पुरुषलाई हराउने हिम्मतदार महिला

२७ मंसिर २०७४, बुधबार

चुनाव जित्न सक्दैनन् र पैसा खर्च गर्न सक्दैनन् भन्दै प्रमुख राजनीतिक दलहरूले महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गर्दै न्यून संख्यामा उम्मेदवार बनाए । यसैकारण प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख राजनीतिक दलहरू महिलालाई उम्मेदवार बनाउँन गरेको कन्जुस्याइँका कारण निकै आलोचित पनि बने ।

महिलाले पनि के चुनाव लड्छन् र भन्दै जतासुकै महिला नेताहरूको क्षमतामा प्रश्न गर्ने र उछिट्टो काट्ने पुरुष मानसिकतालाई आम जनताले देखाइदिए, ‘यसरी जित्छन् महिलाहरू भनेर…।’

बलिया पुरुष प्रतिस्पर्धीलाई भारी मत अन्तरले पराजित गर्दै विजयी भएका महिला नेताहरूले प्राप्त गरेको मत नै पुरुषवादी चिन्तन विरुद्धको बलियो झापड हो । यसले महिलाको अस्तित्व स्वीकार नगर्ने सोचहरूलाई भनिरहेको छः महिलाहरूलाई अवसर चाहिएको हो, प्रतिस्पर्धा गर्न उनीहरूसक्षम छन् ।

हालसम्म घोषित मत परिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका पाँच र प्रदेशसभा सदस्यमा बाह्र महिलाले पुरुष प्रतिस्पर्धीलाई भारी मत अन्तरले पराजित गरिसकेका छन् । यी हुन् प्रतिनिधिसभामा विजयी महिलाहरूः

बिना मगर

विजयी महिला उम्मेदवार मध्ये कञ्चनपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी बिना मगरले सबै भन्दा बढी मत अन्तरले आफ्ना पुरुष प्रतिस्पर्धीलाई पराजित गरेकी छन् ।

उनले नेपाली कांग्रेसका दिवानसिंह विष्टलाई १९ हजार २ सय ४८ मत अन्तरले पराजित गरेकी हुन् । बिनाले ३८ हजार ४ सय ६७ प्राप्त गरिन् भने विष्टले १९ हजार २ सय १९ मत प्राप्त गरेका थिए ।

दुर्गा पौडेल

प्रतिनिधिसभा सदस्यका लागि एकमात्र क्षेत्र रहेको प्यूठानमा वाम गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले नेपाली कांग्रेसका उम्मेदवार प्रा.डा.गोविन्दराज पोखरेललाई १६ हजार २ सय २८ मतान्तरले पराजित गरिन् ।

पौडेलले ४७ हजार ५ सय १४ मत ल्याइन् भने कांग्रेस उम्मेदवार तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पोखरेलले ३१ हजार २८६ मत पाए ।

पवित्रा निरौला खरेल

त्यस्तै झापा क्षेत्र नम्बर २ बाट वाम गठबन्धनकी उम्मेदवार नेकपा एमालेकी पवित्रा निरौला खरेलले १३ हजार ७ सय ६७ मत बढी ल्याई नेपाली कांग्रेसका उम्मेदवार उद्धव थापालाई पराजित गरिन् ।

खरेलले ४५ हजार ८ सय १७ मत ल्याईन् भने थापाले ३२ हजार ५० मत ल्याएका थिए ।

कमला रोका

पहिलो चरणमा निर्वाचन भएको रुकुम पूर्व क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी कमला रोकाले ६ हजार २८ मतको फराकिलो अन्तरमा कांग्रेस उम्मेदवारलाई पराजित गरिन् ।

रोकाले १० हजार ४ हजार ३४ मत ल्याईन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत पाए ।

पम्फा भुसाल

ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा पम्फा भुसाल आफ्ना प्रतिस्पर्धी भन्दा १ हजार ७ सय ७ मत बढी ल्याई विजयी भईन् ।

वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रकी नेता भुसालले २४ हजार ३७ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मदन अमात्यले २२ हजार ३ सय २९ मत ल्याएका थिए ।

प्रदेशमा विजयी महिलाहरू

कुमारी मोक्तान

प्रदेशसभा सदस्यमा मकवानपुर क्षेत्र नं १ को (क) बाट वाम गठबन्धनकी उम्मेदवार, माओवादी केन्द्रकी कुमारी मोक्तानले लोकतान्त्रिक गठबन्धनका यतिराज सापकोटा भन्दा १२ हजार ९ सय ९६ मत बढी ल्याई पराजित गरिन् । मोक्तानले २७ हजार १ सय ३२ मत ल्याइन् भने सापकोटाले १४ हजार १ सय ३६ मत ल्याएका थिए ।

बेची लुङगेली

सर्लाही क्षेत्र नम्बर १ (ख) बाट वाम गठबन्धनकी बेची लुङगेलीले नेपाली कांग्रेका शेष साह दुल्लाहलाई पराजित गरिन् । उनले ६ हजार १ सय ६६ मतअन्तरले दुल्लाहलाई पराजित गरेकी हुन् । लुङगेलीले १५ हजार ३ सय ६३ मत ल्याएकी छन् भने दुल्लाहले ९ हजार १ सय ९७ मत प्राप्त गरेका थिए ।

कला घले

उदयपुर क्षेत्र नं.२ (ख) प्रदेशसभामा वाम गठबन्धनका साझा उम्मेदवार कला घलेले निकटतम् प्रतिस्पर्धी कांग्रेसका रामकुमार खत्रीलाई पराजित गरिन् । उनी खत्री भन्दा ४ हजार ४ सय ८४ मत बढी ल्याई विजयी भइन् । घलेले १३ हजार ४ सय ५९ मत ल्याएर विजयी भएकी हुन् । खत्रीले ८ हजार ९ सय ७६ मत प्राप्त गरेका थिए ।

कृष्णा केसी (नमुना)

बाँके क्षेत्र नं १ प्रदेशसभा (क) बाट बाम गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी नेता कृष्णा केसी (नमुना)ले निकतम प्रतिद्वन्द्वी काँग्रेसका शरद चन्द्र बर्मालाई ३ हजार १ सय ९६ मत अन्तरले पछि पार्दै विजयी भइन् । केसीले १३ हजार ४ सय ३६ मत प्राप्त गरिन् भने काँग्रेसका बर्माले १० हजार २सय४० मत प्राप्त गरेका थिए ।

नरदेवी पुन

म्याग्दीको प्रदेशसभा ‘ख’ बाट वाम गठबन्धनकी उम्मेदवार नेकपा एमालेकी नरदेवी पुन मगरले २ हजार ८ सय ७८ मत बढी ल्याई आफ्ना निकटतम् प्रतिस्पर्धी कांग्रेसका अमलाल फगामीलाई पराजित गरिन् ।

मगरले १० हजार ८ सय ६८ मत ल्याईन् भने फगामीले ७ हजार ९ सय ९० मत ल्याएका थिए ।

देवकी मल्ल थापा

बझाङ प्रदेशसभा ‘ख’ बाट वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी देवकी मल्ल थापा २ हजार ५ सय १ मत अन्तरले विजयी भईन् । मल्लले १६ हजार ७ सय ४३ मत ल्याएकी छिन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत ल्याए ।

रमा आलेमगर

यस्तै काठमाडौं क्षेत्र नम्बर १० ‘ख’ बाट वाम गठबन्धनकी उम्मेदवार एमालेकी रमा आलेमगरले प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार धर्मनन्द्र श्रेष्ठलाई २ हजार ८ सय ३२ मत बढी ल्याएर पराजित गरिन् । रमाले ९ हजार ९ सय ३ मत ल्याएकी छिन् भने श्रेष्ठले ७ हजार १७ मत ल्याएका थिए ।

लालकुमारी पुन

ललितपुर क्षेत्र नं. १ को (क) को प्रदेशसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी लालकुमारी पुनले कांग्रेसका ऋषिराम घिमिरेलाई २ हजार ७ सय ३६ मत अन्तरले पराजित गरिन् ।

पुनले १२ हजार ८ सय ४१ मत ल्याएर विजयी भइन् भने घिमिरेले १० हजार १ सय ५ मत प्राप्त गरी पराजित भए ।

आशा कोइराला

तनहुँ क्षेत्र नं २ को ‘क’ बाट प्रदेशसभा सदस्यमा आशा कोइरालाले पाँच मतको अन्तरले कांग्रेसका उम्मेदवार प्रदिप पौडेललाई पराजित गरिन् ।

कोइरालाले १६ हजार ६ सय ४६ मत प्राप्त गरी विजयी भईन् भने पौडेलले १६ हजार ६ सय ४१ मत पाएका छन् ।

ज्वाला साह

यस्तै बारा क्षेत्र नम्बर ३ (क) बाट वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी ज्वाला साह प्रदेशसभा सदस्यमा कांग्रेसका रामनन्द परसाद यादवलाई पराजित गर्दै विजयी भईन् । उनले १ हजार ६२४ मत अन्तरले यादवलाई पराजित गरेकी हुन् ।

साह ११ हजार ७ सय ७१ मत प्राप्त गरिन् भने गरिन् भने यादवले १० हजार १ सय ४७ मत प्राप्त गरे ।

शारदा थापा

महोत्तरी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभामा वाम गठबन्धनकी उम्मेदवार नेकपा एमालेकी शारदा थापाले १ हजार २ सय ५१ मत बढी ल्याई नेपाली कांग्रेसका प्रल्हाद कुमार क्षेत्रीलाई पराजित गरिन् । उनले १० हजार २ सय ८२ मत पाएकी छन् भने क्षेत्रीले ९ हजार ३१ मत पाए ।

प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दलबाट ३६ महिलाले उम्मेदवारी दिएका थिए । जसमा प्रतिनिधि सभातर्फ १६ र प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट ३ महिलाले उम्मेदवारी दिएका थिए ।

प्रदेशसभातर्फ २० जना महिला मध्ये ६ महिलाले ठूला दलबाट उम्मेदवारी दिएका थिए ।

यस्तै दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशतर्फ २ सय ९ महिलाले उम्मेदवारी दिएका थिए ।

Source : mahilakhabar