मेयर र उपमेयरको रस्साकस्सीमा यस्तो हालत भयो रानीपोखरीको

१० पुष २०७४, सोमबार

ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणबारे काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयर नै आरोप प्रत्यारोपमा उत्रिएका छन् । मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागबाट स्वीकृत डिजाइनअनुसार नै रानीपोखरीको पुनःनिर्माण भइरहेको बताइरहँदा उपमेयर हरिप्रभा खड्गीले पुनर्निर्माण रोक्न आफूले कदम चाल्ने बताएकी छन् ।

मेयर शाक्यले रानीपोखरी पुनर्निर्माणमा अनावाश्यक विवाद झिकिएको जिकिर गर्दै सम्पदा नमासिने गरी काम भइरहेको दाबी गरे । ‘सम्पदा सबैको साझा सम्पत्ति हो त्यसैले अनावश्यक विवाद झिकेर पुनःनिर्माण समस्या नल्याउनुस्’, उनले भनेका छन्, ‘रानीपोखरी पुनःनिर्माणको आयोजना म निर्वाचित हुनुभन्दाअघिकै हो । सम्पदा नमासिने गरी छिटो काम सक्न निर्देशन दिइसकेको छु ।’

उता उपमेयर खड्गीले भने मेयरको भनाईसँग बाझिने गरी आफ्नो धारणा बाहिर ल्याएकी छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै खड्गीले रानीपोखरीको पुनर्निर्माण नै रोक्न पहल गर्ने बताइन् ।

‘रानीपोखरीको पुनःनिर्माण कार्यलाई रोक्ने कार्यमा सहयोग गर्छु’, उनले भनिन्, ‘विवादस्पद रुपमा सम्पदा मास्ने गरी भइरहेको यस्तो कामले सबैलाई चिन्तित बनाएको छ ।’

तर अर्कातिर मेयर शाक्यले भने पुरातत्व विभागकै स्वीकृतिमा निर्माण भइरहेको जिकिर गरे । ‘पुरातत्व विभाग, पुनःनिर्माण प्राधिकरण र महानगरको सहमतिमै राष्ट्रपतिज्यूले रानीपोखरी पुनःनिर्माणको शिलान्यास गर्नुभएको हो’, मेयर शाक्यले भनेका छन्, ‘यो योजना पहिलाकै भएकाले डिजाइन हो । सामान्य हेरफेर गरेर पहिलाकै स्वरुपमा पुनःनिर्माण गर्न निर्देशन दिएको छु ।’

शाक्यले रानीपोखरीमा वाटर फाउण्टेन राख्ने योजना पनि सुनाए । ‘यो पोखरीलाई रमणीय र सुन्दर पार्कका रुपमा संरक्षण र विकास गर्छौं’, शाक्यले भने, ‘सकेसम्म पोखरी बीचको बाटोलाई पनि वैकल्पिक बनाएर रानीपोखरीको क्षेत्रलाई रत्नपार्कसम्म जोड्ने योजना छ ।’

उनले रानीपोखरी पुनःनिर्माणका क्रममा कंक्रिट हालिएकोमा पुरातत्वविद्हरुले आपत्ति जनाएकोबारे भने, ‘रानीपोखरीलाई प्रताप मल्लले बनाएका हुन् भनेर त्यस्तै अवस्थामा छाड्ने होइन, सम्पदाको संरक्षण गर्दै समयसापेक्ष बनाउने हो ।’

त्यसैगरी सोमबारै भएको एक कार्यक्रमका वक्ताहरुले रानीपोखरीको पुनःनिर्माण पुरानै शैलीमा गर्नुपर्नेमा जोड दिएका छन् । त्यस अवसरमा रक्षामन्त्री भीमसेनदास प्रधानले मल्लकालीन इतिहाससंग जोडिएको रानीपोखरीजस्ता सम्पदालाई कसैले चाहेर पनि मास्न नसक्ने बताए ।

प्रधानले नेवार संस्कृति तथा मल्लकालीन सभ्यता बचाउन कंक्रिटबाट भइरहेको रानीपोखरीको पुनःनिर्माण तुरुन्त रोक्नुपर्नेमा जोड दिए । प्रतिनिधिसभा सदस्य गगन थापाले काठमाडौँको नेवारी सभ्यता र संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्ने बताए । ‘रानीपोखरी पुनःनिर्माणका क्रममा कंक्रिट हालिएकोप्रति पुरातत्वविद्हरूले आपत्ति जनाएका छन्’, उनले भने, ‘यसको पुनः निर्माण तत्काल रोक्नुपर्ने जरुरी छ ।’

विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पले रानीपोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरमा पूर्णरुपमा क्षति पुगेको थियो ।