ठूलो कुरा हो भन्ने भ्रमको पैदा गर्ने खालका कुरा गर्न आजैबाट छाड्नु पर्दछ। संञ्चारमाध्यमहरूले पनि एसईईकोमात्र समाचार प्रकाशन प्रशारण गर्नुभन्दा शिक्षाका अन्य विभिन्न पाटा केलाएर खोजमूलक शैलीका समाचार पस्कने प्रयास गर्नुपर्छ। यो कार्यले एसईई परीक्षा मर्यादित मात्र बनाउँदैन, कम अंक ल्याउँदा गलत कार्य गर्न पुग्ने र आत्महत्या समेत गर्न पछि नपर्ने प्रवृत्तिलाई रोक्न समेत मद्दत गर्छ।

अझ महत्वपूर्ण कुरा के हो भने कुनै पनि व्यक्ति समाजमा कसरी प्रस्तुत हुन्छ र समाजलाई के योगदान दिन्छ भन्ने कुराले जति महत्व राख्छ, त्यति एसईईमा प्राप्त अंकले पक्कै राख्दैन तर पनि हामी एसईईको अंकलाई प्रतिष्ठाको विषय बनाउँदै आएका छौँ र परीक्षालाई एउटा हाउगुजीका रुपमा प्रस्तुत गरिरहेका छौँ। हामीले जबसम्म यस परीक्षालाई हाउगुजीका रुपमा प्रस्तुत गरिरहन्छौँ, हाम्रा सन्ततीहरूलाई यसले सधैँ सधैँ तर्साइरहन्छ।

annapurnapost